होपुपो ब्र
दुमी भाषामा आफ्नो भाषालाई ‘होपुपो ब्र’ भनिन्छ। यो भाषा दुमी राईहरूले बोल्ने भएकाले ‘दुमी ब्र’ पनि भन्ने गरिन्छ। नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ जिल्लाको उत्तरी क्षेत्र रावा र ताप खोला आसपासका खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पा (खाजाबासमा) क्षेत्रहरूमा बसोबासरत दुमी राईले बोल्ने भाषा दुमी भाषा हो। दुमी भाषा पूर्वी नेपालको माझ किरात प्रदेशअन्तर्गत पहाडी भेगमा बोलिने भोट–बर्मेली भाषिक परिवारअन्तर्गत किराती राईभाषाहरू मध्येको एक हो। यो चीन–तिब्बती परिवारको भोट–बर्मेली शाखाको बोडिक उपशाखाभित्र पर्ने हिमाली समूहअन्तर्गत पूर्वी हिमाल वा किरात राई शाखाभित्र पर्छ। दुमी शब्दले साझा रूपमा जाति र भाषा दुवैलाई बुझाउँछ। भाषाशास्त्री तथा दुमी भाषाको समाज भाषावैज्ञानिक स्थलगत अध्ययन प्रतिवेदनअनुसार दुमी भाषा एक लोपोन्मुख भाषा हो।
खार्मी, जालपा, बाक्सिला र सप्तेश्वर क्षेत्रमा सीमित पुस्ता (वृद्धवृद्धा)मा मात्र दुमी भाषा बोल्ने गरेको पाइन्छ। माक्पा क्षेत्रका नोरुङ, लुम्दु–छुका, माक्पा, बेप्ला, इलीम, लेवालगायतका गाउँमा सबै पुस्ता अर्थात् वृद्धवृद्धा, युवा र बालबच्चा सबैले दुमी भाषा बोल्ने गरे पनि अझ सबै पुस्ताले दुमी भाषा बोल्ने गाउँ भने नोरुङ गाउँ बन्दै गएको देखिन्छ। यस क्षेत्रका नोरुङ, लुम्दु–छुका, माक्पा, बेप्ला, इलिम, लेवालगायतका गाउँमा बोलिने तथा प्रयोगमा रहेको दुमी भाषाको लवजमा पनि केही भिन्नता रहेको पाइन्छ।
दुमी राईहरूको बसोबास क्षेत्रभित्र पनि ठाउँअनुसार क्षेत्रीय विविधता रहेको पाइन्छ। हल्यान्ड नागरिक भाषाशास्त्री जर्ज भान्द्रिमका अनुसार दुमी भाषामा सप्तेश्वर, खरबारी, लाम्दिजा (बाक्सिला) र माक्पा गरी चार भाषिक समूह छन्। वेर्नर विन्टरले पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजन गर्न सकिने बताउनुभएको छ। तिनमा माक्पा क्षेत्र पश्चिमी र लाम्दिजा (बाक्सिला) पूर्वी क्षेत्रको भाषिक समूह पर्छन्। खरबारी क्षेत्रको भाषा पश्चिम अर्थात् माक्पा क्षेत्रसँग र हाचेका क्षेत्रको भाषा पूर्वी लाम्दिजा (बाक्सिला)को भाषिक विशेषतासँग नजिक छ।
विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा दुमी भाषा मातृभाषाका रूपमा बोल्नेहरुको जनसंख्या तीन हजार पाँच सय ६० पुरुष र चार हजार ७८ महिला गरी जम्मा सात हजार छ सय ३८ जना देखिन्छ। तथ्यांकअनुसार २० जिल्लामा दुमीहरूको बसोबास रहेको देखिन्छ। सबैभन्दा बढी दुमी भाषा बोल्ने वक्ताको संख्या खोटाङ जिल्लामा पाँच हजार एक सय ८९ जना र सबैभन्दा कम कैलाली, सिन्धुली र तेह्रथुम जिल्लामा एक÷एक जना रहेको देखिन्छ।
माक्पा क्षेत्रसँग तुलना गर्दा अन्य क्षेत्रको भाषिक अवस्था निक्कै दयनीय देखिन्छ। एकातिर जनसंख्या कम हुनुर अर्कातिर दुमी भाषा बोल्ने वक्ताको संख्या पनि कम हुँदै जाँदा यो भाषा लोपोन्मुख अवस्थामा पुगेको छ।दुमी भाषा कथ्य रूपमा प्रचलनमा रहे पनि लेख्य रूपमा भने भर्खर बामे सर्दै छ। दुमी भाषा लेखनमा एकरूपता ल्याउन केही मूल मान्यताहरू रहेका छन्।
केही शब्दार्थ
दख्ल÷डख्ल÷ढक्ल टाउको
दोः÷दोसोम केस
मीक्सी आँखा
मीक्सीसम आँखीभौं
मीख्लाजा कचेरा
तुब निधार
ङीचो कान
ताक्ची गिदी
तक्छु÷ताक्छी गर्धन
गन्दरी घाँटी
साको छाला
खुर हात
कम÷क्वाम मुख
लेम÷ल्याम जिब्रो
ङीलो दाँत
खीमु थुक
बखायोम÷बाखाम बंगारा
ही रगत
सङ्खुमा पसिना
मीखुमा आँसु
कम÷क्वाम्चोक्सी ओठ
दाली चिउँडो
नाम्फोक्सी गाला
सुरुरी÷सुरुसी÷हीरी नसा
सन्दी÷सीन्दी नङ
नु नाक
पम छाती
चुवा मुटु
लुमु कलेजो
चुक्सी मिर्गौला
सोमुरी÷सोक्सुम÷सम्सु फोक्सो
थेउ÷छदवा बोसो
पेल फियो
साखील ठूलो आन्द्रा
चीस्कील सानो आन्द्रा
छाम्री पाठेघर
इक्दम÷इक्दाम मलद्वार
च्यार्दम पिसाब द्वार
साफु÷साफुङ मूत्रथैली
ली पुरुष यौनांग
छम्सी औंला
बक्त काँध
मुपु पेट
कोकोलेम किलकिले
फःलु÷फत्लु÷फालु खुट्टा
तुम्छु घुँडा
कथ्याक्पा घुँडापछाडिको भाग
सोमु सास
पीखुमा पाद
च्यार्खुमा पिसाब
खील दिसा
होबो अजुली
दीन्दीरी पैतालो
नाखील सिँगान
कङ्क पाँसुला
कःफु÷ङाइ÷ङायु÷ङाली अनुहार
ङीचोखील कानेगुजी
रम शरीर
नम÷नाम घाम
सङ्गेर तारा
सःफु पात
लोल्मुतु÷माखाबु चन्द्रमा
हीः हावा
मीनु मान्छे
ब्र÷ब÷भ्र भाषा
कीम घर
कङ्कु÷काङ्कु पानी
चेन्कीम विद्यालय
साउलो जंगल
बी÷भी गाई
मेइसी भैंसी
पो सुँगुर
दाप्दउ÷दाप्दो गोरु
ख्लीबा÷ख्लीबु कुकुर
प्वाङ्मा÷ङेर्मो बिरालो
उस्पु मुसा
फु कुखुरा
सील्पु चरा
य गुँड
फाती अन्डा
बुप्लो चल्ला
मी आगो
रुम नुन
जा भात
क÷को तरकारी
बीमा बेसार
सुःरु चामल
जम÷झम धान
बोप्ससी मकै
लुजम÷लुजाम कोदो
दोचेर गँहु
याछाम उवा
ग्याक्सी भटमास
लुङ्खी÷लङ्खी घर तरुल
साउलो की वन तरुल
खोक्सी पिँडालु
साम्बाकी आलु
ल्यावक्सी÷ङ्यालक्सी केरा
पुमा फूल
पुखु माटो
लु ढुंगा
समाजशास्त्रमा स्नातकोत्तर लेखक दुमी संस्कार–संस्कृतिमा अनुसन्धानरत छन्।