मञ्जुल, मीटू र मौनता

मञ्जुल, मीटू र मौनता

राल्फाका मञ्जुल, रामेश–रायनका सहकर्मी मञ्जुल ! लाखौं साहित्यप्रेमी र न्यायप्रेमीका प्रिय मञ्जुल, यथार्थमा पत्नीपीडक रहेछन्। मञ्जुल पञ्चायती भूमिगत कालमा मेरा बुवा र ममीका कमरेड थिए। सानैदेखि मेरा लागि भने एक किंवदन्ती। उनको नाम लिनासाथ मेरो आँखामा हातमा गितार बोकेर पूर्वी नेपालका गाउँगाउँमा जनताका गीत गाउँदै हिँड्ने नायकको चित्र आउँछ। 

मञ्जुल पूर्व जीवनसाथी कुन्ता शर्मासँग कवितामार्फत नै जुहारी खेल्थे रे। तर, उनीहरूबीच यस्तो वैमनस्य किन थियो त ? ‘मेरो छोराका बाबुहरू’ शीर्षकमा वैशाख २१ गतेको ‘अन्नपूर्ण पोस्ट्’मा कुन्ता शर्माको आलेख(मेरो छोराका बाबुहरू !पढेर म स्तब्ध भएँ। 

मञ्जुलले जस्तै मेरा हजुरबुवा पनि तीन छोराहरू हजुरआमालाई जिम्मा लगाएर दोस्री पत्नीसँग भागेका थिए। हजुरबुवाको मञ्जुलको जस्तो कुनै सार्वजनिक छवि भने थिएन।  यता हजुरबुवाजस्तै पत्नी र छोराहरूलाई छोडेका मञ्जुलको सार्वजनिक जीवन जहिल्यै पनि उकालो लागेको लाग्यै छ।

बाफ रे बाफ सम्मान, प्रशंसा र पत्रिकाहरूमा उनको जयगान। केही वर्षअघि बेलायती नेपालीहरूको संगठन ‘भोजपुर प्रतिभा प्रतिष्ठान’ले मञ्जुललाई सम्मान गर्‍यो। संघ–सभा र साथी–भाइले अतिथि बनाएकै छन्। आफ्नै आत्मकथाको प्रकाशन। नेपाली साहित्यकारहरू र सिकारुहरूसँगको उठीबस। 

मलाई अचम्म लाग्छ, के मञ्जुलले कुन्ता र छोराहरूलाई एकतर्फी रूपमा दुःख दिएर छाडेको तथ्य उनका वामसाथीहरूलाई थाहा थिएन ? महिलामाथि दमन गर्दै हिँड्ने पुरुषलाई सार्वजनिक जीवनमा सामाजिक न्यायको पक्षमा अब्बल देखिने आँट केले दिन्छ ? साहित्यकार, खेलाडी वा राजनीतिज्ञको रूपमा ऊ किन सधैं सम्मानित रहिरहन्छ ? झट्ट हेर्दा मञ्जुल र कुन्ताको कहानी व्यक्तिगत लाग्न सक्छ। तर, यो हाम्रो सामाजिक र राजनीतिक यथार्थ हो।

सिर्जना र सर्जक

कला र कलाकारको व्यक्तित्वलाई सँगै राखेर हेर्न हुन्छ कि हुँदैन ? हामीले मञ्जुल र मञ्जुलजस्ता सर्जकले लेखेका सिर्जना पढ्ने कि नपढ्ने ? ढोंगी कलाकारको कलालाई कलाकै रूपमा हेर्ने कि उसको आत्म–विस्तारका रूपमा हेर्ने ? 

बीसौं शताब्दीको पूर्वाद्र्धमा पश्चिमेली साहित्यको ‘नयाँ आलोचना’ अभियानले कलाकार र कलालाई छुट्याउन चाह्यो। ‘नयाँ आलोचक’हरूको तर्क थियो— कलाकारको सिर्जनामा उसको व्यक्तित्वको छाया पर्नुहुँदैन। र, पाठकले उसका सिर्जनालाई कलाकै गुण–दोषका आधारमा ग्रहण गर्नुपर्छ। संरचनावादी रोलाँ बार्थले त ‘सर्जक मृत छ’ भनेर सिर्जनाको अस्तित्व सर्जकबाट स्वतन्त्र हुन्छ भन्दै झन्डै ‘नयाँ आलोचक’हरूलाई नै सहयोग पुर्‍याउने तर्क राखे। तर अहिले ‘नयाँ ऐतिहासिकतावाद’बाट प्रशिक्षित समालोचकहरू कलालाई इतिहास, सन्दर्भ र सर्जकबाट छुटाएर हेर्न मिल्दैन भन्ने निष्कर्षमा पुगेका छन्। उनीहरूमध्ये केही उत्पीडक सर्जकको सिर्जनालाई बहिष्कार गर्नुपर्ने तर्क राख्छन् भने केही सर्जक उत्पीडक हो भन्ने चेतनाका साथ उसको सिर्जना उपभोग गर्नुपर्ने तर्क राख्छन्। 

मलाई पनि कला र कलाकारलाई छुट्याएर हेर्न मिल्छजस्तो लाग्दैन। भलै कुनै अमूक सर्जक, एक पाठकले चाहेजस्तै नैतिकताको घेराबन्दीमा निरपेक्ष रूपमा बाँधिनैपर्छ भनेर आशा गर्न मिल्दैन। तर, त्यस सर्जकले कसैको जीवन नै बर्बाद नगरोस् भन्नेसम्मको न्यूनतम मानवीय मापदण्डको आशा त सर्जकबाट गर्नैपर्ने हुन्छ। यस्तो न्यूनतम मापदण्ड पनि पूरा गर्न नसक्ने सर्जक, त्यसमाथि पनि वामपन्थी सर्जकका कुकृत्यलाई वैधता दिने उसका सिर्जनाहरूको उत्सव मनाउन जरुरी छैन। पूर्वपत्नीलाई हुनसम्म दुःख दिएर पनि, मञ्जुलको सार्वजनिक जीवन धानेको उनका सिर्जनाहरू नै हुन् भने, त्यस्ता सिर्जनाहरू पढ्नैपर्ने आवश्यकता छैन। तर पढ्नैपरे पनि उनको जीवनको ‘कालो’ पाटोलाई मनको एउटा कुनामा राखेर उनी र उनका कृतिलाई समग्रतामा पढ्न सकिन्छ। 
 

पीडकको देवत्वकरण 
 सन् १९८८ मा महिलावादी लेखक पेगी म्याकिन्टोसले ‘मेल प्रिभिलेज’ वा पुरुषले पुरुष भएकै आधारमा पाउने सुविधाबारे यस्तो लेखिन्, ‘पुरुषहरू महिलामाथि भेदभाव छ भन्नेसम्म त स्वीकार गर्न सक्छन् तर आफू पुरुष भएकै कारणले थुप्रै सुविधा उपभोग गर्छौं भन्ने तथ्यचाहिँ सरासर अस्वीकार गर्छन्।’ त्यसो भए, हिन्दू समाजमा मेल प्रिभिलेजको जड खोज्दै जाँदा कता पुगिएला ? सबभन्दा बढी पुरुषत्वको सुविधा त कृष्णका कथाहरूमा देख्न सकिन्छ। उनले नुहाउन गएका गोपिनीहरूका कपडा लुकाए (त्यसपछि पक्कै पनि गोपिनीका नांगा शरीर हेरे होलान्), महिलाहरूका दहीका ठेकी फुटाए र उनको रुक्मिणीसँग बिहा भए पनि राधासँगको सम्बन्धको महिमागान भइराख्यो।

महिलालाई यति दुःख दिँदा पनि उनलाई पण्डितहरूले, जो आफैं पुरुष थिए, महान् बनाइदिए। उनले गरेका सम्पूर्ण कर्महरू भगवान्को ‘लीला’ ठहर्‍याइए। उनको प्रतापको आधार बने— विभिन्न राक्षसलाई मार्ने र महाभारतको युद्धमा कौरवहरूलाई हराउने भूमिका। एकाध ठाउँमा उनलाई महिलाको मसिहाका रूपमा पनि प्रस्तुत गरियो, जस्तो द्रौपदीलाई चीरहरणबाट बचाउँदा। तर उनका पुराना महिलाविरोधी कर्महरू सबै सामान्य बदमासीका रूपमा  चित्रित गरियो। 

तर कुनै महिलाले पुरुषप्रति प्रेम वा आशक्ति प्रदर्शन गरिन् भने ती महिलाले ठूलै सजाय पाउन सक्छिन्। शूर्पणखाले राम र लक्ष्मणप्रति आफ्नो प्रेम वा आकर्षण प्रदर्शित गरिन्। कथाकारले उनले पछि सीतालाई आक्रमण गरेको पनि लेखिदिए। तर अन्तिममा शूर्पणखाको नाक लक्ष्मणले काटिदिए। पुरुषप्रति आकर्षित भएर सुरु भएको शूर्पणखाको कथा आफ्नो नाक काटिएर समाप्त भयो। स्मरण रहोस्, हिन्दू समाजमा नाक काटिनुको विम्बले इज्जत गएको बुझिन्छ।

मञ्जुल हाम्रा समाजका कृष्ण हुन्। उनले जति कुन्ता र तीन भाइ छोरालाई दुःख दिए पनि, ती सब उनका लीला मात्र थिए। खासमा उनको पुरुषार्थ त उनका क्रान्तिकारी, प्रेमिल र कोमल कविताहरूमा छ। कुनै समयमा उनले केही गल्ती गरे होलान्, जे भयो सो भयो। कसैले उनलाई अहिले प्रश्न गर्‍यो भने त्यो गलत हुनेछ। कुन्ता शर्माले तीसौं वर्षअगाडिका कुरा छरपस्ट पार्नु उनकै गल्ती हो। आमा भएपछि आफ्ना छोराहरूको पालनपोषण गर्नुपर्दैन त ? कुनचाहिंँ ठूलो काम गरिन् उनले ? यता मञ्जुल— उनी त महान्, क्रान्तिकारी र विचरा, सबै एकैचोटि हुन्। ठ्याक्कै यही विचार हो मेल प्रिभिलेज वा पुरुषत्वको सुविधा, जसलाई मञ्जुलले मजाले प्रयोग गरे र समाज पनि उनको वाहवाही गरेर कहिल्यै थाकेन। 
 

पीडकसँग व्यवहार 

त्यसो भए यस्ता कृष्णहरूसँग समाजले कस्तो व्यवहार गर्नुपर्छ त ? यहाँ दुई उदाहरण लिऊँ— केभिन स्पेसी कुनै बेला हलिउडमा हालका नायकहरूमध्ये अब्बल दर्जामा आउँथे। पछिल्लो क्रममा नेटफ्लिक्सले प्रसारण गर्ने ‘हाउस अफ कार्ड्स’मार्फत नाम र दाम कमाउँदै थिए। तर उनले सन् ८० को दशकमा एक बालकमाथि यौनशोषण गरेको तथ्य बाहिर आएपछि उनी ‘हाउस अफ कार्ड्स’बाट नै बाहिरिन पुगे। अर्को उदाहरण— हलिउडमै पनि रोमन पोलान्सकी जस्ता पात्र छन् जसलाई यौन दुराचारको आरोप मात्र लागेको होइन, उनी त कानुनी रूपमै एक बालिकाको बलात्कारी साबित भइसकेका छन्। तर पोलान्सकीले अमेरिकी कानुनबाट भागेर निर्बाध चलचित्र बनाउँदै छन्। त्यसो भए हाम्रो समाजका पीडक सर्जकहरूलाई पाठकले र सिंगो समाजले केभिन स्पेसीलाई जस्तो सजाय र बहिष्कार गर्ने हो कि रोमन पोलान्स्कीलाई जस्तो उन्मुक्ति र इज्जत दिने ? 

‘मीटू’ अभियानले नेपाल टेकेपछि सार्वजनिक छवि भएका पुरुषहरूमाथि प्रमाण र साक्षीसहित गम्भीर प्रकृतिको आरोप लाग्यो तर आरोपीहरूबाट समाज र राज्यले खासै जवाफ मागेको देखिँदैन। केही समयदेखि ‘द काठमान्डु पोस्ट’मा ‘मीटू’सम्बन्धी कलम चलाएकी भृकुटी राईले वैशाख २८ मा सोही पत्रिकामा अहिलेसम्म ‘मीटू’ अभियानबाट आरोपितहरू प्रायः कुनै जवाफदेहिताबेगर सार्वजनिक जीवनमै बसेको लेख्छिन्। धेरै प्रकरणमा जिम्मेवार निकायले खोजतलास गर्नुपर्ने आवश्यकता पनि देखेको छैन।

खोजतलास गरिहाले पनि प्रशस्त साक्षी हुँदासमेत ललितपुर माध्यमिक विद्यालयका छात्रा–पीडक शिक्षकले उन्मुक्ति पाए। त्यति हुँदाहुँदै पनि नाट्य क्षेत्रमा भने ‘मीटू’बाट उदांगिएका पात्रहरूलाई या सम्बन्धित संस्थाहरूले कारबाही गरेको कुरा बाहिर आएको छ, या त ती पात्रले महिलाहरूसँग माफी मागेका छन्। ‘मीटू’ ले आजका महिलामाथि हुने दुव्र्यवहार बाहिर ल्याइदिएको छ। कुन्ताको ‘मीटू’ त तीन–चार दशकदेखि 

साहित्य र वामपन्थी जगत्मा सल्बलाइराखेको थियो। तर सार्वजनिक जीवनमा त जस्तोसुकै ‘मीटू’ बाहिर आए पनि, कृष्ण भट्टचन र मञ्जुलहरूकै बोलवाला हुने रहेछ। २०४० र २०७६ मा कुनै तात्िवक भिन्नता आएको रहेनछ। पुरुषले नेतृत्व गरेका संघ–संगठनले ‘मीटू’लाई त्यति वास्ता नगर्ने आफ्नै कारण होलान्। 

महान् मदन भण्डारी, धेरैका लागि नेपालमा माक्र्सपछिका अर्का माक्र्स, भूमिगत कालमै शक्तिशाली कम्युनिस्ट पार्टीका महासचिवले पनि आखिर मञ्जुलकै पक्ष लिएका रहेछन्। तर महिलावादी राजनीतिक संगठनहरू, विशेषगरी सत्ताधारी महिलावादी संगठनहरू पनि निर्मला पन्त र काभ्रेमा लक्ष्मी परियारको हत्या हुँदा खासै विरोध अभियानमा सरिक भएनन्। धेरैपछि अरूले लतारेर आन्दोलनमा लागे भने छुट्टै कुरा तर आफ्नै पहलमा भने पक्कै अगाडि बढेनन्। 

सयौं–हजारौं वर्षदेखि विद्वान् पुरुषहरूको दोषलाई बेवास्ता गरेर विद्वत्ताको मात्र महिमामण्डन गर्ने समाज अहिले नै परिवर्तन भइहाल्ने आशा गर्नु पनि निरर्थक हो। तर कमसेकम, अनेकन् धमिला इतिहासका बीच विद्वता र प्रतिष्ठाको पुरुषवादी सिंहासनमा विराजमान मञ्जुलहरूको महिमागान गर्ने समाजलाई प्रश्न छ— तपाईंहरूले मञ्जुलहरूलाई हिरो बनाइराख्ने उद्देश्य के हो ? उनको पहिलेका गल्तीलाई कसरी हेर्नुहुन्छ ? मञ्जुल आफैं सार्वजनिक व्यक्तित्व भएकाले, उनले यस सम्बन्धमा सार्वजनिक रूपमा माफी माग्लान् त ? 
 @Shreya_Paudel साहित्य र राजनीतिमा कलम चलाउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.