कोरियाका बालकक्षा
बाला थुलुङ : भाइबहिनीहरू, तिमीहरू वैशाखको पहिलो सातामै नयाँ कक्षामा भर्ना भयौ, होइन त ? अँ, कोरियामा भने अंग्रेजी महिनाको मार्चबाट नयाँ कक्षा (सेसन) सुरु हुन्छ। नेपाल र कोरियाको शिक्षा प्रणालीमा केही भिन्नता छ। म आज तिमीहरूलाई कोरियाको शिक्षा पद्धतिको बारेमा थोरै जानकारी दिन्छु है।
सर्वप्रथम त कोरियामा भर्खर जन्मिएको बच्चाको उमेर एक वर्षको ठानिन्छ। जस्तो कि ३० डिसेम्बर २०१८ मा जन्मेको बच्चा १ जनवरी, २०१९ मा दुई वर्षको हुन्छ। ६ वर्षभित्र नजिकै वा आफूले रोजेको प्ले ग्रुप (अरिनिचिब) मा बच्चालाई पढ्न पठाइन्छ।
तालिम प्राप्त शिक्षिकाहरूले बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म आधारभूत सिकाइका कक्षा सञ्चालन गर्छन्। त्यो समयभन्दा अघि वा पछि पनि कामदार आमाबाबुको अवस्थाअनुसार हेरचाह गरेर पढाइन्छ। बालबालिकालाई विभिन्न खेल खेलाएर भुलाइन्छ। खासमा प्राथमिक तहको कक्षा ९ बजे सुरु भएर प्रायः २ बजे सकिन्छ।
विद्यालयको औपचारिक शिक्षा सुरु हुनुअघि दुई वर्ष किन्डरगार्डेन (युछिबन) मा पढाइन्छ। किन्डर गार्डेन पढ्ने उमेर ६/७ वर्षको हो। यहाँ पनि खेलकै माध्यमबाट अध्ययन गराइन्छ। यो बेलासम्म प्रायः बालबालिकाले अक्षर चिन्नुका साथै पढ्न लेख्न जानिसकेका हुन्छन्।
जब कोरियन बालबालिकाहरू नयाँ साल लागेसँगै सात वर्ष (कोरियन उमेर आठ वर्ष) मा प्रवेश गर्छन्, बल्ल उनीहरू नजिकैको प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना हुन्छन्। प्राथमिक तह ६ वर्षको हुन्छ।
नेपालमा अभिभावकले गाउँघरका स्कुल छाडेर सहरबजारमा आफ्ना छोराछोरीलाई आफ्नो रोजाइको स्कुलमा पढ्न पठाउँछन्। नेपालमा धनीमानीहरूले आफ्ना छोराछोरीलाई महँगो विद्यालयमा पढाउँछन् तर कोरियामा भने त्यस्तो हुन्न। आफ्नो पायक पर्ने नजिकको विद्यालयमा आफ्ना बच्चालाई पठाउनुपर्छ। विद्यालय भर्ना हुनुअगावै आफ्नो क्षेत्रमा रहेको सरकारी कार्यालयबाट कुन विद्यालयमा पठाउने, कुन दिन भर्ना गर्ने भनेर चिठी आउँछ। त्यहीअनुसार आफ्नो बच्चालाई लिएर अभिभावक तोकिएको समयमा विद्यालय पुगिसक्नु पर्छ।
कोरियामा एकै सालभित्र जन्मेकाहरू मात्र साथी हुन्छन् र उनीहरू एउटै कक्षामा पढ्छन्।
कोरियाको शिक्षा प्रणालीले प्राथमिक शिक्षा ६ वर्ष, माध्यमिक शिक्षा तीन वर्ष तथा उच्च माध्यमिक शिक्षा तीन वर्ष गरी १२ वर्षसम्मको विद्यालयस्तरको शिक्षा तोकिएको छ। प्राथमिक तह र माध्यामिक तह गरी नौ वर्षको शिक्षा अनिवार्य शिक्षा हो। र, यो निःशुल्क हुन्छ। अभिभावकले आफ्ना बच्चाहरूलाई अनिवार्य रूपमा विद्यालय पठाउनुपर्छ। छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकले जरिबाना तिर्नुपर्छ।
थप तीन वर्षको उच्च माध्यमिक तहको शिक्षा अनिवार्य नभए पनि अनिवार्य जस्तै छ, जहाँ विद्यार्थीले आफ्नो रुचिअनुसारका विषयहरू पढ्छन्। यही आधारमा भविष्यमा के बन्ने भनेर उनीहरूले तय गर्छन्।
कोरियामा एक वर्षलाई दुई सेमेस्टरमा विभाजित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिन्छ। प्रथम सेमेस्टर मार्चमा सुरु हुन्छ भने दोस्रो सेमेस्टर अगस्टको अन्तिम वा सेप्टेम्बरको सुरुमा सुरु हुन्छ। लगभग एक महिना जति गर्मी र जाडो बिदा हुन्छ। प्राथमिक र माध्यमिक विद्यालयको शैक्षिक प्रणालीमा पाठ्यपुस्तक क्रियाकलाप र अन्य क्रियाकलापअन्तर्गत सिर्जनात्मक कक्षा पढाइ हुन्छ।
प्राथमिक शिक्षाले सही चरित्र विकास, जीवनका आधारभूत बानी तथा सिकाइमा जोड दिन्छ। दैनिक जीवनका लागि आवश्यक आधारभूत क्षमताहरूमा पनि जोड दिइने हरेक कक्षा ४० मिनेटको हुन्छ। पहिलो र दोस्रो कक्षाका विद्यार्थीले कोरियन, गणित, सही ढंगले जीवन यापन गर्ने सीप, जीवनका लागि आवश्यक पर्ने विवेक आदि बारेमा सिक्छन्।
तेस्रोदेखि छैटौं कक्षाका विद्यार्थीले कोरियन, सामाजिक शिक्षा र नैतिक शिक्षा, गणित, विज्ञान र गृहविज्ञान, शारीरिक शिक्षा, संगीत र कला, अंग्रेजी, आदि सिक्छन्। कोरियाका विद्यार्थीलाई तिमी कति वर्षको भयौं ? भनेर उमेर सोधियो भने उसले जवाफमा भन्छ, ‘म यति कक्षाको विद्यार्थी हुँ।’ यसरी कक्षाको आधारमा उसको उमेर थाहा हुन्छ। किनकि कोरियामा एकै सालभित्र जन्मेकाहरू मात्र साथी हुन्छन् र उनीहरू एउटै कक्षामा पढ्छन्। आफूभन्दा एक वर्ष जेठोलाई दाइ दिदी, कान्छोलाई वा भाइबहिनी भनेरै सम्बोधन गर्नुपर्छ।
कोरियन विद्यार्थीको जाँच लिइए पनि विद्यालयस्तरको कक्षामा भने फेल गरिँदैन। तर उनीहरूको पढाइको ग्रेड हेरेर उच्च माध्यमिक तहमा त्यहीअनुसारको विषय र विद्यालयमा पढ्न पढाइन्छ। कोरियामा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि बढी बाहिर फिल्डमा लगेर प्रयोगात्मक शिक्षा दिइन्छ। त्यसैले कोरियन विद्यार्थीले किताबी ज्ञानसँगै बाहिरी ज्ञान पनि हासिल गर्दै जान्छन्।
कोरियामा निःशुल्क शिक्षासहित निःशुल्क खानाको व्यवस्थासमेत विद्यालयभित्र हुन्छ। विद्यालयको पढाइ सकिएपछिको समयमा विद्यार्थी विद्यालयभित्रै कम शुल्कमा सञ्चालित ट्युसनका क्लास वा बाहिर खोलिएका गणित, अंग्रेजी वा अन्य भाषासहितका खेल तथा आफूले सिक्न चाहेको क्लासहरू लिन सक्छन्।
कोरियाको विद्यालयमा निःशुल्क शिक्षा प्रणाली लागू भए पनि बाहिर खोलिएका इन्स्टिच्युटमा महँगो शुल्क तिरेर ट्युसन पढाउने एउटा नराम्रो प्रवृत्ति छ।