कैंची, डन्डी र गद्दी
दुई वर्षअघि ऊ हराई। गर्मी लाग्नेबित्तिकै सहरमा जब उसका दौंतरी देखा पर्थे, उनीहरूसँग प्रतिस्पर्धा गराउन म पनि उसलाई निकाल्थेँ। पुछपाछ गरेर टल्काएपछि मलाई ऊ मुस्कुराएझैं लाग्थ्यो। घुमेको ह्यान्डिल समाएर डोर्याउँदा ऊ मलाई सजिलो लाग्थी। साइकल लेनमा बेतोडले दौडाए पनि, भीडभाडमा बिस्तारै चलाए पनि उसको ताजापनमा कुनै कमी आएको थिएन। केही वर्ष अझै उसले साथ दिनेमा म ढुक्क थिएँ। तर लामो साथ नदिई ऊ एकाएक हराई।
ऊ आफैं त किन हराउँथी र ? सायद उसको सौन्दर्यमा वशीभूत भएको कुनै साइकलप्रेमीबाट ऊ चोरिई। युरोपका मेट्रोपोलिटन सहरहरूमा साइकल चोरी हुनु हिजोआज सामान्य घटना बन्दै गएको छ। त्यसयता पनि साइकल चलाउने रहर यथावत् नै छ। विभिन्न कम्पनीले उपलब्ध गराउने साइकल रेन्टको सुविधाका कारण यो झन् सहज हुन गएको छ।
स्मार्टफोनमा साइकल रेन्टको एप डाउनलोड गरेको छ भने सहरका जुनसुकै गल्लीमा पनि भाडामा साइकल लिएर चलाउन पाइन्छ। न्यून शुल्कमा मन लागेको ठाउँसम्म साइकल लिएर जान पाइने र जरुरी नपर्दा त्यसलाई त्यही ठाउँमा छाडिदिन मिल्ने भएकाले साइकल किन्नुभन्दा भाडामा लिएर चलाउनेको संख्या यता बढ्दो छ।
गर्मी लाग्नेबित्तिकै साइकल चढ्न थालेपछि म दंगदास हुन्छु। साइकलप्रेमीको भीडमा आफूलाई पनि मिसाउँछु। युरोपका सहरहरूमा तीव्र रूपमा साइकलप्रेमीहरू बढिरहेका छन्। आमस्टड्र्याम, बर्लिन, ह्याम्बर्ग, पेरिस, कोपेनहेगेन, भियना, म्युनस्टर, आन्तेर्पजस्ता सहर साइकल यात्रुका लागि विश्वविख्यात छन्।
इन्स्टिच्युट अफ ट्रान्सपोर्टेसन एन्ड डेभलेपमेन्ट पोलिसी (आईटीडीपी)ले केहीअघि साइकलसम्बन्धी एक अध्ययन गरेको थियो। अध्ययनअनुसार मानिसले गर्ने ३५ प्रतिशत यात्रा पाँच किलोमिटरभन्दा कम हुने गर्छ। अझ ५० प्रतिशत यात्रा १० किलोमिटरसम्म मात्र हुने गर्छ। यसरी हेर्दा मानिसले गर्ने ८५ प्रतिशत यात्राका लागि साइकल नै बढी उपयुक्त हुन्छ। युरोपमा ६ महिनाभन्दा बढी समय ठन्डी हुने गर्छ। जाडो सकिनासाथ सडकमा साइकल देखिन थाल्नु र हरेक ठाउँमा साइकल लेन बनाइनुले पनि यो अध्ययनको कति गहिरो प्रभाव युरोपेलीमा पर्न थालेको छ, अनुमान गर्न सकिन्छ।
हुन पनि युरोपेली नगरीहरूमा साइकल यात्रुको मानमनितो नै फरक छ। वातावरणमैत्री, स्वास्थ्यका लागि लाभदायक र उन्मुक्त भएर हिँड्न सकिने साइकलका अगाडि प्रदूषण बढाउने नयाँ मोडल र मूल्यका सवारीसाधन पनि फिक्का हुने गरेका छन्। सायद यही कारण हो, प्रत्येक सहरमा साइकलयात्रीका लागि नगरपालिकाले सडक किनारमा विशेष ट्र्याक निर्माण गरिदिएको हुन्छ। कतिपय साइकल लेनहरू त गाडी कुद्ने सडकभन्दा पनि आकर्षक लाग्छन्। साइकलको आकर्षण बढाउन सहरमा भाडामा साइकल दिने कम्पनीहरूले नयाँनयाँ सुविधा दिन थालेका छन्। दुर्गम ठाउँसम्म पनि भाडामा साइकल लिएर जान पाइने भएपछि युरोप हिजोआज साइकलको सहरजस्तै लाग्न थालेको छ।
केही वर्षअघि एक पत्रकार मित्रले मलाई सोधेका थिए, ‘जीवनमा सबैभन्दा खुसी भएको क्षण कुन थियो ?’ मैले एक क्षण पनि नसोची उनलाई जवाफ दिएको थिएँ, पहिलो पल्ट बाले मेरा लागि साइकल किनिदिएको क्षण। जिन्दगीमा सम्झनलायक अरू पनि कैयौं
सुखद घटना छन् तर साइकल पाउँदाको त्यो दिन मेरा लागि सर्वाधिक खुसीको दिन हो।’ मेरो साइकलप्रेमसँग जर्मन बसाइ यति नजिकिएर आउँछ भन्ने मैले सोचेकै रहेनछु। आज, जब युरोपका सुविधासम्पन्न सडक लेनमा घुमिरहेका सयौं साइकलप्रेमीलाई आँखा घुमाएर हेर्छु, मलाई चितवनमा साइकल चलाउँदाका ती दिनहरूको झल्झली सम्झना आइरहन्छ।
कुनै बेला चितवनलाई साइकलको राजधानी भन्ने गरिन्थ्यो। अहिले पनि साइकल नहुने घर चितवनमा विरलै होलान्। समूहसमूहमा महिला, पुरुष, युवक–युवती सडक ढाकेर साइकल चढेको दृश्य नेपालका अरू स्थानमा कमै देखिन्थ्यो। छोरीलाई छोराझैं समान अधिकार दिनुपर्छ भन्ने मामिलामा अनुदार रहने नेपाली समाज साइकल चलाउन दिने मामिलामा भने चितवनमा उदार देखिन्थ्यो। केटीहरूसमेत उसैगरी साइकल चलाउन सक्थे। अझ कतिसम्म भन्ने चलन थियो भने साइकल चलाउन नजान्ने छोरीहरूले चितवनमा घरबार गरेर खान सक्दैनन्।
संयोगले मेरो जन्म त्यही जिल्लामा भयो। तर साइकलको राजधानी हुँदै गर्दा मेरा लागि भने साइकल सिक्न र किन्नुपर्दाको सकस आज पनि स्मरणमा आइरहन्छ।
हरेक ग्रामीण बालकका रहरझैं मेरा रहरहरूले पखेँटा फिँजाउँदै गर्दा मलाई याद आइहाल्ने चिज हो, साइकल। सम्झन्छु, मैले साइकलका लागि जति रहर गरेँ, सायदै अरू कुरामा गरेँ हुँला। घरगाउँमा म इमानदार र आज्ञाकारी बालकका रूपमा परिचित थिएँ तर साइकलको मामलामा मैले धेरैपटक मेरो इमानदारीलाई तिलाञ्जलि दिएको छु। मैले धेरै कुरामा धैर्य साँधेको छु तर साइकलका मामिलामा मैले जति धैर्य सायदै कसैले
गुमाएको होला।
बालाई भेट्न केही आफन्त, गाउँलेहरू साइकल चढेर हाम्रो घर आउँथे। त्यसरी आउनेहरू बासँग गफमा रत्तिइरहेको बेला आँगनमा ठड्याइएको साइकल लुकीछिपी गर्दै मैले साइकल चलाउन सिकेँ। अहिले ती दिन सम्झँदा पनि निकै रमाइलो लाग्छ। साइकल चलाउन सिकेपछि कैयौं रातसम्म मैले साइकलबाट लगातार लडेको सपना देख्थेँ।
साइकलकै कारण झन्डै मेरो ज्यान गएन। साइकल सिक्ने क्रममा एकपटक पुलबाट खसेर म बेहोस अवस्थामा पुगेको थिएँ। हाम्रो घरअगाडिको खोल्सामा एउटा काठे पुल थियो। साइकल सिक्ने क्रममा पुलमा चिप्लिएर साइकलसँगै तल म बजारिन पुगेछु। खोल्सामा रहेको मुढामा टाउको ठोक्किएर तीन चार घण्टा म बेहोस भएको थिएँ रे। धन्न मैले साइकल लिएर हिँडेको आमाले देख्नुभएको रहेछ। निकै बेर हराएपछि आमा मलाई खोज्दै आउँदा म खोल्सामा बेहोस भएर लडेको देख्नुभएछ।
बेहोस अवस्थामै घरमा ल्याउँदा गाउँमा मानिस जम्मा भएर मलाई होसमा ल्याउन गरेका प्रयासका विषयमा आमा अहिले पनि कुरा गरिरहनुहुन्छ। यो घटनापछि निकै दिनसम्म मैले साइकल लिएर हिँड्दा आमा चिन्तित देखिनुहुन्थ्यो। साइकल चलाउन छाडी दे बाबु भनेर सम्झाउन निकै प्रयास पनि गर्नुभयो। बुवालाई भेट्न आउनेलाई साइकलमा चाबी लगाएर राख्न निर्देशन दिनुहुन्थ्यो।
त्यो समय अहिलेझैं सबै उमेरका मानिसले चलाउने साइकल गाउँमा हुँदैनथे। पाको उमेरका मानिसले चलाउने साइकल अग्लो हुने भएकाले १०–१२ वर्षका बालकहरूले सिटसम्म पुगेर त्यसलाई चलाउन सक्दैनथे। भारतमा उत्पादन हुने ‘एटलस’ र ‘एभन’ त्यति बेलाका प्रचलित साइकल ब्रान्ड थिए। चिनियाँ ब्रान्ड ‘फिनिक्स’लाई निकै उपल्लो दर्जाको साइकल मानिन्थ्यो। हामी किशोरहरूले पुराना भइसकेका साइकल छुन पाउँथ्यौं।
साइकल तीन चरणमा सिकिन्थ्यो। पहिलो चरणमा कैंची, दोस्रो चरणमा डन्डी र तेस्रो चरणमा मात्रै सिटमाथि अर्थात् गद्दीमा बसेर चलाउने। त्रिकोणात्मक ह्यान्डलमुनि खुट्टा घुसारेर पैडल चलाउने तरिकालाई कैंची भनिन्थ्यो। साइकल कैंचीबाट चलाउने सायद हाम्रो पुस्ता नै अन्तिम होला।
उमेर समूहअनुसार अहिले साइकल उपलब्ध हुने भएकाले तीन चार वर्षदेखि नै बालबालिकाले साइकल सिक्ने गर्छन्। तर त्यो बेला साना आकारका साइकल पनि हुन्छन् भन्ने कल्पनासमेत हामी गर्न सक्दैनथ्यौं। साइकल भन्नु नै ठूला मानिसले चलाउने साधन हो भन्ने मान्यता थियो। साइकल चलाउन सक्नु उमेर बढेको संकेत पनि मानिन्थ्यो। साइकल चढेको युवाले कुनै युवतीलाई जिस्क्याउनुपरे वा संकेत दिनुपरे साइकलको घण्टी बजाउने चलन थियो।
गाउँमा ब्याट्री अथवा डायनामोयुक्त साइकल चढ्नु सानको विषय हुन्थ्यो। टर्चजस्तै बल्ने भएकाले यो साइकल रातको समयमा पनि चलाउन सकिन्थ्यो। पूरै गाविसभरिमा रुदल मास्टरको एकमात्र डायनामोवाला साइकल थियो। डायनामो अन गरेर बाटो झिलिमिली पार्दै राति उनले साइकल चलाएर हिँड्दा गाउँलेहरू चकित हुन्थे।
साइकलका यस्तै चरित्रहरूका बीचमा मैले लुकिछिपी साइकल चलाउन सिकेँ। जब साइकल चलाउने आत्मविश्वास बढ्यो, चाबी नलगाएको साइकल देख्नासाथ म त्यसलाई कुदाइहाल्थेँ। साइकल धनीले चाबी लगाएको छ भने घण्टी बजाएर त्यसको तिर्सना मेट्थेँ। कतिपटक बुवालाई एकैछिनका लागि भेट्न आएको मानिसको साइकल लिएर लामो समय बेपत्ता भएपछि पाइने खप्कीका कथा पनि कम रोचक छैनन्। सायद मैले साइकलका विषयमा जति खप्की खाएँ, त्यति अरू विषयमा खाइनँ।
बिहार, मोतिहारीका एक जना मानिस हाम्रो गाउँतिर व्यापार गर्न गाउँथे। उनको साइकलमा केटाकेटीदेखि बूढाबूढीलाई चाहिने चुरोट, सुर्ती, मिठाई जस्ता अनेक सामान हुन्थे। हाम्रा बासँग उनको खुबै राम्रो मिल्ती थियो। सामान लिएर गाउँ पस्नुअघि उनी एक क्षण बासँग कुरा गरिहाल्थे। ठीक यही बेला म भने उनको साइकल अलि परसम्म भए पनि कुदाउन भ्याउँथेँ। गाउँभरि सामान बेचेर फर्कंदा हलुको भएको साइकलमा मेरो अझै बढी अधिकार जम्थ्यो।
अझ जाडो महिनामा साँझबिहान हाम्रो घरअघि घुर ताप्न उनी अडिएपछि म बुझ्थेँ, यो बसाइ केही लामो हुनेवाला छ। यस्तो बेलामा म साइकललाई निकै परसम्म पुर्याउँथेँ। आगो ताप्न बसेका रामसागर काका, बा र उनी गफमा रत्तिने गर्थे। तिनै जनाको भोजपुरीमा राम्रो दख्खल थियो। गाउँ घुम्दा भोगेका दिनभरिका घटना बालाई उनी रमाइलो कथाजस्तो गरी सुनाउँथे। मेरा बाका लागि उनी गाउँका समाचार सुनाउने माध्यम पनि थिए। बालाई उनी आफ्ना कतिपय व्यक्तिगत कुरा पनि बताउँथे। उनको कथाव्यथा जति लामो हुन्थ्यो, मेरो साइकल यात्रा अरू बढ्ने सम्भावना हुन्थ्यो। कतिपय अवस्थामा साइकल फर्काउँदा पनि गफ चलिरहेको देखेपछि म पुनः साइकल लिएर हिँड्थेँ।
एक दिन यसैगरी घुर तापिरहेको बेला प्रसंगवश बासँग उनले साइकलसम्बन्धी कुरा गरेको मैले सुनेँ। उहाँहरूबीच त्यस साँझ भएको संवाद यस्तो थियो, ‘सुननी हम कुछ दिन में देहात जगनी। राउर के लडका साइकिल के बहुते चरोवा करेला। उनका के हमर साइकिल खरिद दी। (सुन्नुस् न, म केही दिनमा घर जाँदै छु। यो केटो साइकल भनेपछि मरिहत्ते गर्छ। यो साइकल उसलाई किन किनिदिनुहुन्न ? )
अचानक मलाई अँध्यारो आकाशबाट फूलको वर्षा भएझैं लाग्यो। हतारमा पुनः गएर साइकल छाम्दै गर्दा उहाँहरूबीच ७५ रुपैयाँमा साइकलको मूल्य छिनोफानो भएको थाहा पाएँ। जुन साइकल डराईडराई र लुकिछिपी चलाउन पाइन्थ्यो, भोलिदेखि बडो सानका साथ त्यो आफ्नै निजी सवारीसाधन हुँदै थियो। खुसीले निद्रा नलागेको सायद त्यो मेरो पहिलो रात थियो।
भोलिपल्ट बिहानदेखि कुदाएको त्यो साइकल रात अबेर हुँदा पनि मैले छाडेको थिइनँ। तर आफ्नो साइकल हुनुको मज्जा मैले एक दिन मात्र लिन सकेँ। खासमा त्यो नाम मात्रको साइकल थियो। वर्षौंसम्म सामान बोक्दा बोक्दा कवाडी भइसकेको त्यो साइकल, मेरो दुर्भाग्य, दोस्रो दिन बिहान लिएर हिँड्न खोज्दा थाहा पाएँ— राति कुन बेला हो, पङ्चर भइसकेको रहेछ। गाउँमा साइकल बनाउने कुनै ठाउँ थिएन।
एक दिन कुदाएर आफूसँग साइकल छ भन्ने भ्रममा बाँच्नुपर्ने पीडादायी अवस्था आयो। लामो समय त्यो त्यत्तिकै थन्किएर बस्यो।
केही दिनपछि एकजना छिमेकीले मलाई पङ्चर भएको साइकल टाल्ने तरिका सिकाइदिए। बजारबाट उनले खाग्सी र ग्ल्यु किनेर ल्याइदिए। त्यो मेरा लागि सबैभन्दा काम लाग्ने कला सावित भइदियो। प्रत्येक पटक साइकल पङ्चर हुनासाथ निकालेर खाग्सी दल्थेँ र आगोले तताएर त्यसलाई टाल्थेँ। साइकल किनिदिने बाप्रति अझ बढी म अनुगृहित भएँ। किनकि त्यही साइकलका कारण म सानोतिनो मेकानिक पनि भइसकेको थिएँ।
सात कक्षा पास गरेपछि हाइस्कुल पढ्न पदमपुरबाट नजिकको सहर टाँडी बजार आएँ। अहिले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पुरानो पदमपुरबाट टाँडी झन्डै आठ किलोमिटर जति टाढा पथ्र्यो। टाँडीसम्म पुग्न बीचमा सानाठूला गरी पाँचवटा खोला पार गर्नुपथ्र्याे। कुनै खोलामा पनि पुल थिएनन्। धेरैजसो त्यो दूरी हामी पैदल हिँडेरै पार गथ्र्यौं। तर कहिलेकाहीँ भने साइकल चढेर जाने अवसर उपलब्ध हुन्थ्यो। साइकल चढ्ने लोभमा हामी जति नै कष्ट भए पनि साइकल बोकेर खोला तथ्र्यौं। काँधमा साइकल बोकेर खोला पार गर्नु निकै कठिन भए पनि साइकल पाएको खुसीले बोक्नुपर्दाको त्यो पीडालाई बिर्साइदिन्थ्यो।
टाँडी बजारमा भने साइकल गाउँमा झैं दुर्लभ वस्तु थिएन। तैपनि राम्रो साइकल चढ्न पाउनु युवाका लागि सानकै विषय मानिन्थ्यो। मंगलमान साहूको ‘गणेश साइकल पसल’ पूर्व चितवनभरि प्रख्यात थियो। उनलाई हामी मंगलमान बा भनेर बोलाउँथ्यौं। उनी पुराना साइकल मर्मतसम्भार गर्ने, नयाँ साइकल बेच्ने र साइकल भाडामा लगाउने गर्थे।
टाँडी बजारको २ नम्बर रोडमा रहेको उनको साइकल दोकानअगाडिको बाटो छेउमा नयाँ र पुराना दर्जनौं साइकल ठड्याएर राखिएको देख्दा नयाँ साइकल चढ्ने धुन सवार हुन्थ्यो। मंगलमान साहूका माइला छोरा विशाल श्रेष्ठ र म स्कुलमा सँगै पढ्थ्यौं। पचास पैसा प्रतिघण्टाका दरले पुरानो साइकल उति बेला भाडामा पाइन्थ्यो। पैसा तिरेर सधैं भाडामा साइकल लिनु विद्यार्थीका लागि सम्भव थिएन। कहिलेकाहीँ मंगलमान बाको नजर नपरेको बेला साइकल टिपेर बजार एक फन्को लगाइवरी साइकल त्यहीँ ल्याएर राखिदिने गथ्र्यौं हामी।
साँझमा साइकल लिएर महेन्द्र राजमार्गमा घुम्न निस्कने मण्डलीमा हाइस्कुलका सहपाठीहरू प्रभुशरण पाठक, सज्जन क्याल, कमलकृष्ण श्रेष्ठ आदि हुन्थे। त्यसरी साइकल लिएर हिँड्दा सँगै पढ्ने केटी साथीहरूको घरतिरको बाटोमा घण्टी बजाउँदै गर्दा मुटुको धड्कन पनि तेज हुँदै जान्थ्यो। साइकल लिएर जाँदा उनीहरूले साइकल चलाएको देखे हुन्थ्यो भने आशा पलाउँथ्यो। तर यस्ता आशाहरू धेरैपटक निराशामा बदलिन्थे। घरधन्धामा लागेका युवतीहरूलाई बाटो हेरेर बस्ने फुर्सद हुँदैन भन्ने कुरा बुझ्ने उमेर नै त्यति बेला कहाँ थियो र?
केही वर्षयता युरोपका सडकमा ‘कार फ्री आवर’ अभियानकै रूपमा चल्दै जान थालेको छ। ट्राफिक प्रहरीहरू पूरै सडक बन्द गराएर साइकल र्याली चलाउन सहयोग गर्छन्। यो अभियानसँगै मस्कोबाट जर्मनी बसाइँ सरेको मलाई साइकलप्रेमले पुनः बाल्यकालझैँ मोहनी लगाइदिएको छ। मस्को बसुन्जेल कमै प्रयोग हुने साइकल यता आएपछि भने पुनः मेरो साथी बन्न थालेको छ।
मंगलमान बाको साइकल पसलबाट साइकल चढ्न सिक्नेहरूको सिंगो पुस्ता अझै भेटिन्छ चितवनमा। आर्थिक उपलब्धि र उमेरका हिसाबले कतिपय मेरा साथीहरूले समेत अहिले साइकल चढ्न छाडे होलान्। अहिलेको पुस्ता त झन् कार, मोटरसाइकल आदिमा सवार हुने हैसियत राख्छ। मंगलमान बाले समेत त्यत्रो साइकल व्यापारलाई पुस्तान्तरण गर्न सक्नुभएन। सायद साइकलमा अब पहिलेझैं आकर्षण रहेन। मेरो सिंगो पुस्ता र अनुज पुस्ताले साइकल सिक्न र प्राप्त गर्न जुन मेहनत गरे, अहिले त्यो मिहिनेत अरूतिर आकर्षित भएको देख्दा मेरा बाल नोस्टाल्जियाहरू ठक्कर खान थाल्छन्।
चितवन पुगेको बेला साइकल कुदाउने प्रयास गरिरहेको कुनै बालक जब देख्छु, मेरा बालरहरहरू उम्लिएर आउँछन्। साइकलसँगै आउने यस्ता घटना मेरा र म निकट अनुज पुस्तालाई कसरी आउँदो हो ? उनीहरूमा पनि सांसारिक दौडधूप बिर्सेर एकछिन भए पनि साइकलमा रमाउने चाहना
बढ्दो हो कि त्यो चाहना मरिसक्यो ? फ्य्रांकफर्ट सहरका सडकमा साइकल कुदाउँदै गर्दा मेरा मनमा यस्ता प्रश्न निरन्तर आइरहन्छन्।
@Jibalamichhane उद्यमी तथा लेखक हुन्। उनको ‘सरसर्ती संसार’ पुस्तक प्रकाशित छ।