युवाले खोलाको फोहोर नगरपालिकाको ढोकामा फालेपछि..
जुम्ला : चन्दननाथ नगरपालिका भित्रको फोहोर व्यवस्थापनका लागि अझै ठाउँ टुंगो लागेको छैन। फोहोरका कारण नगरमा दुर्गन्ध बढ्दै जाँदा स्थानीय आक्रोशित छन्।
खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको नगरपालिकामा फोहोर मात्रै होइन खुला शौचालयको पीडा पनि छ। बजार क्षेत्रमा निर्माण भएका सार्वजनिक शौचालय भने प्रयोग बिहिन छन्।
केही दिनयता सदरमुकामको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने केही युवा संगठित भएका छन्। ‘जागौं युवा कर्णाली नेपाल’मा आबद्ध युवा संजालले सफाइ अभियान सुरु गरेको हो।
अभियान अन्र्तगत शनिबार दिउँसो युवाहरुले जुगाड खोलाको फोहोर नगरपालिकाको ढोकामा ल्याएर फालेका छन्। युवाहरुले नगरपालिकाको ढोकामा फोहोर फालेपछि यो विषयले जिल्लामा तरंग ल्याएको छ।
‘युवाहरुले संकलित फोहोर नगरपालिकाको ढोकामा फालेका छन्’, युवा हरिस रोकायाले भने, ‘पटकपटक फोहोर व्यवस्थापनको माग गर्दा पनि नगरपालिकाले चासो दिएन, हामीले अघिल्लो शनिबार संकलन गरेको फोहोर हप्तौसम्म नउठाएपछि नगरपालिकाकै ढोकामा फालिएको हो।’
यता नगरपालिकाका नायब सुब्बा तथा फोहोर व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले युवाले सरसफाइका विषयमा संस्थागत रुपमा कुनै लिखित जानकारी वा समन्वय नगरेको बताए।
‘मौखिक कुराकानी मात्रै भएको हो। तर, लिखित जानकारी नहुँदा युवाले संकलन गरेको फोहोर समयमै उठाउन सकिएन’, उनले भने, ‘समन्वय र सहकार्य हुनुपथ्र्यो। त्यो भएन। नगरपालिकाकै ढोमा फोहोर फालेर समस्या समाधान हुँदैन।’
अहिले नगरपालिकाले वडा नम्बर ५ को बजार क्षेत्रमै फोहोर फाल्ने तयारी गरिरहेको छ। यद्यपि लामो समयसम्म त्यो कार्य अलपत्र परेको छ।
चन्दननाथ नगरपालिका जुम्लाले स्मार्ट नगरपालिकाको परिकल्पना गर्दै आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रम बनाएको छ। नगरपालिकाको नीति तथा बार्षिक कार्यक्रममा सुन्दर, सभ्य तथा हराभरा नगर निर्माण तथा जमिनमुनि विद्युतीय तार बिछ्याउनेसम्मका भए पनि कार्यान्वयनको पक्ष भने कमजोर छ।