प्रिन्ट मेकिङमा रमाउँदै सौरगंगा
काठमाडौं : मातृत्व के हो ? त्यो एक आमाले मात्र महसुस गर्न सक्छे। गर्भभित्र हुर्किरहेको सन्तानप्रति उसको ममता त्यसैत्यसै जाग्छ। त्यही ममतालाई भुइँमा लडीबुडी गराउँदै थिइन् प्रिन्टमेकर सौरगंगा दर्शनधारी। आर्ट काउन्सिलमा परफर्मेन्स आर्ट गर्दै उनले चित्रकारिताको फरक विधि अपनाएकी थिइन्।
सौरगंगा भिजुअल आर्टिस्ट र प्रिन्टमेकर हुन्। ढाकाको ‘युनिभर्सिटी अफ डेभलपमेन्ट अल्टरनेटिभ’ बाट स्नातकोत्तर गरेकी उनी प्रिन्ट मेकिङदेखि परर्फमेन्स अर्ट गरेर आफ्नो कला प्रदर्शन गरी रहन्छिन्। प्रिन्ट मेकिङमा रमाउने सौरगंगाले परफर्मेन्स आर्ट पनि गर्छिन्। कुनै पनि विषयवस्तुले छोएपछि उनी शारीरिक हाउभाउद्वारा परफर्मेन्स आर्टका लागि पनि समय दिन्छिन्।
सौरगंगाले नेपाललगायत धरै देशमा भएको चित्रकला प्रदर्शनीमा भाग लिइसकेकी छन्। भन्छिन्, ‘आफ्नो कला देखाउन देश विदेशका चित्रकला प्रदर्शनीमा भाग लिँदै आएकी छु।’ उनी २०१८ मा टोकियोको तमा संग्रहालयमा आफ्नो कला लिएर गएकी थिइन् भने त्यही वर्ष भारत, अमेरिका, पोल्यान्ड र टर्कीको कार्यक्रममा पनि भाग लिइन्।
पछिल्लो समय उनले ‘आमाको थैली’ शीर्षकमा एकल चित्रकला प्रदर्शनीमा ल्याएकी थिइन्। ती नीलो, रातो, प्याजी, हरियो रङका थैलीमा उनले बचपनका याद सँगालेकी थिइन्। ‘थैलीमा हाम्रा आमा हजुरआमा पैसा सञ्चय गर्नु हुन्थ्यो’, उनी भन्छिन्, ‘अहिले ती थैलीलाई हामी देख्न पाउँदैनौं।’ थैली मानिसको जीविका निर्वाहसँग जोडिएको विषय भएकाले पनि सौरगंगाले यसको महत्त्व दर्शाउन उक्त थैली कथा प्रदर्शनमा ल्याएकी थिइन्।
हरेक वस्तुको सांस्कृतिक र सामाजिक मूल्यमान्यता हुन्छ। तिनको अलगअलग उपयोग र सम्बन्ध हुन्छ। तर समयसँगै ती वस्तुको उपयोग क्रमशः कम हुँदै जान्छ। थैली प्रचलन लोप हुनुको कारण पनि यही नै हो। यसका साथै उनले स्टोरी, फ्लो, यमरी, समय, क्लाउड शीर्षकका पेन्टिङबाट परिवर्तित समयसँगै आमाहरूको दिनचर्या दर्शाएकी थिइन्।
सौरगंगा बिन्दुः अ स्पेस फर आर्टिस्ट र प्रिन्ट मेकिङ नेपालको उपाध्यक्ष पनि हुन्, जहाँबाट विभिन्न किसिमका आर्ट बनाउने र समन्वय गर्ने काम गरिन्छ।
थुप्रै पुरस्कारले सम्मानित भइसकेकी सौरगंगाले सीता श्री पन्त स्मृति पुरस्कारसमेत पाएकी छन्। अहिले सौरगंगा ललित कला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टमा प्रिन्ट मेकिङ पढाउँछिन्। उनको पेन्टिङमा प्रकृतिलाई विशेष जोड दिइएको हुन्छ। कारण उनी प्रकृतिलाई हरेक कुराको सुरुआत सम्झिन्छिन्। भन्छिन्, ‘जीवन प्रकृति बिना अधुरो छ।’ उनले चित्रकलाको सुरुआत गर्दा प्रकृति नजिक भएर गरेकी थिइन्। र मानव जीवनसँग जोडिएका विषयलाई आफ्नो चित्रकलाको माध्यम बनाइन्।
कुनै समय उनी नृत्यमा पनि रमाइन्। यो क्षेत्रमा नयाँ पुस्ताको आगमन उत्साहजनक भएको पाउँछिन् उनी। ‘नयाँ नयाँ कलाकार आइरहेका छन्। यो देखेर खुसी लाग्छ’, उनी भन्छिन्। आर्टिस्टलाई पारम्पारिक कलाकृतिका साथै नवीन कलातर्फ आकर्षित गर्नुपर्ने उनको भनाइ छ। ‘कतिपय विषयवस्तुलाई कुची र रङमा मात्र व्यक्त गर्न सकिँदैन, त्यसका लागि परफर्मेन्स आर्ट गर्न आवश्यक छ’, उनी भन्छिन्। सौरगंगाका अनुसार नेपालमा पनि परफर्मेन्स आर्टको राम्रो प्रयोग भइरहेछ।
प्रिन्ट मेकर सौरगंगा हाल ‘सँगसँगै’ शीर्षकको प्रिन्ट मेकिङ प्रदर्शनीमा व्यस्त छिन्। प्रिन्ट मेकरको समूह मिलेर विभिन्न थिममा काम गरिरहेको उनी बताउँछिन्। भन्छिन्, ‘हामीले काठमा बुट्टा कँुदेर प्रिन्ट गरेका छौं।’ चरण चरणमा सम्पन्न गर्नुपर्ने प्रिन्ट मेकिङको काम गर्न भने त्यति सजिलो छैन। तर समसामायिक विषय वस्तुलाई उठाएर काम गर्न रमाइलो भइरहेको उनी बताउँछिन्।