मोदी विजय : विपक्षीको अनुमानभन्दा माथि

मोदी विजय : विपक्षीको अनुमानभन्दा माथि

भारतमा हालै सम्पन्न सन् २०१९ को आमचुनावको नतिजा सार्वजनिक भएको छ। यो नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको सांगठनिक क्षमताका कारण भाजपाका लागि यो जित सम्भव भएको स्पष्ट पारेको छ। यी दुई नेताले आआफ्नो क्षेत्रमा हासिल गरेको कार्यकुशलता र व्यापकताको जित हो।

यो सन् २०१४ को भन्दा केही बढी छ। यसपटक यी दुईको नेतृत्वमा बीजेपीले नयाँ सीमा पार गरेको छ। बंगाल, ओडिसालगायत पूर्व तथा उत्तरपूर्वका राज्यमा उनीहरूले आफूलाई बलियो बनाएका छन् र पुराना गढमा पनि दबदबा कायम राखेका छन्। उनीहरूले नयाँ ठाउँमा पनि पार्टीको जित सम्भव बनाएको देखिएको छ।

यो चुनावले भारतको प्रगतिशील वर्गको हार देखाएको छ। बौद्धिक स्तरमा उनीहरू मोदीको करिश्मा पहिचान गर्न असफल रहेका छन्। बीजेपीका नेताहरूले भनिरहे– यसअघि कहिल्यै पनि समाजका यी दुई वर्ग अर्थात् भारतका आमजनमानस र बुद्धिजीवी वर्गबीच यति धेरै फरक देखिएको थिएन। यसले के पुष्टि गर्छ भने यी दुईको दुनियाँ तथा सरोकारमा धेरै अन्तर छ।

प्रधानमन्त्री मोदीको कुरा गर्दा सन् २०१४ देखि नै उदारवादी वर्गले उनलाई कम आँकेको थियो। उनीहरूले प्रधानमन्त्री पदका लागि मोदीलाई अयोग्य सम्झे जबकि उनी तीनतीनपटक गुजरातको मुख्यमन्त्री भइसकेका थिए। उनीहरूले मोदी पार्टीको उम्मेदवार बने भने बीजेपीलाई राष्ट्रिय स्तरमा ठूलो धक्का लाग्न सक्छ भनेका थिए। तर मोदीको यो जितले यी सबै अनुमान गलत साबित गरिदियो।

मोदी यो चुनावपछि ठूलो शक्ति बनेर उदाएका छन्। यसको अनुमान उनका विरोधी र आलोचकले पनि लगाउन सकेका थिएनन्।

सन् २०१४ मा जब मोदीले चुनाव जिते तब देशमा हुने हरेक साना–ठूला घटनाका लागि प्रत्यक्ष वा परोक्ष रूपमा उनैलाई जिम्मेवार ठहर्‍याउने एउटा ट्रेन्ड बन्यो। यो मानिसकता पनि कहीं न कहीं मोदीको पक्षमा देखियो। किनभने यसका कारण उनी लगातार चर्चामा रहे। जनधार कम भएका नेताहरूलाई मोदीविरुद्ध उतार्ने कोसिस पनि भयो तर मोदी यी सबै कुरालाई आफ्नो पक्षमा ल्याउन सफल भए। किनकि मोदी भारतका आम नागरिकलाई बुझ्न, उनीहरूसँग जोडिन र उनीहरूका आशालाई सही दिशा दिन सक्षम थिए। विपक्षीहरूलाई यसबाट कुनै फाइदा मिलेन। विपक्षीहरूले लगातार गठबन्धन, महागठबन्धन र जातीय गणितमा आधारित भएर विकल्प बनाउन सकियोस् भन्ने कोसिस गरिरहे। तर यी सारा कोसिस असफल भए। उनीहरूले कुनै पनि ठोस विकल्प तयार पार्न सकेनन्।

मतदातामा बफादारीको जुन परिवर्तन देखियो त्यसलाई बुझ्न पनि विपक्षी राजनीतिक दल असफल भएका छन्। यो असफलताका लागि उनीहरूले इलेक्ट्रोनिक भोटिङ मेसिनलाई दिइरहे। गएको पाँच वर्षमा एउटा कुरा खुब रोचक तरिकाले सतहमा आयो। त्यो के भने जसरी मोदीको कद बढ्यो, त्यसरी यी विपक्षी दलहरूको जनतासँगको कनेक्सन टुट्दै गइरहेको थियो।

देशको कुनै पनि ठाउँमा यात्रा गरेका जोकोही नागरिकले बुझ्न सक्छन्– सत्ताविरोधी फ्याक्टर चुनावमा थिएन। न त मोदीविरोधी माहोल नै थियो। तर विपक्षीहरूले मोदी नीतिको तटस्थ आलोचना गर्नुको साटो लगातार उनको व्यक्तित्व गिराउने काममा आफ्ना सारा शक्ति खर्च गरे। यसको नतिजा के निस्क्यो भने मोदीको व्यक्तित्व भारतीय राजनीतिको केन्द्र बन्यो र विपक्षीको पराजयका लागि जमिन बन्दै गयो।

मोदीले भारतीय राजनीतिको दशा र दिशा आधारभूत तरिकाबाटै बदलेका छन्। उनले भारतीय जनता पार्टीलाई भारतीय राजनीतिको केन्द्रमा ल्याएर उभ्याइदिएका छन्, जहाँ लामो समयदेखि कंग्रेसको एकाधिकार थियो। भारतीय जनता पार्टीले बनाएको यो कथ्यको वरिपरि आगामी धेरै वर्ष भारतीय राजनीति घुमिरहनेछ।

मोदीले आफ्नो पार्टीको आधार भारत भूमिमा रहने अनेकौं समूहसम्म विस्तार गरेका छन्। यसको असर के भयो भने भारतका अन्य दलहरू कि त खत्तम हुँदै गएका छन् वा खुम्चिरहेका छन्। मोदीले भारतीय राजनीतिलाई नयाँ शब्दमा परिभाषित गरेका छन्– ती पार्टीहरू जो २०१४ सम्म जातीय गणितमा केन्द्रीय थिए, उनीहरू अब शासनको कुरा गर्न लागेका छन्। भारतीय मतदाताले राजनेताहरूसँग लगातार असल शासनको माग गर्न थालेका छन्। र, यो जागरण कहीं न कहीं मोदीको ‘हाइभोल्टेज क्याम्पेनिङ’ का कारण सम्भव भएको हो। र, यही कारण मोदी मुलुकका युवा मतदातामाझ लोकप्रिय छन्।

भारतमा यतिबेला अन्य कोही त्यस्तो नेता छैन, जसले यहाँका नागरिकको इच्छा, आकांक्षा र आशालाई सही तरिकाबाट बुझ्न सकून्। र, त्यसलाई महसुस गरेर नयाँ रङ दिन सकून्। सायद यही ‘क्वालिटी’ ले मोदीलाई उनका मतदातासँग जोडेको छ।

मोदी राजनीतिले फेरि एकपटक कैयन् पाखण्डलाई ऐना देखाइदिएको छ, जसलाई केही पुस्ताले देख्दै र सुन्दै आइएका छन्। जस्तो– धर्मनिरपेक्षतालाई जुन तरिकाबाट एउटा विशेष राजनीतिक वर्गले लगातार आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गर्‍यो, ऊ यो चुनावमा खुलेर अगाडि आएको छ। यसअघि एउटा खास वर्गविशेषसँग भोट या समर्थन माग्नु भारतीय लोकतन्त्रको शक्तिका रूपमा बुझिन्थ्यो तर मोदीले यसलाई पनि गलत साबित गरिदिए। उनले दक्षिणपन्थी सोचलाई एक हिसाबले नयाँ आयाम दिए। आज मूलधारको मिडिया यस्ता मानिसलाई स्थान दिन बाध्य भएको छ, जसलाई पहिला मतलब नै गरिँदैनथ्यो।

मोदीले पूर्व तथा पूर्वोत्तर राज्यहरूलाई भारतीय राजनीतिको केन्द्रमा ल्याउने काम गरे। यी इलाका लामो समयदेखि राजनीतिक उपेक्षा झेलिरहेका थिए। तर मोदीले गरेको लगातार प्रयासका कारण ती राज्य राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समाहित भएका छन्। तर मोदीले गरेका यी काममाथि विपक्षीसँग न कुनै नीति थियो न त दूरदर्शिता नै। यसले के प्रस्ट पार्छ भने जुन विशालताका साथ मोदीलाई यो जित मिलेको छ, यसले दोस्रोपटक के कुरा स्थापित गर्छ भने मोदीले भारतको ७० वर्ष पुरानो राजनीतिक दाउपेचलाई पूर्णरूपमा बदलिदिएका छन्।

तर यसको मतलब मोदीको शासनकाल पूर्णरूपमा निष्कलंक थियो र यसको समीक्षा हुनु हुँदैन भन्ने होइन। आज जुन हिसाबले भारतको बौद्धिक वर्ग आफूलाई विभाजित महसुस गरिरहेको छ, यसको मूल कारण के हो भने उनीहरूले विवादको जन्म तब दिए जब कुनै विवाद नै थिएन। यसक्रममा उनीहरूको साख गिर्दै गयो।

मोदी आफ्नो शासनकालको दोस्रो अध्याय सुरु गर्न लागेका छन्। यतिबेला उनको नीति र राजनीतिमाथि निकै विचार–विमर्श र मन्थन आवश्यक छ। तर हामीले यसको सुरुवात स्वीकारोक्तिका साथ गर्नुपर्नेछ– मोदी यो चुनावमा ठूलो शक्ति बनेर उदाएका छन्। यसको अनुमान उनका विरोधी र आलोचकले पनि लगाउन सकेका थिएनन्।

(अब्जर्भर रिसर्च फाउन्डेसन अनलाइनबाट अनूदित)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.