गर्मीमा यसरी स्याहार्ने छाला
भाइबहिनीहरू, अहिले गर्मी मौसम छ। स्कुलमा पढ्न जानु पर्दा पनि दिक्क लाग्छ होला। घरमा बस्दा पनि कहाँ जाऊँ के गरूँ भन्ने जस्तो हुन्छ। गर्मी भए पनि खेल्न मन त लागिहाल्छ। यति बेला तिमीहरूले आफ्नो स्वास्थ्यको हेरविचार गरेनौ भने छालासम्बन्धी समस्याले सताउन सक्छ।
वीर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. भाष्कर मेयर कायस्थका अनुसार विद्यालयमा चर्को घाममा उभ्याएर बिहानी प्रार्थना गराउनु राम्रो होइन। बालबालिकाको छाला नरम हुने भएकाले घामले असर गर्छ। दिउँसोको मध्यान्तरको समयमा पनि बालबालिका स्कुलको कोठाबाहिर खेल्छन्। घाममा खेल्दा अनुहार एवं घाँटी, हातको छालामा असर पुग्छ। छाला कालो हुन्छ। कतिपयलाई घमौरासमेत आउन सक्ने डा. कायस्थ बताउँछन्।
त्यस्तै गर्मीको बेला खोला किनार वा पोखरीमा पौडी खेल्दा पनि ध्यान दिनुपर्छ। पानी फोहोर रहेछ भने छालामा असर पर्छ। त्यसैले जहाँ मन लाग्यो त्यहाँ गएर पौडी खेल्न नहुने डा. कायस्थको सुझाव छ।
उपाय
· सुती कपडा लगाउने
· लामो बाहुला भएको सर्ट लगाउने
· ह्याट लगाउने
· अनुहारमा सनब्लक वा सनस्क्रिन क्रिम लगाउने
· पोलिस्टरको कपडा नलगाउने
· बाहिर पौडी खेलेपछि घरमा सफा पानीले नुहाउने
· चिसो पानीले अनुहार र घाँटी भिजाउने
· पूर्वबाहेक अन्य दिशातर्फ फर्काएर विद्यार्थीलाई प्रार्थना गराउने
घमौरा आए के गर्ने ?
गर्मीको बेला घाँटी, निधार एवं शरीरका अन्य भागमा पनि ससाना दाना देखा पर्छन्। छालाको बाहिरी भागमा देखा पर्ने ससाना बिमिरालाई घमौरा भनिन्छ। शरीरबाट बाहिर पसिना निस्कने प्वालहरू टालिएको अवस्थामा घमौरा आउँछ।
वरिष्ठ छाला रोग विशेषज्ञ डा. भाष्करमेयर कायस्थका अनुसार घरबाहिर खेल्ने बालबालिकामा बढी घमौरा देखिने गर्छ। गर्मीको बेला घरमै बस्ने र खेल्ने बालबालिकालाई पनि घमौराले सताउने गर्छ। डा. कायस्थ भन्छन्, ‘सबै घरमा कोठा चिसो बनाउने एअर कन्डिसनर र पंखा हुँदैन। गर्मीको बेलामा घरभित्रै बस्नेलाई पनि घमौरा हुन सक्छ।’ घमौरा आएको बेला अभिभावकले विभिन्न पाउडर लगाइदिने गरेको पाइन्छ। कसैले घमौरा हटाउन विभिन्न साबुन प्रयोगसमेत गर्छन्।
सफा पानीले मुख एवं घाँटी तथा शरीरका भागहरू भिजाउनुपर्ने डा. कायस्थको सल्लाह छ। भिजाइसकेपछि पुछ्नु हुँदैन। डा. कायस्थ भन्छन्, ‘ रुमाल वा अन्य कुनै कपडाले पुछ्नु हुँदैन। त्यत्तिकै हावामा सुक्न दिनुपर्छ।’ गर्मी भएकाले पानी नपुछ्दा चिसो लाग्ने पनि हुँदैन।
डा. कायस्थका अनुसार घमौराका लागि सबैभन्दा उत्तम उपाय यही हो। पानीले पटकपटक भिजाउने र कपडाले नपुछेर हावामा सुकाउने कार्य गर्ने हो भने घमौरा निको हुन्छ। पानी वाफका रूपमा निस्केर जाँदा शरीरको ताप पनि बाहिर निस्कन्छ। दिनको पाँच÷छ पटक यस्तो उपाय अपनाए घमौरा आउन पाउँदैन। घमौरा आएको अवस्थामा पनि छिटै निको हुन्छ।