माण्डवी गाउँपालिका केन्द्र अब जस्पुरमा
प्यूठान : जनप्रतिनिधी फरकफरक मतमा विभाजन हुँदा अन्यौलमा रहेको माण्डवी गाउँपालिका केन्द्र विवाद सुल्झिएको छ। हाल देविस्थानबाट संचालन हुँदै आएको दैनिक प्रशासनिक कामकाज अब जस्पुरबाट गर्ने गाउँपालिकाले निर्णय गरेको छ। आइतबार बसेको विशेष गाउँसभाले चकचकेको जस्पुरमा केन्द्र कायम गर्ने निर्णय गरेको हो।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ को उपदफा १ बमोजिम प्रदेश सरकारसँग परामर्श लिइ नेपाल सरकार समक्ष गाउँपालिकाको केन्द्र जस्पुरमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी दिए।
सेवाग्राहीको पहुँच, भूगोल र जनसंख्यालाई आधार मानेर जस्पुरमा केन्द्र राख्ने निर्णय भएको उनले बताए। २९ गाउँसभा सदस्यमध्ये २८ जनाले जस्पुरमा केन्द्र राख्ने निर्णयलाई समर्थन गरेका छन्। तर, पाँच नम्बर वडा सदस्य इश्वर बहादुर थापाले उक्त प्रस्तावमा असमर्थन जनाए।
जस्पुरमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले यसअघि १९ रोपनी क्षेत्रफल जग्गा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन्। देविस्थानका स्थानीयसँग सदभावपूर्ण रुपमा छलफल गरी बढीमा दश दिनभित्र कार्यालय नयाँ ठाउँबाट संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत सिशिर रिजालले बताए। उनका अनुसार गाउँपालिकाका अन्य भौतिक योजनाको कामकाज देविस्थानबाटै हुनेछ। बहुउदेश्यीय सभाहल, १५ शैयाको हस्पिटल, चिस्यानकेन्द्र, कृषि र पशु विकासतर्फका कार्यालय देविस्थानबाटै संचालन हुनेछन्।