चार वर्षपछि खुल्दै तातोपानी नाका

चार वर्षपछि खुल्दै तातोपानी नाका

सिन्धुपाल्चोक : भूकम्प र बाढीपहिरोले सडक भत्काएपछि बन्द भएको तातोपानी नाका (कोदारी नाका) ४ वर्षपछि सञ्चालनमा आउन लागेको छ। नेपाल र चीन सरकारले यसै साता यो नाका सञ्चालनमा ल्याउने तयारी गरेका छन्।

२०७२ वैशाख १२ गते आएको भूकम्प र पटक–पटकको बाढीपहिरोले सडक बगाएपछि नाका पूर्णरूपमा बन्द छ।

नाका सञ्चालन गर्न चीन सरकारले भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा गरिरहेको छ। नेपालतर्फ भने अहिले पनि सुस्त गतिमा काम भइरहेको स्थलगत अध्ययनका क्रममा भेटिएको छ।

व्यापारिक दृष्टिकोणले चीनलाई जोड्ने प्रमुख नाका यही थियो, तत्कालीन समयमा। यो नाका बन्द भएपछि विकल्पका रूपमा रसुवा नाका खोलिएको हो। चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र करिब तीन अर्ब रुपैयाँको निर्यात हुन्छ। यसको प्रमुख मार्ग तातोपानी नाका नै थियो। यो नाकाका कारण सर्वसाधारणले रोजगारी पाउनुका साथै आयातित सामग्री सस्तोमा उपभोग गर्दै आएका थिए। यस नाकाबाट अन्य समयमा दैनिक एक सयभन्दा र चाडपर्वमा एक हजारको संख्यामा सामान बोकेर कन्टेनर नेपाल भित्रिन्थे।

बन्दरगाह पनि तयार

तातोपानी नाका पुन: सञ्चालनमा ल्याउन चीन सरकारले निर्धारित समयमा भोटेकोसी गाउँपालिकास्थित लार्चामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्यमा सुक्खा बन्दरगाह निर्माण गरेको छ। चीन सरकारको करिब ६ अर्ब अनुदानमा साढे चार हेक्टर क्षेत्रफलमा बहुउपयोगी बन्दरगाह निर्माण भएको हो। यो बन्दरगाह नेपाल–चीन सीमाको मितेरी पुलभन्दा साढे ६ किलोमिटर तल पर्छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार यो बन्दरगाहमार्फत व्यवसायीले एकीकृतरूपमा सुविधा प्राप्त गर्न सक्नेछन्। बन्दरगाहमा भन्सार कार्यालय, क्वारेन्टाइन चेक पोस्ट, बैंकको शाखा, गोदाम, जाँच पास, कर्मचारीको आवास क्षेत्र, दुई सयको संख्यामा कन्टेनर र ठूला ट्रक राख्न मिल्ने पार्किङ क्षेत्रलगायत व्यवस्था गरिएको छ। ‘यो साताभित्र बन्दरगाह सञ्चालनमा ल्याउने तयारी हुँदैछ’, कार्यकारी निर्देशक ढकालले भने।

बन्दरगाह निर्माण सम्पन्न भए पनि तत्कालै सञ्चालनमा ल्याउन कर्मचारी बस्ने कुर्सी, टेबल, दराजसहितको अन्य फर्निचर सामग्री र इन्टरनेटसहितको सिस्टमको चर्को अभाव छ। त्यहाँ कर्मचारीलाई बस्न र रात्रिकालीन समयमा आवास गृहमा सुत्न फर्निचरजन्य सामग्रीको कुनै व्यवस्था भएको छैन।

‘बन्दरगाहबाट काम सुरु गर्न तत्कालै आवश्यक पर्ने फर्निचरजन्य सामग्रीका लागि एक महिना अघि चीन सरकारसँग सहयोग माग गरेका छौं’, बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले भने, ‘चीन सरकारले सहयोगमा उपलब्ध गराउने आश्वासन दिएको छ। यस्तै भन्सारसँग व्यापारिक कारोबारलाई जोड्ने नेपाल टेलिकम र वल्र्ड लिंकसँग छलफल गरिराखेका छौं।’

निर्माण सम्पन्न भएको यो बन्दरगाह दोस्रो चरणमा बनेको हो। २०७० पुस ५ गतेदेखि निर्माण सुरु भएको यो बन्दरगाहको ८० प्रतिशत काम सम्पन्न भएको अवस्थामा २०७२ मा आएको भूकम्प र भोटेकोसीको बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको थियो। नेपाल इन्टरमोडल यातायात विकास समितिका पूर्वकार्यकारी निर्देशक लक्ष्मण बस्नेतका अनुसार नबन्दै क्षतिग्रस्त बनेको बन्दरगाहको पुनर्निर्माण चीन सरकारले २०७५ वैशाख ७ देखि थालेको थियो। मितेरी पुल अहिले थप १२ मिटर चौंडा र अत्याधुनिक रूपमा निर्माण भइरहेको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बन्दरगाहमा रहने भन्सार कार्यालयमा भन्सार छुटाउन व्यवसायीको पहुँच हुनुपर्ने माग अघि सारे। उनले भन्सार कार्यालयमा पल्टिने सामानको सुरक्षाको ग्यारेन्टी, सडकमार्ग व्यवस्थित गर्न, भाडादरमा रहेको सिन्डिकेट प्रणाली अन्त्य गर्नुपर्र्नेलगायत माग अघि सारे। तातोपानीबाट सामान आयात गर्न करिब २० दिन लाग्छ। रसुवा नाकाबाट ल्याउँदा करिब दुई महिना लाग्छ। कटुवालले नाका सञ्चालनमा आएपछि काठमाडौंको ठूला व्यापारी आगामी दसैंलाई लक्षित गरी चीनबाट सामान ल्याउने तयारी गरेका छन्। यो सामान आगामी साउन १५ गतेभित्र नेपालमा भित्र्याउने व्यापारीको योजना छ।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका सञ्चालनमा आए पनि नेपाली–चीनबीचको व्यापार वृद्धि हुने बताए। ०००

भगौलिक र सडक जोखिम

भौगोलिक विकटता र सडक मार्गका कारण तातोपानीसम्मको सडक मार्ग उच्च जोखिममा छ। बाह्रबिसेदेखि मितेरी पुलसम्मको बाटो जोखिमपूर्ण छ। अधिकांश सडक कच्ची, खाल्डाखुल्डी र साँघुरा छन्। पहिरोले कुनै बेला पनि सामान बोकेको कन्टेनर भोटेकोसी खोलामा खसाल्ने जोखिम छ। अहिले भएको दुई लेनको सडक पनि क्षतविक्षत छन्। कटुवालका अनुसार थोरै वर्षा हुँदा पनि पहिरो गएर कन्टेनर सोझै भोटेकोसीमा खस्न सक्ने र बाटो थुनिन सक्ने जोखिम छ। सडक फराकिलो नपार्दासम्म कन्टेनर व्यवसायीले सहजै सामान ल्याउन नसक्ने देखिएको छ।

चीन सरकारले चीनबाट ३२ चक्के आफ्नै कन्टेनरमा सामान राखेर लार्चाको बन्दरगाहसम्म ल्याइ पुर्‍याउने प्रारम्भिक जानकारी दिएको छ। सापकोटाले भने, ‘यस्तो सडकमार्गबाट हाम्रै कन्टेनर गुडाउन चालकले हातमा ज्यान बोक्नुपर्ने अवस्था छ। ३२ चक्के चिनियाँ कन्टेनर बन्दरगाहसम्म ल्याउन जोखिमको काम छ।’

तेस्रो मुलुकसँग सोझै व्यापारिक कारोबार गर्न मिल्ने तातोपानी नाकासम्म कम्तीमा चार लेनको गुणस्तरीय सडक तत्कालै आवश्यक छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका पूर्वकार्यकारी निर्देशक लक्ष्मण बस्नेतका अनुसार सरकारको कमजोरीका कारण बन्न लागेको चार लेनको बाटो पनि बन्न पाएन। बन्दरगाह निर्माणसँगै चीन सरकारले लार्चास्थित बन्दरगाहदेखि मितेरी पुलसम्मको साढे ६ किलोमिटर खण्डमा चार लेनको बाटो बनाइदिने आवश्वासन दिएको थियो। सरकारले मुआब्जा दिएर उक्त खण्डमा भएका घर तथा भौतिक पूर्वाधार नहटाएका कारण चीन सरकार उक्त सडक निर्माण कार्यबाट पछि हटेको थियो। 

तेस्रो मुलुक जोड्ने विकल्प

तातोपानी नाकामार्फत नेपालले तेस्रो मुलुकसँग सोझै व्यापारिक कारोबार गर्न पनि उपयुक्त नाकाको रूपमा लिएको छ। चीनसँग भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनका लागि हालै नेपाल र चीनबीच पारवहन परिवहन प्रोटोकल (प्रक्रियागत संहिता) का विषय द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार पारवहनका लागि ६ वटा नाकामार्फत ढुवानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका लागि अन्तर्राष्ट्रिय नाकाका रूपमा तातोपानीसहित रसुवा र यारीलाई विकास गर्न लागिएको छ। यसमध्ये पूर्वाधार, सुविधा र सहजताका हिसाबले तातोपानी नाकामार्फत नेपालले चीनको लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह प्रयोग गरी कोरिया, जापानलगायत तेस्रो मुलुकसँग सोझै व्यापारिक कारोबार गर्न सक्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.