मोदीको दोस्रो कार्यकाल : सुध्रिएला नेपालसँगको सम्बन्ध ?

मोदीको दोस्रो कार्यकाल : सुध्रिएला नेपालसँगको सम्बन्ध ?

नयाँदिल्ली : सर्वसम्मत रूपमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट संसदीय दलका नेता चुनिएका नरेन्द्र मोदीले दोस्रो कार्यकाल शुरु गर्दै छन्। राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारीसहित नयाँ सरकार गठनका लागि स्वीकृति दिइसकेका छन्। उनले आगामी बिहीवार प्रधानमन्त्री पदको शपथ लिनेछन्। सरकार गठनका लागि उनले दल र एनडीए भित्र छलफल गरिरहेका छन्। अत्यधिक बहुमतले मतादेश पाएको भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीले आगामी पाँच वर्ष मुलुकको विकासमा होमिने संकल्प गरिसकेका छन्।

‘सबका साथ, सबका विकास’को नाराले २०१४ को लोकसभा चुनावमा बहुमतले जितेको भाजपाले यसपटकको जितपछि अल्पसंख्यकको हितलाई प्राथमिकतामा राखेको सन्देश सहित नयाँ नारा प्रस्तुत गरेको छ। ‘सबका साथ, सबका विकास र सबका विश्वास’लाई चरितार्थ पार्न आफूले कुनै कसर बाँकी नराख्ने मोदीको उद्घोष छ।

भाजपाले यो निर्वाचनमा एक्लैले ३०३ सीट हासिल गरेको छ भने संयुक्त गठबन्धनबाट ४९ गरेर ३५२ सिटमा जित हासिल गरेको छ। ९ सिट अपुग भएका कारण दुई तिहाइ बहुमतबाट वञ्चित भएको पार्टीले स्पष्ट बहुमतले सरकार सम्भाल्नेछ। निर्वाचन परिणामलाई मोदीको चमत्कारका रूपमा व्याख्या गरिएको छ भने अर्कोतर्फ भारतीय निर्वाचन आयोगका अनुसार खसेको जम्मा जम्मी ६० प्रतिशत मत मात्र निर्णायक भएको हुँदा नखसेका ४० प्रतिशत मत तटस्थ नै रहेको कोणबाट पनि बहस छेडिएको छ। लोकतान्त्रिक प्रक्रियाअनुसार खसेका मतमा जसले बहुमत हासिल गरेको छ, सरकार उसैले बनाउने हो।

लोकसभा निर्वाचन र चौकीदार क्याम्पियन

चुनाव प्रचारका क्रममा मोदीले एउटा सभामा आफूलाई देशको चौकीदारको रूपमा प्रस्तुत गरेपछि कंग्रेस अध्यक्ष राहुल गान्धीले चौकीदार चोर है भनेर नारा शुरु गरे तर यहाँ उनी चिप्लिए। चौकीदार शब्दको बहस यतिमा मात्र थमिएन। यसैबीचमा आम आदमी पार्टीकी नेतृ अलका लाम्बाले गरेका ट्विटले भारतदेखि नेपालसम्म तरंग ल्यायो। उनले टिव्टमा गरेकी थिइन, ‘प्रिय भारतवासी, कृपया यनेपटक प्रधानमन्त्री चुन्नुहोस्, चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ। नेपालका चौकीदार चोर हुन्दैनन्।’ उनको यो ट्विट भारतभित्र र नेपालमा निकै आलोचित भयो। नेपाली जनताले आफनो आत्मसम्मानमा ठेस पुगेको भन्दै लाम्बाले माफी माग्न आक्रोश पोखेका थिए।

निकै चर्चामा आएको चौकीदार शब्दलाई पछि मोदीले ‘मै भी चौकीदार’ भनेर ट्यागलाइन बनाएर क्याम्पियनमा जुटे। भाजपाका सबै नेताले आफ्नो नामको अगाडि चौकीदार राखे। जसले सर्वसाधारणलाई तान्न उनीहरू सफल भए। गान्धीले चौकीदार चोर है भनेर भोटको राजनीतिक गर्न खोजे तर उनको यो अस्त्र विफल भयो।

कंग्रेस अध्यक्ष गान्धीले चुनावमा भएको शर्मनाक हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा राजीनामा दिन तयार रहे पनि पार्टी कमिटीले राजीनामा स्वीकार गरेको छैन। निम्न वर्गीयलाई ठेस पुगेको चौकीदार शब्दमा चिप्लिएका गान्धीको धारणा क्यास गर्दै मोदीले ‘मनकी बात’ कार्यक्रममार्फत संवाद नै गरे। यो संवाद पनि जितको एक पाटो भएको विश्लेषण छ।

भाजपा र नेपालसँगको सम्बन्ध

हिन्दुत्वको मूल मुद्दा बोकेको भाजपाको दोस्रो कार्यकाल शुरुसँगै नेपाल सम्बन्धको चर्चा र चासो काठमाडौंमा शुरु भएको छ। २०१४ को जितपछि उनको प्राथमिकतामा रहेको छिमेक नीति यसपटक भाजपाको घोषणापत्रमा परेको छैन्। २०१४देखि २०१९ सम्मको उनको कार्यकालमा दक्षिण एशियाली छिमेकी मुलुकसँगको सम्बन्ध सुखद रहेन। पाकिस्तानसँगको तिक्तता त झण्डै युद्धको स्थितिसम्म पुग्यो। सर्जिकल स्ट्राइकदेखि एयरफोर्स आक्रमणसम्मको भारत पाकिस्तानको युग यो पाँच वर्षले देखाएको छ। चीनसँगको दोक्लाम विवादले भुटानसँगको सम्बन्ध पनि चेपमा प¥यो। नाकाबन्दीपछि नेपालको विश्वास र भर पनि गुमेको छ।

तर ऐतिहासिक दोस्रो जितपछि भारतमा मात्र नभएर विश्वमै मोदीको ओज थप बढेको छ। यो ओजको नेपालमा कस्तो प्रभाव हुन्छ, समयक्रमसँगै यसको जवाफ मिल्दै जाला।

तर २०१४ देखि अहिलेसम्मको द्विपक्षीय सम्बन्धको फेहरिस्त केलाउँदा पहिलो भ्रमणमा प्रधानमन्त्रीले नेपाली जनताबाट बटुलेको प्रशंसापछि संविधानप्रतिको असहमति अनि त्यसको निहुँमा गरिएको अघोषित नाकाबन्दी सम्बन्ध विचलनको प्रस्थान विन्दु मान्नुपर्छ। जसको घाउमा टाटो त बसेको छ पूर्ण निको भइसकेको छैन। भारतले कहिल्यै भोग्नै नपर्ने नाकाबन्दीको पीडाले त्रस्त नेपाल सरकारको विकल्प खोज्ने प्रयास स्वरूप चीनतर्फ बढेको कदम नेपालका लागि आंशिक रूपमा फलदायी देखिएको छ। त्यसको प्रतिफल स्वरूप धमाधम भारत सरकारको सहयोगमा सञ्चालित परियोजना सम्पन्न गर्न देखाइएको तीव्रता सकारात्मक र सुखद नै मान्नुपर्छ।

सम्बन्ध कसरी अगाडि बढ्ला ?

अब भारतको नेपालसँगको सम्बन्ध कसरी अगाडि बढ्ने विषय दुइ–तीन चरणमा विभाजन गरेर विश्लेषण गर्नुपर्ने हुन्छ। मोदीको पाँचवर्षे कालखण्डको व्याख्या गर्दा अहिले कुन अवस्थामा छौं, त्यहाँबाट अगाडिको बाटो तय गर्ने अथवा विगतमा भारतले गरेको संविधानमाथिको हस्तक्षेप र अघोषित नाकाबन्दीले उब्जाएको संशयपछिको सम्बन्धलाई आधार मानेर अगाडि बढ्ने। वास्तवमा नेपाली जनताको भावनालाई कदर गर्ने हो भने यो घटना बिर्सन योग्य छैन तर राजनीतिक र कूटनीतिक सम्बन्ध यसबाट पन्छाएरै अगाडि बढ्ने कुरालाई पनि नकार्न सकिन्न। अहिले नेपाल–भारत सम्बन्ध ठ्याक्कै कुन अवस्थामा रहेको छ भन्ने बारे परराष्ट्रका एक उच्च अधिकारी भन्छन्, ‘वास्तवमा नेपाल–भारत सम्बन्धबारे मोेदीको नेतृत्वपछि नै यथार्थपरक व्याख्या हुन थालेको हो। यो कटु सत्य हो। यसअघि टालटुले नीति अख्तियार गरिएको थियो।’

मोदीको नेतृत्वपछि जुन उत्साह सिर्जना भएको थियो, हाललाई त्यो सुस्ताएको छ। त्यसको एउटा कारण निर्वाचन पनि थियो तर पछिल्लो समयमा चीनसँगको सम्बन्ध विस्तार गर्ने नेपालको प्रयासपछि भारतले छोडिदिएको अवस्था पनि हो। नाकाबन्दीपछिको समयलाई भारतीय पक्षले निकै गम्भीरताका साथ विश्लेषण गरेको छ, व्यक्त नगरे पनि अस्वीकार्य भूल हो भन्ने उनीहरूको बुझाइ छ।

यसैबीचमा नेपाली पक्षले आफूलाई निकै सशक्त ढंगबाट प्रस्तुत गरेको र यो नेपाल–भारतको सम्बन्धको इतिहासमै पहिलोपटक भएको ती अधिकारीको दाबी छ। भारतको सुरक्षामा निकै गहिरो चासो छ। त्यसमा उसले कुनै सम्झौता गर्दैन। नेपाल भएर हुने नक्कली भारतीय नोटको कारोबार अनि नेपालको पश्चिमी भूभागमा बिस्तार भएका मदरसा भारतीय सुरक्षा चासोका विषय हुन्। नेपालले उनीहरूको सुरक्षाविरुद्ध कुनै किसिमका गतिविधि हुन नदिने भन्ने कुरा व्यवहारमा लाग ूगर्न दुबै मुलुकबीच विश्वासको खाँचो छ।

भारतभित्रै पनि नेपालको सम्बन्धमा अनुदार र नरम पक्ष छन्। भारतीय पक्षबाट कुराकानीका क्रममा पनि निरन्तर प्रसंग निकालिने संविधानका कुरा बिल्कुलै गरिदैन तर संविधानलाइ टेकेर गरिएको निर्वाचनको प्रशंसा भने गर्छन्। सुरक्षित अवतरण अवलम्बन गर्न थालेको पनि बुझिएको छ।

त्यसैले भारतीय पक्षले विगत बिर्सेर अगाडि बढ्नुपर्ने भन्ने तर्क अघि सारेको छ। यही सन्देश भारतीय पक्षले नेपालका राजनीतिक, कूटनीतिक तहदेखि मिडियासम्म प्रवाह गरिरहेको छ। भर्खरै भारत भ्रमणमा आएका नेपाली पत्रकारको एक टोलीलाई भारतीय विदेश सचिव विजय गोखलेले यही सन्देश दिएका थिए। मोदीको दोस्रो कार्यकालमा नेपालमा वामपन्थी दलको दुई तिहाइ बहुमतको पाँचवर्षे सरकारको नेतृत्व गरिरहरेका नेता केपी ओली नै मोदीका समकक्षी छन्। बाहिरबाट दुई बीचको सम्बन्ध सुमधुर देखिए पनि आन्तरिक रूपमा दुवैले एकअर्कालाई पूर्ण विश्वास गरेको देखिदैन। मोदीले वामपन्थी दलको दुई तिहाई बहुमतको सरकारलाई हेर्ने नजारमा परिवर्तन हुने हो कि भन्ने आशंका उब्जिन सक्छ। तेस्रो पाटो नेपालमा हिन्दुत्व पक्षधरप्रति मोदी सरकारको उदार रहने कुरा नकार्न सकिन्न।

भारत, चीन र नेपाल

भारत र चीन बीचको सम्बन्धको समीकरण परिवर्तन भइसकेको छ। परिवर्तित सम्बन्धको पछिल्लो ताजा उदाहरण पाकिस्तानको संरक्षणमा रहेको भनिएका मसुद अजहरलाई आतंककारी घोषणाका लागि अवरोध गर्दै आएको चीनले दिएको समर्थनले पुष्टि गर्छ। त्यसैगरी नेपालमा चिनियाँ राजदूतले भर्खरै दिएको चिनियाँ रेलको विषयमा दिएको अभिव्यक्तिलाई पनि गहिरिएर विश्लेषण गर्न सकिन्छ।

ओली सरकारको चीनप्रतिको बढ्दो निकटताभन्दा पनि उनको कार्यशैलीबाट बिच्किएको भारत सरकारले नयाँ सरकार बनेपछि नेपालको राजनीतिमा आफ्नो प्रभाव र वर्चस्व बढाउने रणनीतितर्फ पनि अग्रसर हुने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.