'आतंकवाद मास्छौँ'
एजेन्सी कोलम्बो
श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमसिंघेले देशमा फेरि सक्रिय हुन खोजेको आतंकवादलाई निमिट्यान्न पानें प्रतिबद्धता व्यक्त गरेका छन्। उनले श्रीलंकाली जनतालाई कट्टरपन्थ र धार्मिक अन्धताको समर्थन नगर्न आग्रह पनि गरेका छन्।
कोलम्बो पेजका अनुसार शनिवार टेम्पल ट्रीमा नागरिक समाज र मजदुर संगठनका प्रतिनिधिसँग भेट गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। यसअघि इस्टरमा भएको आक्रमणमा संलग्न सबै आक्रमणकारीलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको पनि जानकारी दिए। विक्रमसिंघेले भने, ‘यसको अर्थ श्रीलंकामा आतंकवाद अन्त्य भइसक्यो भन्ने होइन। अब हामीले आतंकवाद उन्मूलन गर्न ठोस कदम उठाउनुपर्छ। देशले दोस्रोपटक आतंकवादको पीडा भोग्नु नपरोस्।’
शंकास्पद आतंकवादीका बैंक खातामा अवैध रकम
श्रीलंकामा पाँचजना शंकास्पद आतंककारीका बैंक खातामा १ अर्ब भारतीय रुपैयाँ भेटिएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। उनीहरू श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेशनल थहिद जमात (एनटीजे) सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो।
एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रवार ती पाँचैजनालाई होरोपाथानामा पक्राउ गरिएको थियो। डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न जाहरान हासिमलाई पनि गिरफ्तार गरिएको छ। पक्राउ परेकाहरूमा एकजना होरोपथाना डिभिजनल सेक्रेटेरिएटमा कार्यरत विकास अधिकृत, एकजना सरकारी स्कुलका शिक्षक, दुईजना किविलेकाडास्थित अरेबिक कलेजका शिक्षक तथा एकजना केबिथिगोल्लेवाका रहेका छन्।
पक्राउ परेका व्यक्तिले अनुराधापुरा र ट्रिन्कोमालीमा चरमपन्थी प्रशिक्षण दिएका थिए। प्रहरीका अनुसार उनीहरूले दुई वर्षअघि होरोपाथानाको जंगलमा हतियार चलाउने तालिम पनि लिएका थिए। गत अप्रिल २१ मा श्रीलंकाका गिर्जाघर र होटलमा भएका बम आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।