‘चार वर्षभित्र सबैलाई पुर्जा’
बुटवल : सरकारले आगामी चार वर्षभित्र सबै सुकुम्बासीलाई जमिनको मालिक बनाउने भएको छ। शहरी क्षेत्र तथा अन्य स्थानमा अव्यवस्थित बसोबास गरेका पुराना बस्तीलाई पुर्जा दिन थालेको सरकारले चारवर्षभित्र कोही पनि सुकुम्बासी नहुने दाबि गरेको छ।
‘आगामी चार वर्षभित्रमा सवै सुकुम्बासीहरु जग्गाको मालिक बन्नेछन्, भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले भनिन्। जग्गा भएरपनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक बनाउने प्रतिवद्धता उनको छ।
रुपन्देहीको सैनामैना नगरपालिकास्थित बुद्धनगरमा आईतबार नेपालमै पहिलोपटक गाउँब्लक जग्गाको पुर्जा जग्गा धनीहरुलाई वितरण गर्दै मन्त्री अर्यालले ५० औं वर्षदेखि जग्गा जोतभोग गरेका तर पुर्जा नपाएर जग्गाको अपनत्व ग्रहण गर्न नपाएका गाउँब्लक जग्गाको पुर्जा वितरण सैनामैनावाट सुरु गरेको बताइन्।
मन्त्री अर्यालले गाउँब्लक जग्गाको पुर्जा वितरण नेपालका अन्य जिल्लामा पनि क्रमैसंग सुरु हुने स्पष्ट पारिन। ‘ सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई पनि छानबिन गरेर पुर्जा वितरण गर्छौं, जग्गाको मालिक वनाउँछौं, उनले भनिन्। जग्गा नै नभएका सुकुम्वासीहरुलाई पनि सरकारले जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै वर्तमान सरकारले आफ्नो कार्यकालभित्र यो समस्या समाधान गरेरै छाड्ने जिकिर गरिन। आइतबार यहाँ चार सय ६४ लालपुर्जा वितरण गरिएको हो। पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ।