२६ करोड डुबाएर सहकारी बन्द
नेपालगन्ज : नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कुल पुँजीको आधा रकम हिनामिना भएको छ। संस्थाको कुल पुँजी ५२ करोड रुपैयाँ छ। संस्थाका ४ जना कर्मचारीको मिलेमतोमा ४ हजार बचतकर्ताको २६ करोड रुपैयाँ हिनामिना भएको हो।
वित्तीय संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीका अनुसार सबैभन्दा बढी मुख्य शाखा बैकिङ कार्यालय नेपालगन्जका बैकिङ प्रबन्धक अरुणकुमार पाठकले झन्डै २२ करोड रुपैयाँ अपचलन गरेका छन्। त्यसपछि नेपालगन्ज बैकिङ नायब महाप्रबन्धक गंगाधर सुवेदीले झन्डै ३ करोड रुपैयाँ, खजुरा शाखा प्रबन्धक सूर्यबहादुर विश्वकर्माले झन्डै ६३ लाख र बैजापुर शाखा प्रबन्धक लीलाधर वलीले झन्डै ३९ लाख रुपैयाँ अपचलन गरेको वित्तीय संस्थाले जनाएको छ। उनीहरूले किर्ते ऋणी खडा गरेर पनि अनियमितता गरेको आशंका छ।
०५१/५२ मा स्थापित यो संस्था जिल्लाको १० औं सहकारी भएको दर्ता नम्बरमा उल्लेख छ। वित्तीय संस्थाले ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। वित्तीय संस्थाले बढीमा १० लाख रुपैयाँसम्म ऋण दिन्थ्यो। अपचलनबारे संस्थाले थाहा पाएपछि एक वर्षभित्र रकम फिर्ता गर्ने गरी उनीहरूसँग २६ वैशाखमा कागजात गराएको बुझिएको छ। बैंकिङ कसुरमा कारवाही गर्नुको साटो आन्तरिक छानबिन गरी संस्थाले अपराध लुकाउन खोजेको देखिन्छ। ५ जेठमा अभियुक्तद्वय पाठक र वली फरार भएपछि मात्र गत शनिबार सञ्चालक समितिले प्रहरीलाई खबर गरेको छ। ‘बचतकर्ताको रकम पासबुक र लेजरमा चढाइयो। लग बुक र क्यास बुकमा नचढाएर रकम हिनामिना भयो’, अध्यक्ष चौधरीले रकम अपचलनबारे भने, ‘डेढ वर्षदेखि निगरानी गर्दा गर्दा आपूmले फेला पारेको हुँ। हामीले शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेमा ४ जनालाई पक्राउ गरी रकम असुल उपर गरिदिन उजुरी दिएका छौं।’
यसअघि ०७१/७२ मा राजकुमार टण्डन र यशोदा तुलाधर दुई कर्मचारीलाई संस्थाले ७ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा कारवाही गरेको थियो। सोही वर्ष नेपाल राष्ट्र बैंकलेसमेत छानबिन गरेको थियो। वित्तीय संस्थाले आइतबार कार्यालय बाहिर १५ दिन बैंकिङ कारोबार नगर्ने सूचना टाँसेपछि बचतकर्ताहरू रकम सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
संस्थाले जारी गरेको सूचनामा ‘संस्थाबाट गरिएको कारोबारको प्रमुख प्रबन्धकबाट अध्ययन गर्ने क्रममा केही कर्मचारीबाट रकम अपचलन भएको र सोसम्बन्धी अध्ययन गर्न अझै कम्तीमा पनि १५ दिन लाग्ने’ उल्लेख छ। ‘संस्थाको मुख्य शाखा बैकिङ कार्यालय नेपालगन्जका बैकिङ प्रबन्धक कर्जा विभाग प्रमुख अरुणकुमार पाठक र नगद/जनरल विभाग प्रमुख लीलाधर वली ५ जेठदेखि बिनासूचना कार्यालयमा उपस्थित नभएको’ पनि उल्लेख छ।
आइतबार कार्यालय खुल्ने बित्तिकै झन्डै २ सय बचतकर्ता जिल्ला प्रशासन कार्यालय बाँकेमा वित्तीय संस्थाबाट रकम निकासा गरिपाउँ भन्दै धर्ना दिन गएका थिए। झन्डै डेढ सय जनाले त आपूmले पाउनु पर्ने रकम उल्लेख गरी असुलउपर गरिपाउँ भनेर उजुरी नै दिएका छन्। जसमा रकम अनियमितता गर्नेलाई कारबाही माग गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आइतबार बिहान १० बजेदेखि पीडित कार्यालयमा आएको बताए। उनले भने, ‘मैले राष्ट्र बैंक र सहकारी विभागमा जानकारी गराएको छु। पहिले राष्ट्र बैंकले हेर्दै आएकोमा अहिले सहकारी विभागले हेर्छ। हामी कहाँ आएको उजुरी विभागमा पठाउँछौं।’
नेपालगन्ज–९ स्थित घरमा पुगेर बचतकर्ताले संस्थाका अध्यक्ष हरदेव बक्स चौधरीलाई जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएका थिए। चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
एउटै व्यक्तिको ५० लाख बचत
वित्तीय संस्थामा एउटै व्यक्तिले ५ सयदेखि ५० लाख रुपैयाँसम्म बचत खाता र मुद्दती खातामा रकम जम्मा गरेका छन्। संस्थाको मुद्दती खातामा रकम जम्मा गर्दा दोब्बर दिने आकर्षक योजना पनि छ।
जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएका जानकी गाउँपालिका–३ इन्द्रपुरका शिवकुमार वर्माले साढे ६ वर्षमा दोब्बर पाउने भनेर साढे ६ लाख रुपैयाँ मुद्दती खातामा बचत गरेको बताए। १३ प्रतिशत ब्याज पाउने गरी १ बर्से मुद्दती खातामा १२ लाख रुपैयाँ बचत गरेका छन्। उनको बचत खातामा २ लाख रुपैयाँ छ। पत्नी शिवदेवी वर्माको नाममा छुट्टै ७ लाख रुपैयाँ बचत छ। उनले यथार्थ बताए, ‘घर बनाउने भनेर ७ लाख रुपैयाँ लिन गएका थियौं। संस्थामा ताला लगाइएको रहेछ।’
हरिबहादुर केसीले पत्नी रुपु खत्रीको नाममा मात्र ३२ लाख रुपैयाँ बचत भएको बताए। उनले भने, ‘मुद्दतीमा २० लाख र बचत खातामा १२ लाख रुपैयाँ छ। आज १२ लाख रुपैयाँ निकाल्न आएका थियौं। संस्था नै बन्द भएकाले प्रशासन गुहार्न आयौं।’
पीडितको तर्फबाट उजुरी लेख्दै गरेका नेपालगन्ज–१७ का अम्मरलाल वर्माले पनि परिवारका सदस्यको नाममा झन्डै ४० लाख रुपैयाँ बचत गरेको बताए। दिनेश ढटेर कौशलले ३० लाख र नेपालगन्ज–१७ ढोडे गाउँका कुँवारे धोबीले २२ लाख रुपैयाँ बचत गरेको बताएका छन्। संस्थाका अध्यक्ष चौधरीले बचतकर्ताको रकम क्रमशः फिर्ता गर्ने बताएका छन्।