बाँझो जमिन भाडामा लिई तरकारी खेती

बाँझो जमिन भाडामा लिई तरकारी खेती

तानसेन : तानसेन नगरभित्र जग्गा भाडामा लिएर तरकारी खेती गर्नेको संख्या बढ्दै गएको छ। निजी तथा सामूहिक रूपमा तानसेनका कृषकले जग्गा भाडामा लिई व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्।

तानसेन नगरपालिका १४ का लेखनाथ न्यौपानेको सम्पत्तिको नाममा एउटा घडेरी मात्र छ। उनले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ग्रामीण बस्तीको रूपमा चिनिने अर्गलीमा बाँझो परेका, बाँझिने अवस्थामा पुगेको ३० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका हुन्। न्यौपानेले वार्षिक रूपमा जग्गाबापत ९० हजार रुपैयाँ भाडा मात्रै बुझाउँछन्। ७ वर्षपछि मलेसियाबाट फर्किएका न्यौपानेले ३ वर्षयता जग्गा भाडामा लिएर अर्गलीमा तरकारी खेती गर्दै आएका हुन्।

नगरभित्र ४५ कृषकले करिब ४ सय ५० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ग्रामीण क्षेत्रमा जग्गा बाझो राखी सहरमा बसाइसराइ बढ्दै गएको समयमा नगरवासीले जग्गा भाडामा लिएर नमुना तरकारी खेती गरेका हुन्। अर्गली, मदनपोखरा, दमकडा, काजीपौवा, प्रभास, लामडाँडा, बराङ्दी, सेतीपोखरी, धरमपानी, चवनबारी, बौघा गुम्बा क्षेत्रका कृषकले जग्गा भाडामा लिई व्यावसायिक तरकारी खेती हुँदै आएका छन्। सबैभन्दा बढी वडा ९ को दमकडामा १५ जना कृषकले तरकारी खेती गर्दै आएका छन्।

वडा ७ प्रभासमा कृषक धुव्र भण्डारी, महेश्वर पन्त तथा जोन सञ्चालक समितिले तानसेनको प्रभास क्षेत्रमा ४० रोपनी जग्गा भाडामा लिएर टमाटर, काँक्रा र तिते करेला, सेवी लगाएका छन्। २५ रोपनी जग्गामा टमाटर, १० रोपनीमा काँक्रा र ५ रोपनीमा तिते करेला लगाएका छन्। प्रतिरोपनी ४ हजारको दरले वार्षिक १ लाख ६० हजार भाडा तिर्ने गरी जग्गा धनीसँग ५ वर्षे सम्झौता गरेका छन्। सहर बजारमा घरघडेरी बिक्रीका लागि जमिनको खण्डीकरण भइरहेको समयमा व्यावसायिक तरकारी खेतीले उत्पादनमा वृद्धिसँगै जमिन टुक्रिनबाट बचेको छ। पन्तले दैनिक रूपमा १८ जना कामदारलाई रोजगारी दिएका छन्।

वडा ८ का नरबहादुर सार्की, विष्णुबहादुर सुनार र सोमबहादुर सुनारले ५० रोपनी जग्गा वार्षिक २ लाख ४० हजार रुपैयाँमा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। ३ जनाको समूहले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। अर्गलीका निर्मल रानाले पनि १५ रोपनी जग्गा वार्षिक ६० हजार भाडा तिरेर तरकारी उत्पादन गर्दै आएका छन्। वडा ७ का दिपकबहादुर रायमाझीले नमुना कृषि तथा पशु फर्मबाट १४ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

जग्गा बाँझिने क्रम रोकियोस्, जमिन खण्डीकरण हुनबाट बचोस्, जग्गाधनीले जग्गा नबेचेरै नियमित रूपमा आम्दानी गरोस्, उत्पादनमा वृद्धि होस् भनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई प्रोत्साहनका लागि सहयोग गर्ने भएको छ। जग्गा भाडामा लिएका कृषकको तरकारी उत्पादनको आधारमा जग्गाको क्षेत्रफल नापजाँच गरी भाडाको ५० प्रतिशत रकम सहयोग गरिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए। यस वर्ष जग्गा भाडामा लिई तरकारी खेती गर्दै आएका कृषकलाई ६ लाख विनियोजन गरेको उनले बताए। बजारको सुनिश्चितता, ढुवानी लागत कम लाग्ने, राजमार्गसँग जोडिएका सहरी क्षेत्रका बाँझो खाली जग्गामा १२ महिना तरकारी फल्न थालेपछि कृषकमा उत्साह थपिएको छ। यसले तरकारी उत्पादनमा वृद्धि भएको छ भने जमिन प्लटिङ हुने क्रम रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.