आजबाट यार्सा पाटन खुला
डोल्पा : डोल्पाका यार्सागुम्बा पाउने पाटन सोमबारबाट खुला भएका छन्। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका पाटनमा ३ हजार यार्सा संकलक प्रवेश गरेका छन्। जिल्लाको सर्वपक्षीय बैठकले जिल्लाभरका पाटन १३ गते नै खुला गर्ने निर्णय गरेपनि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको वन क्षेत्र मात्रै खुला गरिएका छन्।
१० गतेदेखि पाटन प्रवेशका लागि अनुमति पत्र वितरण गरेको निकुञ्जले आफ्नो क्षेत्रमा पर्ने सबै जगदुल्ला,कागमारा,भुक्पा,कुनासा,रमाना,पेरीकोक्पा,सागर,फुलबारी,नाउरे,दानीगार,माटे सुम्से लगायतका दर्जनौं पाटन सर्वसाधारणका लागि खुला गरेको हो।
यस वर्ष ३ हजारभन्दा धेरै मानिस यार्सागुम्बा टिप्न निकुञ्जका वनक्षेत्रमा अनुमति लिएर प्रवेश गरेका छन्। निकुञ्जका १५ वटा नाकाबाट प्रवेश अनुमति लिएर पाटन पुगेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निमित्त सूचना अधिकारी छत्र खड्गाले जानकारी दिए।
एकै पटक हजारौ मानिस निकुञ्जको वनक्षेत्रमा प्रवेश गरेपछि निकुञ्जले कर्मचारीलाई विशेष सुरक्षासहित पाटनमा परिचालन गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ।
पाटनमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएका छन्।गत वर्षको तुलनामा यस वर्ष राजस्व वृद्धि हुने अनुमान शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयको छ। एक साताभित्र राजस्वको सबै विवरण आइ सक्ने कार्यालयले जानकारी दिएको छ।