बझाङको मालुमेला स्थानीयको पहलमै झिलिमिली
बझाङ : पुस्तौँदेखि अँध्यारो रहेको थलारा गाउँपालिका–९ मालुमेला अब उज्यालो बनेको छ ।
स्थानीयहरुको पहलमा जडारीगाड दोस्रो लघु जलविद्युत् आयोजना सुरु भएपछि गाउँले उत्साही बनेका छन् । आइतबार जलविद्युत् आयोजना उद्घाटन गरेपछि उनीहरुले उत्सव नै मनाए । जडारीगाडमा पावर हाउस रहेको ५२ किलोवाट क्षमता रहेको यस आयोजनाबाट मालुमेलाका ५ सय ५० घरधुरीमा बत्तीको सुविधा पुगेको छ ।
जलविद्युत् आयोजनाका सचिव लोकेन्द्र विष्टका अनुसार दुर्गममा रहेको आफ्नो वडामा रहेका सबै घरधुरीमा बत्ती बाल्न पाउँदा गाउँलेहरु हर्षित छन् ।
बिजुलीलाई व्यवसायमा उपयोग गरी स्वारोजगारका कार्यक्रममा जोड दिने पनि स्थानीयको अपेक्षा छ । आयोजना निर्माणका लागि मालुमेलाका बासिन्दाहरुले वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रबाट एक करोड पाँच लाख र थलारा गाउँपालिकाबाट ३८ लाख गरी एक करोड ४२ लाख खर्च गरेका थिए ।
२०५२ सालदेखि निर्माण कार्य सुरु भए पनि मालुमेला बासीको अनेक प्रयासपछि बल्ल विद्युत् बाल्ने सपना पूरा भएको स्थानीय विश्वप्रकाश जोशी बताउँछन् ।