आर्थिक सर्वेक्षण : निक्षेपको ब्याज बढ्दा गार्हस्थ्य बचत बढ्यो

आर्थिक सर्वेक्षण : निक्षेपको ब्याज बढ्दा गार्हस्थ्य बचत बढ्यो

काठमाडौं : बैंक तथा वित्तिय संस्थाको निक्षेपमा ब्याजदर आकर्षक हुन थालेपछि कुल गार्हस्थ्य बचत वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य उत्पादनको  २० दशमलब ५ प्रतिशत बचत हुने भएको हो । कुल गार्हस्थ्य उत्पादनमा उपभोग घटाएर कुल गार्हस्थ्य बचत गणना गरिन्छ । आर्थिक वर्ष २०७२/७३ मा कुल गार्हस्थ्य बचत पाँच प्रतिशतभन्दा कम थियो । त्यतिबेला बैंकमा औसत भारित निक्षेप दर ३ दशमलब २८ प्रतिशत थियो । भूकम्प र त्यसलगत्तैका नाकाबन्दीका कारण पनि उपभोग खर्च बढेको थियो । पछिल्लो दश वर्षमा औसत गार्हस्थ्य बचत १२ दशमलब ४ प्रतिशत रह्यो ।

दश वर्षको औसत उपभोग विश्लेषण गर्दा भूकम्प र नाकाबन्दीको समयमा बाहेक औसत ८८ देखि ९० प्रतिशतसम्म उपभोग हुँदै आएको थियो । पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा निक्षेपको ब्याजदरमा वृद्धि भएसँगै कुल गार्हस्थ्य बचत र कुल राष्ट्रिय बचतको अवस्थामा सुधार आएको हो ।

आर्थिक वर्ष २०७३/७४ देखि बैंकहरुमा निक्षेपको ब्याजदर बढ्न लागेको हो । उक्त आर्थिक वर्षमा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलब १५ प्रतिशत रह्यो र कुल गार्हस्थ्य बचत भने अर्थतन्त्रको १३ दशमलब ४३ प्रतिशत रह्यो ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा औसत निक्षेप दर ६ दशमलब ४९ प्रतिशत रह्यो भने कुल गार्हस्थ्य बचत १७ दशमलब ८२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा बैंकहरुको औसत निक्षेप दर ६ दशमलब ६७ प्रतिशत र अर्थतन्त्रमा बचको हिस्सा २० दशमलब ५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । बैंकमा निक्षेपको ब्याजदरमा भएको बढोत्तरीले बचत वृद्धि गरेको छ । जसले पुँजी निर्माणका लागि परिचालन गर्न सकिने पुँजीको अनुपातमा वृद्धि भएको छ । विगतमा वर्षहरुमा कुल गार्हस्थ्य उत्पादन अर्थात् अर्थतन्त्रको ९० प्रतिशत सम्म उपभोग हुन्थ्यो भने यो आर्थिक वर्षमा ७९ दशमलब ५ प्रतिशत मात्र उपभोग हुने भएको छ ।

त्यस्तै कुल राष्ट्रिय बचत पनि बढेको छ । कुल राष्ट्रिय बचत भन्नाले कुल खर्चयोग्य आय (डिस्पोजेबल इनकम) मा उपभोग घटाएर निकालिन्छ । कुल राष्ट्रिय आयमा विप्रेषण समेत गणना हुन्छ । यस्तो बचत चालु आर्थिक वर्ष २०७५/७६ मा अर्थतन्त्रको ५२ दशमलब ३५ प्रतिशत हुने अनुमान छ । अघिल्ला दुई आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह बढेको छ । विप्रेषण चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको २६ दशमलब २४ प्रतिशत रहने अनुमान छ । यो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रूपैयाँ रहने अनुमान छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा कुल गार्हस्थ्य उत्पादनको क्रमशः २६ प्रतिशत र २४ दशमलब ९१ प्रतिशत बराबर विप्रेषण भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.