आगामी वर्ष हजार मेगावाट बिजुली थपिने
काठमाडौं : आगामी आर्थिक वर्ष २०७६÷७७ मा एक हजार सात मेगावाट बिजुली थप हुने भएको छ। विभिन्न २४ वटा सरकारी तथा निजी जलविद्युत्का आयोजना निर्माणाधीन रहेकाले आगामी आवमा यसबाट उक्त क्षमतामा बिजुली आउने उल्लेख छ। यी आयोजना निर्माणाधीन रहेको र एक वर्षभित्रै सकिने गरी तयारी गर्दै गरेको सोमबार सार्वजनिक आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ।
आर्थिक सर्वेक्षणका अनुसार आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, १ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको लोअर सोलु, ५७ मेगावटको सान्जेन, ३६ मेगावाटको अफर बलेफी ए, नुवाकोटमा २५ मेगावाटको सौर्य ऊर्जासहितका आयोजना सम्पन्न भएर एक हजार ७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा थप हुने उल्लेख छ।
निर्माणाधीन आयोजना एक वर्षभित्र पूरा भए अर्को वर्षदेखि नेपालमा २१ सय ५० मेगावाट बिजुली उत्पादन हुनेछ। हाल नेपालले भारतबाट बिजुली आयात गरेर लोडसेडिङ हटाइएको छ। निर्माणाधीन आयोजना निर्धारित समयमै पूरा नभएको अवस्थामा नेपालले अर्को वर्षबाट बढी भएको बिजुली उल्लेख्य मात्रामा निर्यात गर्ने उल्लेख छ। चालू आवको फागुनमा ११ सय ४२ मेगावाट बिजुली उत्पादन पुगेको छ। यस अवधिमा प्रसारण लाइन ३ हजार ९ सय ८ सर्किट किलोमिटर पुगेको छ। यसबाट भएको बिजुलीको वितरण लाइन एक लाख ४४ हजार किलोमिटर पुगेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ। हाल देशभर ४२ लाख ४२ लाख ८४ हजार ग्राहकले बिजुलीको उपभोग गर्ने गरेका छन्।
आगामी वर्ष थप हुने यस्तो आयोजना संख्यात्मक हिसावले निजी क्षेत्रका धेरै छन्। निजी क्षेत्रले निर्माण गरिरहेका २.२ मेगावाटको अपर पराजुली खोला १ देखि ८२ मेगावाटको लोअर सोलुसम्मका आयोजना छन्।
चालू आर्थिक वर्षको गत फागुनसम्मको तथ्यांकका आधारमा तयार भएको यो आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा सकिने समयसीमा तय गरेका निर्माणाधीन आयोजना भने २५६ मेगावाटका छन्।
गत आव २०७४÷७५ मा एक हजार ७४ मेगावाट बिजुली उत्पादन भएको भएपनि चालू आवको आठ महिनामा ६८ मेगावाट बिजुली थप भएको छ। उक्त समयमा थप भएको आयोजनामा ७.८ मेगावाटको सुपरमाई, ०.०९ मेगावाटको सोबुवा खोला र ०.९६ मेगावाटकोे विष्णुप्रिया सोलार थप भएको उल्लेख छ।
आगामी आवमा थप हुने सबैभन्दा ठूलो आयोजनाका रूपमा दोलखाको निर्माणाधीन माथिल्लो तामाकोशी रहेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उपलब्ध गराएको गत फागुनसम्मको तथ्यांकअनुसार हाल उत्पादन अनुमति लिएर सञ्चालनमा रहेको जलविद्युत्् कम्पनीको संख्या ९१ छन्। यसमा १५ वटा ११.२४ मेगावाटका आयोजना एक मेगावाट भन्दा कम क्षमताका छन्। सोभन्दा बढी क्षमताका ७६ वटा आयोजनाबाट १ हजार २६ मेगावाट बिजुली उत्पादन भइरहेको छ।
उत्पादन अनुमति जारी भई निर्माणको विभिन्न चराण्मा रहेका आयोजना २०३ वटा छन्। यी आयोजनाको बिजुली उत्पादन क्षमता ७ हजार ७ सय ८० मेगावाट छ। यसैगरी, उत्पादन अनुमतिका निम्ति निवेदन दिएका एक हजार ५ सय १९ मेगावाटका आयोजना ३० छन् भने सर्वेक्षण अनुमति जारी भएका १८ हजार १ सय ९३ मेगावाटका ३ सय १ आयोजना छन्। १ हजार ३६ मेगावाटका ३३ आयोजनाले सर्वेक्षण अनुमतिको निम्ति दरखास्त दिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ।