मदनकृष्ण भन्छन् : स्वास्थ्य ठीक छ तर, शरीर गोलमाल छ
काठामाडौं : वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ 'रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान २०७६' बाट पुरस्कृत भएका छन्। रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जको ५ औं जन्मोत्सवका अवसरमा मंगलबार श्रेष्ठलाई ५० हजार नगद र ताम्रपत्रसहित सम्मान गरिएको हो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले मदन कृष्णलाई दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथी सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले रेडियो अन्नपूर्णको सफलताको लागि शुभकामना दिँदै मदनकृष्ण श्रेष्ठलाई बधाइ दिए। उनले भने, 'अन्नपूर्ण मिडिया अन्नपूर्ण हिमालजस्तै टल्की रहोस् र नेपालको कलालाई संसारभर पुर्याओस्।' उनले ०७२ वैशाखको भूकम्पताका अन्नपूर्ण मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे।
रेडियो अन्नपूर्णले चार वर्षदेखि निरन्तर देश र जनतालाई सूसुचित गर्दै आएको छ। कार्यक्रममा क्याप्टेन रामेश्वर थापाले ०७२ को भूकम्पमा रेडियो अन्नपूर्णले खेलेको भूमिका अतुलनीय रहेको बताए। उनले भने, 'भूकम्पको समय रेडियो नेपाल पछि रेडियो अन्नपूर्ण सुनेर जनताले सूसुचित हुने मौका पाएका थिए।'
सार्वभौम जनताको हितमा रेडियो अन्नपूर्ण निरन्तर लाग्ने पनि उनले बताए।रेडियो अन्नपूर्णले गरेको सम्मानप्रति बोल्दै मदनकृष्णले खुसी व्यक्त गरे। उनले सम्मानको रकम सानो ठूलो नहुने भन्दै त्यसको ठूलो महत्व हुने बताए। यो खुसीलाई व्यक्त गर्न उनले गीत नै गाएर सुनाए।
धेरै माया नदेऊ हजुर मलाई भार भो
लिन सजिलै भो माया तिर्न गाह्रो भो..
बच्चैदेखि अहिलेसम्म चुलबुले पो छु म
धेरै धेरै माया पाइ पुल्पुलेको छु म ।
कार्यक्रममा उनले आफ्नो स्वास्थ्य ठीक रहेको तर शरीर गोलमाल छ भन्दै ठट्यौली शैलीमा रेडियोमा गीत गाएका दिनहरु सम्झिए। उनले भने, 'मैले रेडियो नेपालमा विभिन्न गीत गाउँदै आफ्नो कलाकारितालाई अगाडी बढाएको हुँ।'
आजको पुस्ताका लागि कला प्रदर्शन गर्न विभिन्न 'प्ल्यार्टफर्म' भएको बताउँदै उनले आफ्नो पालामा त्यो 'प्ल्यार्टफर्म' आफैंले निर्माण गरेको बताए। उनले भने, 'हेपिएको हास्यव्यङ्ग्य कलालाई गरिमामय बनाउन सफल भएँ।'
नेपाली कला क्षेत्रलाई व्यवसायिक बनाउन सफल मदनकृष्ण आफ्नो कलाप्रतिको लगाव जन्म गाउँ जितपुरफेदीलाई मान्छन् ।कार्यक्रममा वरिष्ठ साहित्यकार अशेष मल्लले मदनकृष्ण कलाकर्मीका साथै सामाजिक परियान्ता भएको बताए।
'प्रजातन्त्रको बहाली र कलाकारिताको माध्यमबाट नेपाली भाषा बाङ्मयमा मदनकृष्णले ठूलो योगदान दिएका छन्,' उनले भने । एउटै क्षेत्रमा निरन्तर लाग्नु चुनौतीपूर्ण भएको बताउँदै मदनकृष्णको सालिनता, मानवता, राजनीति र सामाजिक परिवर्तनका राम्रापक्षबारे मल्लले चर्चा गरे।
स्टेसन म्यानेजर ठाकुर बेलबासेले रेडियो अन्नपूर्ण रेडियोको ठूलो जंगलबाट अगाडी बढिरहेको बताए।'समाज र राष्ट्रप्रति गम्भीर हुँदै रेडियो अन्नपूर्णले व्यवसायिक प्रसारणलाई जोड दिएको छ,' उनले भने।
रेडियो अन्नपूर्ण काठमाडौंलगायत अन्य २५ जिल्लामा प्रसारण हुँदै आएको छ। समाचार र मनोरञ्जनलाई प्राथमिकता दिँदै आएको रेडियो २४ घण्टा संचालन हुँदै आएको छ। रेडियो अन्नपूर्णलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रशासनिक झन्झटका कारण ढिलाइ भएको बताउँदै उनले अब छिट्टै प्रसारणको तयारीमा रहेको जानकारी गराए।