खुसी नै नचिनी खुसी देखिने समाज

खुसी नै नचिनी खुसी देखिने समाज

‘संवृद्धियुक्त खुसी’ को फराकिलो सपना नदेख्ने र ‘भाग्यवादी खुसी’ को आम नेपाली मनोविज्ञानमा रमाउने हो भने यथास्थितिको घेरा तोड्न कठिन हुनेछ।


‘टेलिभिजन आउँछ ? आउँदैन। थ्रिजी चल्छ ? चल्दैन। पत्रपत्रिका हेर्न पाउनु हुन्छ ? पाउन्न। एफएम रेडियो आउँछ ? दुइटा आउँछ। नजिकै स्वास्थ्य चौकी छ ? छैन। बिरामी भए या सिटामोल चाहिए कहाँ जानुहुन्छ ? तीन घन्टा पर बजारमा। ठूलो रोग लागे ? त्यो त हजुर पैसा भए सदरमुकाम जाने हो, नभए मर्ने हो।’ त्यति भनेर उनी धक फुकाएर हाँसे। मचाहिँ सीतांग भएँ।

बझाङका ती नागरिकसँग संवाद गरेकै साँझ सदरमुकाम चैनपुरस्थित होटेलमा पुगेपछि समाचार पढ्दै गर्दा देखें, सुदूर पश्चिमले बारम्बार चुनेर पठाएका नेता, नेपाली कांग्रेसका सभापति तथा चारपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा ‘पेटमा समस्या’ देखिएपछि उपचारका लागि पत्नी र छोरासहित सिंगापुर प्रस्थान गरेका रहेछन्। सूत्रहरूलाई उल्लेख गर्दै लेखिएको उक्त समाचारमा भनिएको थियो, ‘केही वर्षयता देउवाले सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएका छन्।’ दिउँसो भएको संवाद र साँझ पढेको समाचारले नेपाली समाज र राजनीतिको तीतो र विडम्बनापूर्ण यथार्थ चित्रण गर्छ।

यात्रा गर्ने क्रममा बाटोमा पाँच–छ वर्षदेखि दश–एघार वर्षसम्मका ससाना नानीहरू स्कुल गइरहेको भेटिए। मैले तीमध्ये एकजनासँग छोटो संवाद गरें : स्कुल कति पर छ ? एक घण्टा लाग्छ। स्कुलमा खाजा दिन्छ ? दिँदैन, घर आएर खाने। त्यति भनेर ती नानीहरू हाँसखेल गर्दै अगाडि बढे। वास्तविकता के हो भने नेपालमा कयौं ठाउँ यस्ता छन् जहाँ स्कुल जान ३ घण्टा र फर्किन ३ घण्टा लाग्छ र यात्रा तथा स्कुल अवधिभर ती सबै नानी भोकै रहन्छन्। यस्तो लाग्छ, यो देश पैसा हुने र सहर र बजारमा जन्मनेहरूका लागि मात्रै हो। अर्काे ठाउँमा एक युवाले भने, ‘सशस्त्र द्वन्द्वकालमा मेरै घरमा हामीले कति नेतालाई सेल्टर दियौं, भइनभई खाना खुवायौं। आज मेरा बुवाआमालाई पेट पाल्न धौधौ छ, तर मेरा बुवाआमाले छहारी दिएका नेताहरू सबै सुखी जीवन बिताउँछन्।’

काठमाडौंमा आज प्रस्तुत हुने वार्षिक बजेट र त्यसले बाँड्ने सपनाबारे घनिभूत गृहकार्य र बहस हुँदै गर्दा गत दुई साता म र मेरा कयौं सहकर्मीहरू सुदूर पश्चिमका नौवटै जिल्लाका दर्जनौं गाउँ, बजारमा भ्रष्टाचारविरोधी जनचेतना यात्रामा थियौं। पहिले पनि धेरै गाउँबजारको यात्रा गरेको थिएँ। अझ बाल्यकालका पाँच वर्ष त सुदूर पश्चिमकै डोटी र दार्चुलामा बिताएको थिएँ। तर यसपटकको यात्राले मेरो मानसपटलमा दुइटा गहिरो छाप छाडेको छ। पहिलो– भ्रष्टाचारले मानिसहरू कति आक्रान्त छन् र परिणामस्वरूप कसरी सर्वत्र विकास होइन, विनाश भइरहेको छ। दोस्रो, अधिकांश मानिस कसरी ‘संवृद्धियुक्त खुसी’ के हो चिन्दै नचिनी ‘भाग्यवादी खुसी’ लिएर बाँचिरहेका छन्। यस्तो प्रतीत हुन्छ, मानौं नेपाल खुसी के हो चिन्दै नचिनी खुसी देखिने समाज हो।हरेक ठाउँमा स्थानीयसँग संवाद गर्दा अचम्मैलाग्दो एउटा समानता देखियो। उनीहरू सबै आआफ्नो वडा, गाउँ या नगर नेपालकै सबैभन्दा भ्रष्ट ठाउँ भएको महसुस गर्दथे। एक ठाउँमा पीपलको बोटमुनि चौतारीमा सबैको भावना समेट्ने गरी एक वृद्धले भने, ‘के कुरा गर्नु, हजुर, बजेटको आधाको आधा पनि काम हुँदैन। सबै मिलेर खान्या हुन्। हामी केही गर्न सक्दैनौं।’ हुन पनि स्थिति भयावहपूर्ण छ। सुदूर पश्चिम प्रदेशको झण्डै आधा जनसंख्या गरिबीको रेखामुनि छ। कति ठाउँमा नदीछेउ मलिला फाँटहरू छन् तर तरकारी अन्य जिल्ला र अझ सीमापारिबाट आएका छन्। जताततै कञ्चन पानीका मूल छन् तर प्रदेशका लगभग आधा जनसंख्या स्वच्छ पिउने पानीबाट वञ्चित छन्। स्वास्थ्य सेवाको हाल बेहाल छ। प्रदेशका अधिकांश जिल्लाहरुको मानव विकास स्थिति उत्साहजनक छैन।

बजारहरू कुनै व्यवस्थित छैनन्। अधिकांश बजार गल्ली हुन्, बजार होइनन्। या त मनपरी बनेका घरहरू छन् या मनपरी बनेका टहरा। ती घर, टहराका बीचबाट नाली बहेका छन्। नाली सबै खोलामा मिसाइएका छन्। कतै फुटपाथ छैन। कतै रूख छैन। कतै तार व्यवस्थित छैन। कतै पार्क छैन। कतै राम्रो खेल्ने ठाउँ छैन। कतै स्तरीय स्कुल, कलेज छैन। कतै राम्रो अस्पताल छैन। अधिकांश मन्दिर कंक्रिटमा रूपान्तरण भएका छन्। कुनै बाटो स्तरीय र सद्दे छैन। बाटो छेउछाउमा देखिने पहाडी घरहरू अधिकांश घर होइनन्, झुपडी झैं प्रतीत हुन्छन्। पहाडहरू डोजरले छियाछिया पारिएका छन्।

यति हुँदाहुँदै पनि अनौठो कुरा के भने, धेरै पर त छोडिदिऊँ, आजभन्दा २०–२५ वर्षपछि पनि आफ्नो जीवन, आफ्नो परिवार, आफू बसेको ठाउँ र देशको स्थिति के होला भन्ने सम्बन्धमा अपवादबाहेक अधिकांश मानिस निश्चिन्त देखिन्छन्। मैले यो स्तम्भको पहिलो अनुच्छेदमा उल्लेख गरेका व्यक्तिजस्तै। उनीसँग खास केही छैन। उनको गाउँमा कुनै सेवा, सुविधा छैन। तर उनी ‘ठूलो रोग लागेको खण्डमा पैसा भए सदरमुकाम जाने हो, नभए मर्ने हो’ भनेर धक फुकाएर हाँस्छन्। उनको हाँसोले ३० वर्षदेखि समाजवादको चर्को वकालत गर्दै देशको नेतृत्व गरिरहेका र पछिल्लोपटक ‘समाजवादप्रति प्रतिबद्ध’ संविधान लेखेका कम्युनिस्ट र कांग्रेसहरूलाई गिज्याइरहेको थियो।

‘मचाहिँ बदलिन्न, अरू बदलिऊन् र देश बनाऊन्’ भन्ने कामना मात्र गर्ने हो भने स्पष्ट छ– हाम्रो पुस्ता मात्र होइन, भावी पुस्ताले पनि संवृद्धियुक्त खुसीको अनुभूति गर्न पाउने सम्भावना न्यून छ।

नेतृत्वकर्ताको आडम्बर आफ्नो ठाउँमा छँदै छ तर आमरूपमा नेपालीको ‘भाग्यवादी खुसी’ को मनोविज्ञान पनि नेपालको अविकासको एउटा प्रमुख कारण हो भन्नु गलत हुँदैन। नेपालीहरूको त्यो आम प्रवृत्तिले हामी धेरैमा एउटा घातक दुर्गुण विकास गरिदिएको छ, जुन सुदूर पश्चिम यात्राका क्रममा राम्रैसँग महसुस भयो। भाग्यवादी सन्तुष्टि र निश्चिन्तताका कारण अधिकांश मानिस यथास्थितिको घेराबाट बाहिर निस्कनै चाहँदैनन्। सो घेराभित्र उनीहरू दशकौंदेखि यसरी जकडिएका छन् कि उनीहरूको परिवर्तनको परिकल्पना नै त्यही घेराले बाँधिदिएको छ।

यात्राका क्रममा एकजना शिक्षित, सचेत र राजनीतिक रूपमा सक्रिय महिलासँग भेट भयो। उनलाई मैैले भनें, ‘हेर्नोस्, तपाईंका पार्टीहरूले देश ध्वस्त पारिसके। सदरमुकाम र तपाईं बस्ने ठाउँको हाल हेर्नोस्। तपाईंका छोराछोरी तपाईंले चाहे पनि यो देश फर्किंदैनन्। तपाईंको बुढेसकाल यो ठाउँमा कति कष्टप्रद होला ? ’ उनले हत्तपत्त जवाफ दिइन्, ‘होइन, विकास भएको छ नि। हेर्नोस् त, ऊ त्यहाँ बाटो आइसक्यो।’ सदरमुकामको त्यो बाटोमा पुग्न अरूका घरआँगन र बारीका कान्ला हुँदै १० मिनेटजति हिँड्नु पथ्र्यो। कुनै घरले आफ्नो परिसरमा पर्खाल लगायो भने त्यही कान्ला भएर हिँड्ने बाटो पनि अवरुद्ध हुने स्थिति थियो। तर ती महिलाका पति भन्दै थिए, ‘पर्खाल लगाए भने तीनचार ठाउँमा मात्र समस्या पर्छ। सबै ठाउँमा पर्दैन।’ सदरमुकाममा एउटा धुलाम्य साँगुरो ट्र्याक खोलिएकोमा पत्नी दंग थिइन्। पति त्यही ट्र्याकमा पुग्नका लागि कुनै पनि बेला अवरुद्ध हुन सक्ने कान्ला र आँगन हुँदै हिँड्नुपर्ने बाटोबारेमा निश्चिन्त थिए। एक ठाउँमा अवरुद्ध हुँदा त बाटो रोकिन्थ्यो, उनी तीनचार ठाउँमा अवरुद्ध हुने स्थिति हुँदा पनि खुसी थिए।

साँझपख जम्मा भएका कयौं युवा, आम सर्वसाधारण र नागरिक अगुवासँग विभिन्न ठाउँमा अन्तरक्रिया गरें। कहीं उनीहरू जस्ताले बारेको सानो चियापसलमा जम्मा भएका थिए। कहीं पीपल हुनाले बचेको रूखमुनि बसेर भलाकुसारी गरिरहेका थिए। विभिन्न कोणबाट कुराकानी भए तर केहीमा बाहेक अधिकांशमा अनौठो निश्चिन्तता थियो। यो देशको सरकार अलि इमानदार र सक्षम भएको भए उनीहरूजस्ताले बारेको सानो चियापसलमा होइन, सफा बजार र फराकिलो चोकको एउटा सुन्दर पसलमा बसेर चिया पिइरहेका हुन्थे भन्ने उनीहरूमा अनुभूति नै थिएन। वरिपरि घरले घेरेर साँघुरिएको पीपल रूखको चौतारीमा बसेका ज्येष्ठ नागरिकमा भ्रष्टाचाररहित र सुशासनयुक्त सरकार भएको भए उनीहरू सुन्दर पार्कका बेन्चमा बसेर हरियो चौरमा उफ्रिरहेका नातिनातिना हेरेर रमाइरहेका हुन्थे भन्ने भावना नै थिएन। युवाहरूमा केही वर्षमा स्नातक या स्नातकोत्तरको पढाइ पूरा भएपछि के गर्ने भन्नेबारे कुनै स्पष्टता थिएन। अलिकति मात्र विकसित देश भइदिएको भए उनीहरूले लगाउने लुगा, जुत्ता, बोक्ने मोबाइल फोन सबैको गुणस्तर उच्च हुन्थ्यो र पढाइ पूरा भएपछि सामान्यभन्दा सामान्य रोजगारबाट पनि उनीहरूको जीवन राम्रोसँग व्यतीत हुन सक्थ्यो भन्ने उनीहरूको मनमै थिएन। तर दोष उनीहरूको हुँदै होइन।

भविष्यको खुसीको दायरा विगत र वर्तमानमा देखेको, भोगेको खुसीले निर्धारण गर्छ। जब जन्मिएदेखि हामीले देखेको, भोगेको खुसीको दायरा नै साँघुरो छ भने हाम्रो ‘संवृद्धियुक्त खुसी’ का परिकल्पना साँघुरो हुने नै भए। जे देखेकै छैन त्यो मान्छेलाई परिकल्पना गर्न गाह्रो हुन्छ। २०७२ सालको भूकम्पपछिको एउटा सानो अनुभव उल्लेख गरौं, जतिबेला म बीबीसीमै कार्यरत थिएँ। भूकम्पपछि जताततै अस्थायी शिविरहरू बनेका थिए। त्यसमध्येको एउटामा एक दिन अन्तर्वार्ताका लागि गएको थिएँ। एउटा साँघुरो कटेरो यस्तो थियो, जहाँ मान्छे ठाडो उभिन सक्दैनथ्यो। बत्ती थिएन, दिउँसै भित्र अँध्यारो देखिन्थ्यो। त्यहाँ करिब एक महिनाअघि सुत्केरी भएकी लगभग २५ वर्षकी महिला थिइन्। त्यो साँगुरो, अँध्यारो कटेरोमा उनी, उनका नवजात शिशु र उनका पति मात्र होइन, उनका देवर, जेठान, उनीहरूका पत्नी, पतिका बुवाआमा सबै लहरै सुत्दा रहेछन्। त्यहाँ कति कठिनाइ होला भन्ने सहजै अनुमान गर्न सकिन्छ। तर ती महिला भन्दै थिइन्, ‘खासै दुख छैन। सहयोगीहरूले खानेकुरा, पानी, आवश्यक परे औषधि सबै ल्याइदिन्छन्।’ उनका लागि नियमित रूपमा खानेकुरा, पानी र आवश्यक पर्दा औषधि पाउनु नै ठूलो खुसी थियो। कुरा गर्दै जाँदा प्रस्ट भयो– उनले विगतमा ती तीनै कुरा पाउनका लागि सधैं कष्ट बेहोरेकी रहिछन्।

नेपालमा कयौं बस्तीहरू यस्ता छन्, जहाँ भात खान पाउनु दसैं आएसरहको खुसी हो। कयौं नागरिक यस्ता छन्, जसका लागि पाँच वर्षमा एउटा नयाँ लुगा किन्न पाउनु अपार हर्षको विषय हो। लाखौं युवा यस्ता छन्, जसका लागि मलेसिया, कतार या कोरिया जान पाउनु मुक्तिको अनुभूति हो। कयौं परिवार यस्ता छन्, जसका लागि तीन कोठाको घर बनाउन सक्नु जीवनकै सबैभन्दा ठूलो उपलब्धि हो। सोही प्रवृत्ति समाजको हकमा पनि लागू हुन्छ। सुदूर पश्चिममा मात्र होइन, ठूलो संख्यामा नेपाली जनता कालो पोलिथिन पाइपमा आएको पानीमा दुःख पखाल्छन्। मिरमिर बलेको बत्तीमा उज्यालो देख्छन्। भविष्यको कुनै सोच र योजना नराखी डोजरले खोलिदिएको बाटोमा विकासको सपना बुन्छन्।

मेरा बुवाआमा पुस्ताका अधिकांशले त्यति पनि गर्न पाएनन्। उनीहरूको खुसी त्यतिबेला जे देखे त्यसैमा सीमित थियो। अहिलेको पुस्ताले कालो पोलिथिनको पाइप, मिरमिरे बत्ती र डोजरे विकास देख्यो र आमरूपमा हाम्रो सपना त्यसैभित्र रुमलिइरहेको छ। हामीलाई वरिपरिका बेथितिले हतपत छुँदै छुँदैन। किनभने जन्मेदेखि नै हामीले त्यही देखेका छौं।

रूपान्तरणको वाधक ‘भाग्यवादी खुसी’ लाई रूपान्तरणमुखी ‘संवृद्धियुक्त खुसी’ मा बदल्ने प्रमुख जिम्मा नेतृत्वको हो। तर हामी एउटा यस्तो घातक चक्रमा फसेका छौं, जहाँ ‘भाग्यवादी खुसी’ मा बाँचेका नागरिक यथास्थितिको घेराबाट बाहिर निस्कन अनिच्छुक छन् र ‘संवृद्धियुक्त खुसी’ तर्फ देशलाई डोर्‍याउने अभिभारा बोकेका नेतृत्वकर्ता महाभ्रष्ट र अक्षम छन्। तर लोकतन्त्र यस्तो व्यवस्था हो, जसले त्यो घातक चक्र तोड्न सक्छ। त्यसका लागि पहिलो पाइला गाउँका असहाय जनताले होइन, हरेक टोल र बस्तीका सचेत नागरिक र नागरिक अगुवाहरूले चाल्नुपर्छ, जसको असर स्वाभाविक रूपमा सबैतिर फैलिन्छ।

अब उनीहरूको सपनाको दायरा फराकिलो हुनुपर्‍यो। उनीहरूको सोच बदलिन पर्‍यो। ‘मचाहिँ बदलिन्न, अरू बदलिऊन् र देश बनाऊन्’ भन्ने कामना मात्र गर्ने हो भने स्पष्ट छ– हाम्रो पुस्ता मात्र होइन, भावी पुस्ताले पनि संवृद्धियुक्त खुसीको अनुभूति गर्न पाउने सम्भावना न्यून छ। सुदूर पश्चिमको पीडा सिंगो देशको पीडा हो। त्यसलाई बदल्ने कि नबदल्ने हाम्रै हातमा छ।


मिश्र साझा पार्टीका संयोजक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.