कार्यकर्ता र आफन्तलाई बजेट
कालिकोट : प्रदेश सरकारले जिल्लाको बजेट दलका कार्यकर्ता र आफन्तलाई वितरण गरेको छ। जिल्लामा विभिन्न योजनाका लागि आएको प्रदेश सरकारको बजेट मन्त्रीका आफन्त र दलका कार्यकर्तालाई वितरण गरिएको हो। चालु वर्षका लागि कालिकोटमा पठाइएका दर्जनौं योजनाको बजेट दलका कार्यकर्तालाई वितरण गरिएको छ।
जिल्लाको रास्कोट नगरपालिकामा निर्माण गर्न लागिएको हाइटेक नर्सरीको बजेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा कार्यरत सुरेन्द्र शाहीको सिमनाथ सहकारीलाई दिइएको छ। झन्डै एक करोड लागतमा निर्माण हुने यो नर्सरी स्थानीय किसान पुष्प बरालको हिमालयन हिउँदे फलफूल नर्सरी उद्योगलाई लत्याएर मुख्यमन्त्रीको सचिवालयमा कार्यरत सुरेन्द्र शाहीलाई दिइएको हो। उनी सिमनाथ सहकारीको कोषाध्यक्ष हुन्।
हिमालयन हिउँदे फलफूल नर्सरी उद्योगका सञ्चालक बरालले भने, ‘जिल्ला कृषि ज्ञान केन्द्रका कर्मचारीले अनुगमनमा आउँदा हाईटेक नर्सरी मेरो उद्योगले पाउने बताएका थिए, ठाउँ पनि उपयुक्त थियो। तर, नेताका आफन्तले पो जिम्मा पाएछन्।’ रास्कोटमै निर्माण हुन लागेको रास्कोट रंगशाला निर्माणको बजेट पनि मुख्यमन्त्रीको सचिवालयमै कार्यरत ध्वजबहादुर शाहीले पाएका छन्। उनलाई रातारात उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ।
नगर भेलाले रंगशाला निर्माण हुने स्थानको जग्गा धनी सरिता बमलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने सिफारिस गरेको थियो। तर, त्यसलाई उल्ट्याएर मुख्यमन्त्रीको सचिवालयमा कार्यरत शाहीलाई अध्यक्ष बनाइएको हो। यो रंगशाला निर्माणका लागि एक करोड बजेट छ। तत्कालीन रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सरिता बमले भनिन्, ‘नगर भेलाबाट अध्यक्ष म भएर सम्झौता गर्न तीन पटकसम्म सुर्खेत गएँ। तर सम्झौता गर्न मानेनन्। अन्त्यमा मैले अध्यक्ष छाडेपछि योजनाको सम्झौता भयो। मुख्यमन्त्री सहितको पावरले मलाई अध्यक्ष बन्न दिइएन।’ आफू फरक दलको भएकै कारण योजनाको सम्झौता गर्न प्रदेश सरकारले आनाकानी गरेको उनको गुनासो छ।
हाइटेक नर्सरीको बजेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा कार्यरत सुरेन्द्र शाहीको सिमनाथ सहकारीलाई दिइएको छ।
यस्तै जिल्ला कृषि ज्ञान केन्द्र कालिकोटका अनुसार कर्णाली प्रदेश सरकारकै एक करोड बजेट रहेको रास्कोट नानिकोट खडितोली ग्रामीण कृषि सडक निर्माणको बजेट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको वडाका नेकपाका नेता ललितजंग शाहीको सहकारीलाई दिइएको छ। प्रदेश सरकारको बजेट आउने भनेपछि रातारात सहकारी स्थापना गरेर मुख्यमन्त्रीको सचिवालयकै दवावमा तत्कालीन माओवादीका नेता शाहीको सहकारीलाई बजेट दिइएको हो। यस्तै पलाँताको बेलकेढुंगा, राडुनेटा ग्रामीण कृषि सडक पनि तत्कालीन माओवादीका नेता विष्णु रोकायाको सहकारी, शान्नित्रिवेणी गाउँपालिकामा अर्गानिक उत्पादनमा झन्डै डेड करोडको कार्यक्रम तत्कालीन एमालेका सचिवालय सदस्य हेमराज सञ्ज्याल र महावीर बमलगायत नेतालाई दिइएको छ।
जिल्ला कृषि ज्ञानकेन्द्र कालिकोटका प्रमुख भरत बस्नेतले प्रदेशका योजना वितरणमा आफूलाई निकै सकस भएको बताए। उनले भने, ‘कोही चस्मा फुटाउन आए, कोहीले विभिन्न बहानामा धम्काए। जसोतसो मिलाएर योजना वितरण गरेका छौँ।’ जिल्लाका अन्य स्थानीय तहमा पनि योजना वितरण गर्दा प्रदेश सरकारसँग जोडिएका व्यक्तिको दबाबमा वितरण भइरहेको स्थानीयको गुनासो छ।