पहिलो सगरमाथा विजयका अन्तिम साक्षी

पहिलो सगरमाथा विजयका अन्तिम साक्षी

विश्वको सर्वोच्च शिखरको फेदीमा बसेर ८६ बर्से कान्छा शेर्पाले पर्यटनबाट जीवनमा आएका परिवर्तन राम्ररी नियालेका छन्।


- फ्रेडी विल्किन्सन

नाम्चेबजार : एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले गरेको सगरमाथा विजयको कथा किम्वदन्ती बनिसकेको छ। तर ६६ वर्षअघिको त्यो मादक आरोहण अभियानको रोमान्चकता र जोश तथा त्यसले सगरमाथा मुन्तिर बस्ने स्थानीय समुदायमा ल्याएको चामत्कारिक परिवर्तन एउटा मानिसको सम्झनामा अझै जीवन्त र ताजा छ। ती हुन् कान्छा शेर्पा, जो सन् १९५३ मा सगरमाथाको सफल आरोहण गर्ने बेलायती टोलीका जीवित रहेका अन्तिम शेर्पा।

‘त्यसबेला अहिलेभन्दा कति फरक थियो’, उनी भन्छन्। मुजैमुजा परेको अनुहार तर चम्किला आँखा भएका ८६ बर्से हजुरबा भइसकेका छन् कान्छा। ‘त्यसबेलाका पोसाक, औजार अहिलेका जस्ता कहाँ थिए र ! पकाउन पनि मट्टितेल मात्रै पाइन्थ्यो’, कान्छा एकैछिन टक्क अडिएर दुईटा औंलाले आफूले लगाएको फ्लिस ज्याकेट सुम्सुम्याउँछन्। ज्याकेटबाहिर उनले घाँटीमा प्रार्थना गर्ने माला पहिरिएका छन्।

खुम्बू क्षेत्रको मुख्य व्यापारिक केन्द्र नाम्चे बजारमा नै कान्छाले आफ्नो पूरै जीवन बिताए। करिब १५ सय जतिको बसोबास भएको नाम्चेमा सय वर्षअघि जसोतसो कठिन जीवनयापन हुन्थ्यो भने अहिले शेर्पा जीवनशैलीको पर्याय बनेको नाम्चे बजार बयान गर्न लायक छ। ठेलमठेल साँघुरा ढुंगेगल्लीमा पर्यटकको घुइँचो, इन्टरनेट क्याफे, उपहार पसल र कफी हाउसतिर बराल्लिइरहेका पदयात्री अनि गल्लीछेउ चारतले भव्य लजहरू, यही हो नाम्चेको रमझम। बर्सेनि दशौं हजार अन्तर्राष्ट्रिय पर्यटक खुम्बू उपत्यका आउँछन् र कुल मिलाएर यसैले नै नाम्चेवासी समृद्ध भएका छन्।

सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेको टोली। कान्छा अन्तिम लाइनमा दाहिनेबाट दोस्रोमा छन्। फोटोः अलफ्रेड ग्रेगोरी/रोयल जियोग्राफिकल सोसाइटी


कान्छा जन्मिँदा ताकाको निर्धन नाम्चे–जीवन र अहिलेको नाम्चेमा आकाश पातालको अन्तर छ। ‘हामी निर्धन थियौं र अन्न पनि थोरै हुन्थ्यो’, निर्वाण होम लजको सबैभन्दा माथिल्लो तलाको आफ्नो सुत्नेकोठामा उनी शेर्पा, नेपाली र अंग्रेजी मिसिएका वाक्यमा सम्झन्छन्। यो लज नै पत्नीसँग मिलेर उनले थालेको पारिवारिक व्यवसाय हो। भित्ता उनको युवा वय सम्झाउने पुराना तस्बिर र निसानीहरूले सजिएको छ, अनि छ हिलारीको हस्तलिपीमा एउटा कागजको पाना पनि। ‘हुनेहरू आलु खान्थे, नहुनेहरूसँग त आलु पनि हुँदैनथ्यो’, कान्छा स्मरण गर्छन्, अधिकांश शेर्पा त खानेकुराका लागि वनजंगलमा च्याउ र गिठ्ठाभ्याकुर खोज्न जाने गरेको उनलाई हिजैजस्तो लाग्छ।

नाम्चेको एउटा किशोर कान्छालाई भने खुम्बू उपत्यकाको शिरमा अवस्थित दैत्याकार चोमोलोङमा विश्वको सबैभन्दा अग्लो हिमाल हो भन्ने पनि थाहै थिएन। तर यो सबै फेरियो, जब सन् १९५२ मा स्विसहरूले पश्चिमाहरूले एभरेस्ट भनेर पुकार्ने चोमोलोङमा चढेरै छाड्ने अठोटसहित दुईपल्ट आरोहण अभियान गरे। त्यसबेला १९ बर्से लक्का जवान कान्छाले स्विसहरूको टोली नाम्चेबाट उकालो लागेको देखे अनि देखे उनीहरूसँग गइरहेका तेन्जिङ नोर्गेलाई, जो आरोहण अभियानमा सामेल उच्च पर्वतीय भरियाहरूका एक चामत्कारिक सरदार (अगुवा) थिए।

कान्छा शेर्पा। बिना कुनै अनुभव उनले पहिलो टोलीसँग सगरमाथा आरोहण गरेका थिए।फोटोः फ्रेडी विल्किन्सन/नेसनल जियोग्राफिक


‘तेन्जिङ हाम्रा लागि राजाजस्तै थिए, एक जना औधी महत्वपूर्ण मान्छे’, अहिले कान्छा भन्छन्। त्यतिबेला तेन्जिङ भने उमेरको तेस्रो दशकको नेटोतिर थिए र उनको ख्याती हिमालका सर्वश्रेष्ठ रैथाने पथप्रदर्शकका रूपमा विश्वभरि नै फिँजिइसकेको थियो। तेन्जिङलाई त्यसरी स्विस दलसँग देखेकै वर्ष सामानले भरिएको एउटा गह्रौं डोको बोकेर नाम्चेतिर उक्लिरहेका कान्छाको जम्काभेट गोराहरूका जस्ता पहिरनमा ठाँटिएर ओरालो झर्दै गरेका तीन जना शेर्पासँग भयो। ‘मैले उनीहरूसँग सोधें– हैन, तिमीहरूले यस्ता ज्याकेट किन्ने पैसा कसरी पायौ ?’, कान्छाले बताए, ‘अनि उनीहरूले भने– दार्जिलिङमा, तेन्जिङ नोर्गेसँग काम गरेर।’ त्यसपछि कान्छाले दार्जिलिङ भाग्ने निश्चय गरे।

दुई जना साथीसँग कान्छा पूरा चार दिन हिँडेर बल्लतल्ल भारतीय सीमावर्ती सहर दार्जिलिङ पुगे र घर खोज्दै तेन्जिङकहाँ पुग्दा दार्जिलिङले अँध्यारोको बर्को गम्लङ्ग ओढिसकेको थियो। ‘तेन्जिङ झ्यालबाट टाउको निकालेर हामीलाई सोध्छन्– लौ आ–आफ्ना बाबुका नाम बताऊ त तिमीहरू।’ तेन्जिङले कान्छाका बाबुलाई राम्रैसँग चिन्थे, उनले कान्छालाई भित्र डाके। उनका दुई साथीलाई भने अन्यत्रै काम खोज्नु भन्दिए।

तेन्जिङले कान्छालाई नयाँ लुगा किन्दिए अनि ३ महिनाजति कान्छा तेन्जिङको घरमा पानी ओसार्ने, लुगा धुने र भान्सामा सघाउनेजस्ता घरधन्दामा व्यस्त भए। ‘त्यसपछि एक दिन तेन्जिङले एक्कासि भने– कान्छा हामी अब काठमान्डू जाँदै छौं र त्यहाँबाट चोमोलोङमा।’

कान्छासँग पर्वतारोहणको कुनै अनुभव नभए पनि उनी काम पाइने भो भनेर रोमान्चित भए। ज्याला थियो, दिनको ५ रुपैयाँ, जुन उनले खुम्बू वरिपरि सामान बोक्दा पाउने ज्यालाको चौबर थियो। काठमान्डूमा बेलायतीहरूसँग उनीहरूको भेटघाट भयो। कान्छाले कुनै अंग्रेजसँग मुखामुख भेटेको यो नै पहिलो पटक थियो। ‘अंग्रेजहरू, उनीहरूका गोला आँखा, कैलो कपाल थियो अनि हिलारी– उनी साह्रै अग्ला थिए’, कान्छाले सम्झँदै भने।

चोमोलोङमा पुगेपछि अनुभवी शेर्पाहरूले कान्छालाई क्राम्पोन लगाएर हिउँमा कसरी हिँड्ने र आइस एक्स (हिउँबन्चरो) कसरी प्रयोग गर्ने देखाए, सिकाए। ‘आइसफल डरमर्दो थियो, तर हामीले ती बडेमानका धाँजा (क्रेभास) पार गर्न आफूसँग मुढाहरू लगेका थियौं’, मुसुक्क हाँसेर सुस्तरी शिर झुलाउँदै कान्छाले भने।

अधिकांश शेर्पाजस्तै कान्छा पनि व्यक्तिगत सन्तुष्टिका लागि नभएर कमाउन सगरमाथा चढ्दै थिए। सन् १९५३ को शेर्पाको टोलीका लागिसबैभन्दा ठूलो पुरस्कार थियो ३ सय रुपैयाँको बोनस, जुन साउथ कोलसम्म भारी बोकेर सामान पुर्‍याएबापत अंग्रेजहरूले दिने बाचा गरेका थिए। आरोहण दलका नेता जोन हन्टको यो बाचा एउटा रणनीतिक कदम थियो, जसलाई साउथ कोलमा अक्सिजनका बोतल र अन्य आवश्यक सरसामान लगेर राख्नु आरोहण टोलीको सफलताका लागि कति महत्वपूर्ण छ भनेर राम्ररी थाहा थियो।

मे २१ सन् १९५३ को साँझ, कान्छाले आफूलाई १३ जना अरू शेर्पा र ३ जना साहेबहरू (अंग्रेज) सहित कैयौं टेन्टमा कोच्चमकोच पाए। यो सगरमाथा आरोहणको सातौं शिविर थियो, जुन ल्होत्सेको पनि निकै उचाइमा थियो र साउथ कोल पुग्न त्यहाँबाट अझै ठ्याम्मै एक दिन उक्लन बाँकी नै थियो। तालिकाअनुसार शेर्पाहरूको एउटा टोली त्यस दिन साउथ कोल उक्लनुपर्ने थियो, तर बिहान उनीहरू यति धेरै डराएका थिए कि शिविरबाट निस्कनै मानेनन्। यसबाट आपत पर्ने बुझेर तेन्जिङ र हिलारी ती थकित शेर्पाहरूलाई फकाइफुल्याइ जोश भरेर माथि पठाउन तलबाट उक्लिए।

सगरमाथा शिखरमा हिलारी र नोर्गे । फोटोः अलफ्रेड ग्रेगोरी/रोयल जियोग्राफिकल सोसाइटी


तेन्जिङको दृढ नेतृत्व अझै कान्छाको स्मृतिमा ताजा छ।  ‘उनले चिया पकाएर हामीलाई खुवाए, केही स्न्याक्स (खाजा) पनि दिए। केही शेर्पाको पैताला हिउँजस्तै चिसा भइसकेका थिए, त्यसैले उनले उनीहरूका पैताला तताउन मालिस गरे.....तेन्जिङ, उनी साह्रै बलिया र दृढ मानिस थिए, तर शेर्पाका लागि भने साह्रै दयालु पनि थिए।’

भोलिपल्ट कान्छाले हिलारी र तेन्जिङलाई पछ्याउँदै साउथ कोल उक्लिए र हावाले भुत्ल्याएको भञ्ज्याङमा ५० पाउन्डभन्दा बढी वजनका उपकरणहरूको भारी थान्को लगाए।

हिलारी र तेन्जिङले शिखरमा पहिलो मानव पाइला टेक्दा कान्छा दोस्रो शिविरमा थिए। ‘अहिलेजस्तो रेडियो थिएन, त्यसैले हामी खाली पर्खेर मात्र बसिरहेका थियौं। जब उनीहरू तल उत्रिए अनि खुसीयाली मनायौं, अँगालो मार्‍यौँ।’ उनलाई अहिले पनि एउटा कुराले मनमा चसक्क घोच्छ– सगरमाथामा उनीहरूको टोलीले छाडेको खानेकुराको रास सम्झेर। ‘हामीले दोस्रो शिविरमा खानेकुराको रास नै छाड्यौं– बिस्किट, डिब्बाबन्द मासु, चिया र गुलिया खानेकुराहरू......’, उनले भने।

पत्नीले सन् १९७३ मा ज्यानकै जोखिम हुने यस्तो काम छाड्नु भनेर नसम्झाउन्जेल कान्छाले उच्च हिमाली भेगको भरिया काम गरिरहे। केही वर्षयता भने उनी नाम्चेका सेलिब्रेटी बनेका छन्। उनी नाम्चेमा पर्यटकका लागि ‘स्पिकिङ प्रोग्राम’ चलाउँछन्, उनलाई फिचर गरी निर्मित लघु फिल्म ‘स्टोरी टाइम विद कान्छा’ को गुगलले प्रायोजन पनि गर्‍यो।

उनले शेर्पा संस्कृति संरक्षण गर्न र शेर्पालाई शैक्षिक अवसर जुटाउन समर्पित उनकै नामको संस्था स्थापना गर्न सहयोग गरेका छन्। उनका ८ नातिनातिनामध्ये तेन्जिङ चोग्याल शेर्पाले ‘ग्लेसियोलजी’ मा स्नातकोत्तर गरिसकेका छन्। उनी अहिले ‘नेसनल ज्योग्राफिकको २०१९ एभरेस्ट एक्सपेडिसन’ को सदस्यका रूपमा जलवायु परिवर्तनबारे अध्ययन दलमा सामेल छन्।

‘पर्यटन शेर्पाहरूका लागि त ठीक छ..... तर यो देउताका लागि भने ठीक छैन’, बनावटी हाँसोसहित भन्छन् कान्छा। उनी कोठाको झ्यालबाट बाहिर देखिने दैत्याकार पर्वत र तल गल्लीमा देखिने असंख्य पर्यटकतिर संकेत गर्छन्।

‘म केटाकेटी हुँदा जाडोमा कैयौं फिट हिउँ जम्थ्यो। अहिले सबै टाकुरा काला भइसके, यो राम्रो संकेत होइन’, उनले भने।


(नेसनल ज्योग्राफिकका लागि फ्रेडी विल्किन्सन यतिबेला सगरमाथाको आधार शिविर र त्यस वरिपरिका क्षेत्रबाट रिपोर्टिङ  गरिरहेका छन्। अनुवाद : एसके पोखरेल डकुसी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.