आरोहण असुरक्षाका मूल कारण
बीबीसी । लन्डन : दुई दशकयता सगरमाथामा मृत्यु हुने आरोहीको औसत बर्सेनि ६ जना थियो। तर यसपालीको वशन्त याममा विश्वको सर्वोच्च शिखरमा कम्तीमा १० जनाको मृत्यु भएको वा हराएको समाचार बाहिर आएका छन्।
यही याममा नै नेपाल सरकारले ३ सय ८१ जनालाई सगरमाथा आरोहणको अनुमति दियो। यसको अर्थ ती ३ सय ८१ आरोहीसँगै उनीहरूका करिब ६ सय जना आरोहण सहयोगी पनि सगरमाथा चढ्ने तयारीमा थिए। यस वर्ष सगरमाथामा बढेको मृतक संख्याको कारण पर्वतारोहीको अत्यधिक भीड भनिए पनि मृत्यु संख्या बढ्नुका अन्य चार कारण पनि थिए।
कारण एक : मौसमी प्रतिकूलता
अधिकांश पर्वतारोही मेको सुरुवातमा आधारशिविरमा भेला हुन थालेका थिए। जतिबेला सरकारी अधिकारीहरू भारत र बंगलादेशमा विध्वंश मच्चाइरहेको समुद्री आँधी फणीले पार्नसक्ने असरबारे चिन्तित थिए।
फणी सकिएको केही दिनपछि मात्र नेपालको हिमाली क्षेत्रमा मौसम बिग्रियो। र सरकारले कम्तीमा २ दिन पर्वतारोहणसम्बन्धी सबै गतिविधि स्थगन गर्न बाध्य भयो। त्यसको संकेत आधारशिविरका करिब २० टेन्ट हुरीले उडाएर दियो। माथिल्ला शिविर उक्लिरहेका आरोहीहरू पनि आधारशिविर फर्कन बाध्य भए। खराब मौसम लम्बिनुको अर्थ डोरी टाँगेर शिखरसम्म आरोहण मार्ग तयार पार्न ढिलाइ भयो। यसबीच आधारशिविरमा आरोहीको भीड भने बढ्दै गयो।
नेपाल र चीनको सीमामा स्थित सगरमाथाको चुचुरोमा दुवैतिरबाट उक्लिन सकिन्छ। तर चीनले थोरैलाई मात्र आरोहण अनुमति दिने र आरोहण नेपालतर्फबाट भन्दा सहज भएकाले पर्वतारोहीहरू उताबाट सगरमाथा चढ्न खासै रुची देखाउँदैनन्।
मे आधाउधितिर डोरी टाँगिसकेपछिको आरोहण अनुकूल पहिलो ‘वेदर विन्डो’ थियो– १९ र २० मे। तर त्यो समयमा थोरै मात्र दल सगरमाथा आरोहणमा गए। धेरैजसो भने मे २२–२४ को दोस्रो अनुकूल ‘वेदर विन्डो’ कुरेर बसे।
कारण दुई : आरोहीको अव्यवस्थित भीड
पर्वतारोहण विशेषज्ञहरू यसपल्ट मृतक संख्या बढ्नुको एउटा कारण आरोही व्यवस्थापन गर्न नसक्नु पनि हो भन्छन्। २३ मे एकैदिन सगरमाथामा अढाइ सयभन्दा बढी आरोहीको ठेलमठेल थियो। चुचुरोभन्दा ठ्याक्कै मुन्तिर आरोहीहरूले उक्लन र ओर्लन घन्टौं पर्खिनु परेको थियो। पर्खनुपर्दा उनीहरूमध्ये धेरैजसो थाकिसकेका थिए र अक्सिजन पनि सकिँदै गयो।
नेपालको पर्वतारोहण कानुनले हरेक आरोहण दलसँग एक जना सम्पर्क अधिकृत हुनै पर्ने व्यवस्था गरेको छ। यसपल्ट दलहरूसँग गएका ५९ जना सम्पर्क अधिकृतमध्ये आरोही शिखरमा पुगुन्जेल ५ जनामात्र आधारशिविरमा बसेका थिए।
केही त आरोहण दलसँग जाँदै गएनन्, अधिकांश भने आधारशिविरमा एक/दुई दिन बसेर घरतिर लागे। दलसँग जाने अधिकृत पर्वतारोहणको कुनै अनुभव नभएका सरकारी अधिकारी हुन्छन्, जसलाई त्यति धेरै उचाइ अनुकूल हुन कठिन हुन्छ। आरोहण दलले उनीहरूको सबै खर्च बेहोर्ने भएकाले उनीहरू घरमै बस्न रुचाउँछन्।
यदि सबै सम्पर्क अधिकृत आधारशिविरमा बसेर आरोहीको भीड व्यवस्थित गरिदिएको भए यस्तो स्थिति नआउने आधारशिविरमा रहेका एक वरिष्ठ अधिकारीले बीबीसीसँग भने। ‘हामीले दलहरूलाई अनुकूल मौसम ‘विन्डो’ अनुसार पठाउन सक्थ्यौं र दोस्रो ‘विन्डो’मा आरोहीको चाप निकै कम हुन्थ्यो’, उनीहरूले भने, ‘एक÷दुई जना सम्पर्क अधिकृत मात्र यहाँ बसेकाले उनीहरूलाई त्यति धेरै आरोही व्यवस्थापन गर्न साह्रै कठिन भयो।’
सम्पर्क अधिकृतहरू आधारशिविरसम्म पनि नजाने र गए पनि नबस्ने प्रवृत्तिले नेपालको पर्वतारोहण उद्योग वर्षौंदेखि रुग्ण बनाएको छ। पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यले यसपल्ट ८० प्रतिशत सम्पर्क अधिकृत आधारशिविर गएको दाबी गरिन्। ‘तर उनीहरू सबै त्यहाँ धेरै समय नबसेको म स्विकार्छु। हामी यो समस्या थाहा छ र सुल्झाउने प्रयास गरिरहेका छौं’, उनले भनिन्, ‘हामीले किलिमान्जरोमा पनि आरोहीको मृत्यु भएको सुनिरहेका छौं तर किन सगरमाथाको मात्र चर्चा गरिन्छ ?’
कारण तीन : अनुभवहीन आरोही
पर्वतारोहण विशेषज्ञहरूका अनुसार सगरमाथा चढ्ने आरोहीको भीडमा अनुभवहीनको संख्या बढ्दै गएको छ। हिजोआज एउटा आरोहण दलले एक जनामात्र शेर्पा पथ प्रदर्शक लिएर जाने गरेको आधारशिविरमा रहेका एक अधिकारीले बताए। ‘जब यस्ता जोखिमपूर्ण स्थिति आइपर्छन्, एक जना शेर्पाले आरोहीहरूलाई धेरै मद्दत गर्न सक्दैनन् किनभने उ आफू पनि सुरक्षित हुनुपर्छ।’
आरोहण गरी फर्कन सफल केही आरोहीले धेरै आरोही अक्सिजनको कमीले हिँड्न संघर्षरत रहेको र त्यसमाथि धेरै समय पर्खनुपरेको देखेको बताए। ‘शिखर टेकेर घर फर्कन आतुर आरोहीको नयाँ पुस्तालाई सगरमाथा चढ्नु र मकालु चढ्नुमा के फरक छ भन्ने पनि थाहा छैन’, अनुभवी पर्वतारोही तथा पर्वतारोहणसम्बन्धमा लेखिरहने एलन आर्नेटले भने, ‘उनीहरू र्यान्डमली सीमित सुविधायुक्त एउटा दलमा सामेल हुन्छन् र स्वतन्त्र तवरबाट आरोहणमा उद्यत हुन्छन्। उनीहरू आरोहणका जोखिम मूल्यांकन गर्न सक्दैनन्।’
अनुभवी पर्वतारोहीहरूले नेपाल सरकारसँग सगरमाथा आरोहणका लागि केही निश्चित मापदण्ड तोक्न लामो समयदेखि आग्रह गर्दै आएका छन्। जसमा आरोहीले कम्तीमा पनि ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेको हुनुपर्ने उनीहरूले सुझाएका छन्।
कारण चार : आयोजकबीच प्रतिस्पर्धा
पुराना हुन् वा नयाँ आरोहण आयोजक कम्पनीहरूबीच थोरै खर्चमा आरोहण गराउने तीव्र प्रतिस्पर्धाले पनि आरोहीहरू धेरै रकम तिर्न चाहँदैनन्। अझ पर्वतारोहण गराउने नयाँ कम्पनीहरूले सस्तो अफर गर्ने भएकाले पुराना ख्यातीप्राप्त कम्पनी पनि शुल्क घटाउन बाध्य भएको बताउँछन् पर्वतारोहीहरू।
‘परिणामस्वरुप कम्पनीहरूले अनुभवहीन व्यक्तिलाई पथप्रदर्शक छान्छन्, जसले अहिलेको जस्तो स्थिति आउँदा आरोहीलाई उचित मार्गदर्शन गर्न सक्दैनन्’, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका उपाध्यक्ष छिरिङ पान्डे भोटे भन्छन्, ‘दुर्भाग्यवश यस्तो प्रतिस्पर्धा आरोही संख्या बढाउनमा मात्र केन्द्रित छ, स्तरीय आरोहणका लागि होइन।’
आयोजक कम्पनीहरू पनि यस्ता समस्या रहेको स्विकार्छन् तर उनीहरू पर्वतारोहण उद्योग विस्तारका लागि संख्या बढाउन आवश्यक रहेको तर्क गर्छन्। ‘उदाहरणका लागि अर्को वर्ष नेपाल भ्रमण वर्ष मनाइँदैछ, जसले २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएको छ’, एक्सपेडिसन अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष डम्बर पराजुली भन्छन्, ‘त्यसैले हामीले पर्वतारोहीसहित सकेसम्म धेरै पर्यटक भिœयाउनै पर्छ तर हाम्रो मुख्य समस्या नै यसपल्टको जस्तो ट्राफिक जाम कसरी व्यवस्थापन गर्ने बनेको छ।’
(बीबीसी वल्र्ड सर्भिसका वातावरण सम्वाददाता नवीनसिंह खड्काले लेखेको समाचारको अनुवाद।)