६ सयले चढे सगरमाथा
काठमाडौं : यो वर्ष करिब ६ सय जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागबाट अनुमति लिएका ४४ आरोहण दलका ३ सय ८१ आरोही, उनीहरूका सहयोगी शेर्पा, सरदारसहितले सगरमाथा आरोहण गरेको पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यले जानकारी दिइन्। उनका अनुसार पर्यटन विभागले ७५ दिनका लागि आरोहण अनुमति दिने गरेको छ।
‘आरोहण अनुमति लिएर जानेले मे ३१ सम्म नै शिखर चुम्म सक्ने भएकाले केही व्यक्तिले गर्ने सम्भावित आरोहण मात्रै बाँकी होला। नत्र यो वर्षको आरोहण सकियो’, आचार्यले भनिन्। अब यकिन तथ्यांक भने आरोहणबाट फर्किएका आरोहीसहितको टोलीले गर्ने डी ब्रिफिङपछि मात्रै भन्न सकिन्छ। अहिलेलाई अनुमानित तथ्यांक मात्रै भन्न सकिने विभागको भनाइ छ।
विभागका अनुसार अनुमति लिएर गएका ४४ वटै टोली प्रमुख र सरकारले खटाएका सम्पर्क अधिकृतले दिने ब्रिफिङपछि मात्रै आरोहिले प्रमाणपत्र पाउँछन्। आरोही आफ्नो अनुकूल समय मिलाएर फर्कन थालेका छन्। आरोहीले विभागमा गर्ने ब्रिफिङपछि औपचारिक रूपमा हिमाल आरोहण गरेको प्रमाणपत्र पाउँछन्। अहिलेलाई भने सम्पर्क अधिकृत तथा एजेन्सीले दिएको मौखिक जानकारीका आधारमा मात्रै हिमाल आरोहणको संख्या निकालिने गरेको छ। यसको औपचारिक तथ्यांक सबै टोली फर्किएपछि र विभागले प्रमाणपत्र जारी गरेपछि मात्रै थाहा हुनेछ। सफल आरोहण गरेका व्यक्ति र असफल भएका सबै टोली धमाधम फर्कन थालेका छन्। आरोहण टोली फर्कने थालेकाले अब सगरमाथाका लागि लगाइएको भर्याङसहितको सामान पनि निकाल्न सुरु हुँदै छ।
आरोहणका क्रममा यो वर्षको वसन्त ऋतुमा विभिन्न हिमालमा १७ जनाले ज्यान गुमाएको पर्यटन विभागले जानकारी दिएको छ। यसमध्ये सगरमाथामामा मात्रै ९ जनाले ज्यान गुमाएका छन्। विभागका अनुसार यस वर्षको वसन्त ऋतुका लागि विभिन्न ३२ वटा हिमाल आरोहण गर्न १ सय १६ वटा टोलीका ८ सय ९५ जना आरोहीले अनुमति लिएका थिए। सरकारले आरोहण खुला गरेको विभिन्न ४ सय १४ हिमालमध्ये कानुनी सीमामा रहेर ३२ वटाको लागि मात्रै आरोहण अनुमति माग भएको विभागले जानकारी दिएको छ।
पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा मात्रै हिमाल आरोणबाट विभागले ५० करोड राजस्व संकलन गरेको छ। विभागका अनुसार सबैभन्दा बढी राजस्व सगरमाथामाबाट संकलन भएको छ। सगरमाथामा आरोहण गर्न प्रतिआरोहीले ११ हजार डलर र नेपाली आरोहीले ७५ हजार रुपैयाँ बुझाउनुपर्छ।
सगरमाथा आरोहणको सुरु भएको सन् १९५३ देखि सन् २०१९ को मेसम्मको ६६ वर्षमा ६ हजारभन्दा बढीले सर्वोच्च शिखर आरोहण गरिसकेका छन्। हालसम्म सरकारले आरोहण गरेको ४ सय १४ वटै हिमालमा आरोहण गर्ने आरोहीको संख्या भने आठ हजारभन्दा बढी रहेको पनि विभागको तथ्यांकले देखाएको छ।