७ तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवस
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले १२ औँ गणतन्त्र दिवस भव्य रुपले मनाएको छ।प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा धनगढी ट्राफिक चौराह चोकबाट विभिन्न झाकीसहित निकालेको उत्सव र्यालीमा सर्वसाधारणको उपस्थित भने थिएन।
उत्सव र्यालीमा मन्त्री, सांसद र कर्मचारीको मात्र उपस्थिति थियो।प्रदेश सभामुख अर्जुनबहादुर थापा, मुख्यमन्त्री त्रिलोचन भट्ट, विभिन्न मन्त्रालयका मन्त्री, सांसद र कर्मचारीको मात्र उपस्थिति थियो। बाजागाजासहित निकालको र्याली ट्राफिक चौराह चोकबाट सुरु भएर पार्क चोकमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सभामा परिणत भएको हो।
मन्त्रालयमा नेपाली सेनाले प्रदेश प्रमुख मोहनराज मल्ललाई सलामी दिएको हो।संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी मनाउने गरिन्छ। झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको हो।
र्यालीपछि आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचनभट्टले गणतन्त्रले नेपालमा जनताको शासन ल्याएको बताए। मुलुकमा स्थायी सरकार गठन भएर मुलुक विकासतर्फ लम्किएको उनको धारणा थियो। गणतन्त्र दिवसकै अवसरमा प्रदेश सरकारले सेती अञ्चल अस्पतालमा बिरामीलाई फलफूल वितरण गरेको छ।