अब उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा : पशुपतिलाई ३५ करोड

अब उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा : पशुपतिलाई ३५ करोड

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाभित्रका मौलिक संस्कृति, परम्परा र संगीतको अवलोकन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सुरु गर्ने भएको छ। संघीय संसद्मा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा पहिलोपटक रात्रिकालीन उपत्यका सम्पदा यात्रा सुरु गर्ने घोषणा गरेका हुन्।

‘काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको अवलोकन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गरिने छ’, अर्थमन्त्री खतिवडाले बुधबार भने, ‘मुलुकको विशिष्ट संस्कृतिको संरक्षणमा ध्यान दिँदै विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरूको संरक्षण र विकासमा समेत विशेष जोड दिइने छ।’

लोपोन्मुख भाषा, कला र संस्कृतिको संरक्षण पनि गरिने उनको भनाइ छ। उनले साहित्यकार, कलाकार तथा संगीतकारको वृत्ति विकासमा ध्यान दिइनेमा जोड दिएका छन्। उनका अनुसार, कीर्तिपुरस्थित जातीय संग्रहालयलाई नेपालको परम्परा, भाषा, संस्कृति, रीतिरिवाज र रहनसहन झल्काउने गरी राष्ट्रिय सांस्कृतिक संग्रहालय बनाइने छ। जसको विकास गर्न पूर्वाधार निर्माणका लागि रकम छुट्याएको उनले जानकारी दिए।

बजेटमा पशुपति क्षेत्र विकासका लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ। ‘तिलौराकोट, लुम्बिनी, देवदह र रामग्राम क्षेत्रलाई समेटी बृहत लुम्बिनी एकीकृत विकास गुरुयोजना तर्जुमा गर्नेछौं’, अर्थमन्त्री खतिवडाले भने, ‘लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमको निर्माण कार्यलाई निरन्तरता दिन एक अर्ब रुपैयाँ विनियोजन गरेको छु।’ यसैगरी, आगामी आर्थिक वर्षमा देवघाट, जनकपुरधाम, पाथिभरा, रुरुक्षेत्र, विराटक्षेत्र, बराहक्षेत्र, खप्तडक्षेत्र, काँक्रेबिहार, हलेसी र गौरीशंकर लगायतका थुप्रै धार्मिक स्थलको विकासका लागि पनि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ।

नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटोहरू संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ। अर्थमन्त्री खतिवडाले महाभारत क्षेत्रका सम्भाव्य पर्यटकीय स्थानहरूलाई बिदा मनाउन मिल्ने स्थान बनाउने बताए।

विदाका लागि उपयुक्त ‘शीतल आवास’ को रूपमा विकास गरिने उनको भनाइ छ। उनका अनुसार नेपालमा भएका मुख्य धार्मिक स्थलको आकृति झल्किने गरी धार्मिक पर्यटकीय स्थल निर्माण गरिने छ। सरकारले आदिवासी, जनजाति, अल्पसंख्यक तथा दलित समुदायको परम्परागत सीप र कलाको संरक्षण र सम्वर्द्धन गर्न पनि बजेट विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.