आयोजकलाई चुनाती दिँदै द. अफ्रिका
एजेन्सी-लन्डन
विश्वकप क्रिकेटको उद्घाटन खेलमा बिहीबार आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित राष्ट्र भएर पनि यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि भने जित्न सकेका छैनन्।
पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि हालसम्म उपाधि जित्न नसकेकाले इङ्ल्यान्डलाई सधैं अभागी टोलीका रूपमा चित्रण गरिँदै आएको छ। यसअघि चारपटक घरेलु मैदानमा विश्वकप खेल्ने अवसर पाए पनि इङ्ल्यान्डले खासै चमत्कार गर्न सकेको छैन। इङ्ल्यान्डले विश्वकप आयोजना गरेको यो पाँचौं पटक हो।
यसपटक भने इङ्ल्यान्डलाई उपाधिको बलियो दाबेदारका रूपमा लिइएको छ। विश्वकपअघि खेलिएका एकदिवसीय प्रतियोगितामा पनि इङ्ल्यान्डको प्रदर्शन स्तरीय रहँदै आएको छ। यसपटक इङ्ल्यान्डको टोली पनि सन्तुलित छ। टोलीमा अनुभवी र युवा खेलाडीहरूको गजबको तालमेल देखिएको छ। त्यसैले पनि इङ्ल्यान्डलाई यसपटक उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको हो।
सन् १९७९ मा विश्वकपको दोस्रो संस्करण इङ्ल्यान्डमै आयोजना भएको थियो। त्यतिबेला इङ्ल्यान्ड फाइनलसम्म पुग्यो। तर, फाइनलमा तत्कालीन साबिक विजेता वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ९२ रनले हरायो। सन् १९८७ मा इङ्ल्यान्ड दोस्रोपटक विश्वकपको फाइनलमा पुग्यो। त्यतिबेला पनि इङ्ल्यान्डलाई फाइनलमा अस्ट्रेलियाले सात रनले पराजित गर्यो।
यसैगरी सन् १९९२ मा आयोजित विश्वकपको पाँचौं संस्करणमा पनि इङ्ल्यान्ड विश्वकपको फाइनलसम्म पुग्न सफल भयो। तर, फाइनलमा पाकिस्तानसँग २२ रनले पराजित हुँदै इङ्ल्यान्ड उपाधिबाट वञ्चित भयो। त्यसैले यसपटक इङ्ल्यान्डका लागि आफूमाथि लागेको अभागी टोलीको ट्याग हटाउने गतिलो अवसर बन्न सक्छ।
इङ्ल्यान्डले पछिल्ला नौमध्ये सात एकदिवसीय खेलमा जित हात पारेको छ। जोनी बेयरस्ट, जासन रोय र इयोन मोर्गन इङ्ल्यान्डका प्रमुख ब्याट्सम्यान हुन्। बलिङमा क्रिस वाक्स, लियाम प्लुनकेट र डेभिड विलीबाट इङ्ल्यान्डले निकै आशा गरेको छ।
दक्षिण अफ्रिका पनि वर्तमान विश्व क्रिकेटको शक्तिशाली राष्ट्र हो। तर, विश्वकपको सुरुका चार संस्करणमा दक्षिण अफ्रिकाले सहभागिता जनाउने अवसर पाएको थिएन। तत्कालीन समयमा दक्षिण अफ्रिकामा व्याप्त रंगभेद नीतिका कारण दक्षिण अफ्रिकालाई विश्वकपमा सहभागी गराइएको थिएन। दक्षिण अफ्रिका सन् १९९२ मा सम्पन्न पाँचौं संस्करणदेखि विश्वकपमा सहभागी भएको हो। पहिलो विश्वकपमा भने पूर्वी अफ्रिकाले विश्वकपमा अफ्रिकी महादेशको प्रतिनिधित्व गरेको थियो।
विश्वकपमा भने दक्षिण अफ्रिकाको इतिहास खासै गतिलो छैन। दक्षिण अफ्रिका फाइनलसम्म पनि पुग्न सकेको छैन। सन् १९९२ को विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँग २० रनले पराजित भएको दक्षिण अफ्रिका सन् १९९६ मा भने क्वार्टरफाइनलमै वेस्ट इन्डिजसँग १९ रनले हारेको थियो। त्यसपछि सन् १९९९ को विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग पछि परेको थियो।
त्यतिबेला सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका दुवैले दुई सय १३ रन बनाएका थिए। त्यसपछि सुपर सिक्स चरणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा अस्ट्रेलिया फाइनलमा पुग्न सफल भयो। सुपर सिक्स चरणमा पाकिस्तान पहिलो, अस्ट्रेलिया दोस्रो र दक्षिण अफ्रिका तेस्रो भएको थियो। तीनवटै टोलीको ६÷६ अंक भए पनि रनरेटमा दक्षिण अफ्रिका तेस्रो नम्बरमा रहेको थियो।
त्यसपछि सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिका समूहगत चरणबाटै बाहिरियो। सन् २००७ को विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले सात विकेटले पराजित गर्यो। सन् २०११ विश्वकपमा क्वार्टरफाइनलमा न्युजिल्यान्डसँग ४९ रनले पराजित भएको दक्षिण अफ्रिका सन् २०१५ मा भने सेमिफाइनलमा डकवर्थ एन्ड लेविस नियमका आधारमा न्युजिल्यान्डसँग चार विकेटले स्तब्ध भयो।
यसरी हालसम्मको विश्वकपमा दक्षिण अफ्रिकाको अवस्था खासै गतिलो देखिँदैन। तर, इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच पछिल्लो पटक खेलिएको एकदिवसीय प्रतियोगितामा भने दक्षिण अफ्रिका सात विकेटले विजयी भएको थियो।
समग्रमा भने हालसम्म यी दुई टोलीले आपसमा ५६ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। तीमध्ये २९ खेलमा दक्षिण अफ्रिका र २६ खेलमा इङ्ल्यान्ड विजयी भएका छन्। बाँकी एक खेल भने बराबरीमा सकिएको छ।
यसैगरी विश्वकप क्रिकेटमा हालसम्म यी दुई टोलीबीच ६ वटा खेल भएको छ। ६ मध्ये दुवै टोलीले तीन-तीन खेल जितेका छन्। तर, इङ्ल्यान्डको भूमिमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दक्षिण अफ्रिकाको इतिहास खासै गतिलो देखिँदैन। यी दुई टोलीबीच इङ्ल्यान्डको भूमिमा २३ वटा एकदिवसीय खेलिएको छ। तीमध्ये १५ खेलमा इङ्ल्यान्ड र केवल आठ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ।
यो विश्वकपको उद्घाटन खेल खेलिने दी ओभल मैदानमा भने हालसम्म दक्षिण अफ्रिकाले ६ खेल खेलेको छ। तीमध्ये दुई खेलमा मात्र दक्षिण अफ्रिका विजयी भएको छ। दी ओभलमा दक्षिण अफ्रिका र इङ्ल्यान्डबीच भने हालसम्म एक खेलमात्र भएको छ। सन् १९९९ को विश्वकपमा भएको उक्त खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई एक सय २२ रनले हराएको थियो।
यसैगरी यो विश्वकप सुरु हुनुअघि खेलिएको अभ्यास खेलमा इङ्ल्यान्डलाई अस्ट्रेलियाले १२ रनले हराएको थियो। अर्को अभ्यास खेलमा भने इङ्ल्यान्डले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको थियो। यसपटक इङ्ल्यान्डको प्रशिक्षकमा ट्रेभर बेलिस र कप्तानमा इयोन मोर्गन रहेका छन्। अभ्यासका क्रममा आफ्ना अनुभवी खेलाडी मार्क उडको खुट्टामा लागेको चोट यतिबेला इङ्ल्यान्डको टाउको दुखाइ बनेको छ। दक्षिण अफ्रिकाविरुद्घको खेलमा मार्क उड, जेम्स भिन्स, टम कर्रान र लियाम प्लुनकेटको सहभागिता पनि अझै निश्चित भइसकेको छैन।
यसैगरी इङ्ल्यान्डविरुद्घको खेलमा दक्षिण अफ्रिका ओटिस गिब्सनको प्रशिक्षकत्व र फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा ओर्लंदै छ। विश्वकप क्रिकेटमा ‘डर्क हर्स’ को छवि बनाएको दक्षिण अफ्रिकाको प्रदर्शन सधैं एकनासको हुन नसक्नु उसको सबैभन्दा कमजोर पक्ष हो। यसको विपरीत इङ्ल्यान्ड, भारत र अस्ट्रेलियाको प्रदर्शनमा भने खासै ठूलो उतारचढाव भएको पाइँदैन।
दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार बलिङ हुनेछ। तीव्रगतिका बलर डेल स्टेन, कागिसो राबडा र लुन्गी निग्दीबाट दक्षिण अफ्रिकाले निकै आशा गरेको छ। तर, यी तीनैजना भर्खरैमात्र चोटमुक्त भएर टोलीमा फर्किएका हुन्। ३५ वर्षीय स्टेनले भने सम्भवत: बिहीबारको खेल खेल्ने छैनन्। भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगका क्रममा उनको काँधमा गम्भीर चोट लागेको थियो। त्यसैले दक्षिण अफ्रिका पहिलो खेलमा उनलाई खेलाएर जोखिम मोल्ने पक्षमा देखिँदैन।
दक्षिण अफ्रिकाले आफूले खेलेका पछिल्ला १० मध्ये आठ एकदिवसीय खेलमा जित हात पारेको छ। विश्वकपको अभ्यास खेलमा पनि दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी श्रीलंकालाई ८७ रनले हराएको थियो। त्यसैले पनि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका निकै उच्च मनोबलसहित सहभागी हुँदैछ।
बलिङमा कागिसो राबडा, लुन्गी निग्दी र इमरान ताहिर तथा ब्याटिङमा क्विन्टन डी कक, फाफ डु प्लेसिस र हासिम अमला दक्षिण अफ्रिकाको ठूलो हतियार हुन्। पहिलो खेल हुने दी ओभलको पिच ब्याट्सम्यानका लागि उपयोगी मानिन्छ। खेलको प्रारम्भमा बलरलाई केही साथ दिए पनि त्यसपछि विस्तारै पिच ब्याट्सम्यानका लागि उपयोगी बन्दै जाने प्रकृतिको छ। त्यसैले उक्त खेलमा ठूलो स्कोर बन्न सक्ने सम्भावना छ।
दक्षिण अफ्रिकाको सम्भावित टोली : फाफ डु प्लेसिस (कप्तान), हासिम अमला, क्विन्टन डी कक (विकेटकिपर), जेपी डुम्नी, डेभिड मिल्लर, लुन्गी निग्दी, एन्ड्ली फेलुक्वायो, क्रिस मोरिस, कागिसो राबडा, इमरान ताहिर र रासी भान डल डुसेन रहेका छन्।
इङ्ल्यान्डको सम्भावित टोली : इयोन मोर्गन (कप्तान), मोइन अली, जोनी बेयरस्ट, जस बट्लर (विकेटकिपर), टम कुर्रान, डेभिड विली, लियाम प्लुनकेट, जोए रुट, जासन रोय, बेन स्टोक्स र क्रिस वाक्स।