पाँच तस्बिरमा हेर्नुहोस् ओझेलमा परेको पर्यटकीय सैन क्षेत्र
बाजुरा : विकट ठाउँमा रहेको सैन क्षेत्र पहिचानको अभावमा ओझेलमा परेको छ। यो हिमाली गाउँपालिका-३ मा पर्दछ। कसैको नजरमा पर्न नसक्दा यो क्षेत्रको पहिचान हुन सकेको छैन। सैन क्षेत्र सुन्दरताले निकै भरिपूर्ण छ।
तर, पहिचान र प्रसार नहुँदा ओझेलमा परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए। सैपाल हिमालसँग जोडिएको सैन हिमाल, ताल, दूधकुन्ड, पाटन र जडिबुटीको प्रचूर सम्भावना भएपनि पहिचान र प्रचार नहुँदा ओझेलमा परेको अध्यक्ष मल्लले बताए।
हुम्ला, बाजुरा र बझाङको बीच सीमा क्षेत्रमा पर्ने सैन हिमाल क्षेत्र पर्यटकीय हिसाबले पनि निकै प्रचूर संभावना रहेको छ। हिमाली गाउँपालिकाले उक्त क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पहिलो पटक स्थलगत भम्रण गरेको छ।
पर्यटकीय हिसाबले निकै सम्भावना रहेको छ। तर जान-आउन निकै समस्या हुने गरेको कृषि जेटिए जुना बिष्टले बताइन्। उनले यसको प्रचारसँगै बाटोको राम्रो व्यवस्था हुनुपर्नेमा जोड दिइन्। करिब १४ हजार फिटभन्दा माथि रहेको सैनमा ढकमक्क फुलेका फूलहरु हेर्दा मनै लोभिन्छ।बाटोमा होटलको राम्रो व्यवस्था नभए पनि गोठालाले दर्शनार्थीको भव्य स्वागत सत्कार गर्दा मन प्रफूल्लित हुन्छ।
वर्षायाममा पनि सैन हिमाल हिउँले सेताम्मे हुन्छ।यहाँ विभिन्न जडिबुटीको मुख्य भण्डारण रहेको गुम्बाका जगत लामाले बताए। पर्यटकीय सम्भावनाको प्रचूर सम्भावना भएपनि सैन क्षेत्रको अस्थित्व गुम्दै गएको छ।अहिलेसम्म पनि त्यस क्षेत्रका तालहरुको पहिचानमा सरकारले कुनै चासो देखाएको छैन। यहाँ रहेका तालको संरक्षणमा र प्रचार प्रसारमा सरकारको ध्यान जाने हो भने यो क्षेत्र राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा परिचित हुने हिमाली गाउँपालिका- ३ का वडाअध्यष ध्यानबहादुर रोकायाले बताए।'
यो क्षेत्र पुग्न बाजुराको सदरमुकामा मार्तडीबाट एक हप्ता लाग्छ। सदरमुकाम मार्तडी कोल्टी, कवाडीहुँदै गुम्बा भएर जानु पर्ने हुन्छ। वर्षातको समयमा भोटे जातिले सैन क्षेत्रमा भेडा, चौरी गाई घोडा लिएर जाने गर्छन्। तीन महिनासम्म उतै बस्छन्। यो क्षेत्रमा बाटो बनेको भए हुम्लाहुँदै चीनको ताक्ला कोट जान निकै छोटो र सजिलो हुने स्थानीय बताउँछन्।