उर्लियो झिमरुक
प्यूठान : लामो समयको खडेरीपछि बिहीबार प्यूठानमा भारी वर्षा भएको छ। झिमरुक खोलाको उद्गमस्थल गौमुखी क्षेत्रमा बढी वर्षा भएको छ। बिहीबार पसेको पानीले झिमरुक नदीको बहाव बढेको हो।
खोला किनारमा रहेका घर जोखिममा परेका छन्। जिल्लाको मध्यक्षेत्र विजुवार, बाग्दुला हावाहुरी चलिरहेका बेला झिमरुक खोला उर्लिएको हो। जिल्लाका अधिकांश भेगमा परेको पानीले ठाडा खोलाको बहाव बढेको छ।
कतिपय स्थानमा सामान्य क्षति पुर्याएको खबर आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। बाग्दुला टिकुरी बसर्पाक नजिकै झिमरुक नदी किनारमा बेवारिसे शव फेला परेको छ। महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
झिमरुक गाउँपालिका ७ रातटारी निवासी प्यूठान नगरपालिकामा कार्यरत इन्द्रमणि पोखरेलको घरमा स्थानीय कुताखोलाको बहाव घरभित्र पसेको हो। खोलाले खेतवारीमा लगाएको वाली नष्ट गराएको स्थानीयले बताएका छन्।
प्यूठान नगरपालिका ९ स्थित झिमरुक गाउँपालिकामा कार्यरत स्वास्थ्य सहसंयोजक विकास केसीका अनुसार भालुखोलाको बहाव बढेपछि घरभित्र खोलो पसेको छ। रोकेर राखेका मोटरसाइकल र स्कुटी बगाएको स्थानीय वासुदेव गिरीले जानकारी दिए।