सुदूरपश्चिम र प्रदेश ५ ले अंक बाँडे
काठमाडौं : सुदूरपश्चिम र प्रदेश ५ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अंक बाँडेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार वर्षाले खेल प्रभावित भएपछि सुदूरपश्चिम र प्रदेश ५ बीचको खेल नतिजाविहीन बनेको थियो । खेल नतिजाविहीन बनेपछि दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।
पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुचारु नभएपछि रद्द भएको थियो ।
वर्षाले खेल रोकिनुअघि प्रदेश ५ ले १९ ओभरमा चार विकेट गुमाएर ५६ रन बनाएको थियो । प्रदेश ५ का सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । यस्तै सुरज दरालले आठ र सौरभ खनालले चार रन बनाए । सुदूरपश्चिमका विनोद लामाले दुई तथा आकाश चन्द र नरेन्द्र साउदले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा अलआउट हुँदै एक सय ८८ रन बनाएको थियो । सुदूरपश्चिमका खड्क बोहराले ६२ रनको अर्धशतकीय पाली खेले । यस्तै नरेश बोहराले ३१, नरेन्द्र साउदले २१ र लोकेश बमले १९ रन बनाए । प्रदेश ५ का जितेन्द्र सहानी, सिद्धान्त शाही र कृष्ण कार्कीले दुई÷दुई विकेट लिए ।
बिहीबारको खेल रद्द भएसँगै समूह एमा रहेका दुवै टोलीले दुई खेलबाट एक÷एक अंक जोडेका छन् । यसअघि सुदूरपश्चिम एपीएफ र प्रदेश ५ प्रदेश ३ सँग पराजित भएको थियो ।