चेल्सीले जित्यो युरोपा लिग उपाधि
बाकु : युरोपा लिग फुटबलको उपाधि लन्डन क्लब चेल्सीले जितेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । संयोगवश यसपटक दुवै इङ्लिस टोली फाइनलमा पुगे पनि आर्सनलको प्रदर्शन फितलो बन्यो ।
पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । चेल्सीलाई पहिलो हाफमा रोक्न सफल आर्सनल दोस्रो हाफमा निरीह बन्यो । एकपक्षीय खेलमा चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा ओलिभर गिरोड र पेड्रो रोड्रिग्विजले एक एक गोल गरे । आसर्नलका एलेक्स इओवीले एउटा सान्त्वना गोल फर्काएका थिए । दोस्रो हाफमा आक्रामक देखिएको चेल्सीले ४९औं मिनेटमा खाता खोलेको थियो । चेल्सीका लागि पहिलो गोल गिरोडले गरे । ६०औं मिनेटमा रोड्रिग्विजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि हाजार्डले दुई गोल थपे । सात वर्षदेखि चेल्सीमा खेलिरहेका हाजार्ड यसै सिजनबाट चेल्सी छाड्ने तयारीमा छन् । हजार्डले ६५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । गिरोडलाई आर्सनलका मेटल्यान्ड निल्सले डीबक्सभित्र फल हानेर लडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा चेल्सीको दबाब झेलेको आर्सनलका लागि एलेक्स इओबीले ६९औं मिनेटमा एक गोल फर्काए ।
त्यसपछि हाजार्डले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै चेल्सीलाई सजिलै च्याम्पियन बनाएका थिए । यस उपाधिसँगै हाजार्डले चेल्सी यात्रालाई सुखद अन्य गरेका छन् । हाजार्ड आगामी सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने तयारी छन् ।