टाटाको ओलामा लगानी
भारतको टाटा समूहले विद्युतीय गाडी उत्पादनका लागि ओला इलेक्ट्रिक मोबिलिटी कम्पनीमा लगानी गरेको छ। ओलाका अनुसार टाटाको यो लगानीले विद्युतीय गाडी उत्पादनका लागि ओलालाई अझ महत्त्वाकांक्षी बन्न सहयोग पुग्नेछ।
कम्पनीमा टाटा समूहले कति रकम लगानी गरेको भन्नेबारे भने सार्वजनिक गरिएको छैन। टाटाले ओलाकै प्यारेन्ट कम्पनी एएनआई टेक्नोलोजीमा यसअघि नै लगानी गरिसकेको छ। एएनआई टेक्नोलोजीमा टाटाले सन् २०१५ मा नै लगानी गरेको हो।
यसै वर्षको मार्चमा ओलाले विद्युतीय सवारी उत्पादन तथा विस्तारका लागि पहिलो चरणमा ४०० करोड भारतीय रुपैयाँ लगानी उठाउने घोषणा गरेको थियो। यसका लागि उसले टाइगर ग्लोबल र म्याट्रिक्स इन्डियाबाट फन्डिङ पाइसकेको छ। विद्युतीय सवारी उत्पादन गर्न आवश्यक थप लगानीका लागि ओला र टाटाबीच सम्झौता भएको हो।
‘विद्युतीय सवारीले वातावरणमा पार्ने सकारात्मक असरका कारण विकास र आर्थिक वृद्धिका लागि प्रमुख भूमिका खेल्छ त्यसैले यसमा लगानी गर्न नयाँ बिजनेस एराको लागि रणनीतिक मुभ हुनेछ’ ओलासँगको टाईअपपछि टाटा समूहका अध्यक्ष रतन टाटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हाल ओलाले विभिन्न किसिमका दुई, तीन तथा चारपांग्रे सवारी साधन, त्यसको ब्याट्री तथा चार्जिङ स्टेसन बनाउने परियोजनामा काम गरिरहेको छ। ओलाका संस्थापक तथा सीईओ भविस अग्रवालले टाटाको लगानीले ओलाको यो यात्रालाई अझ सहज बनाउने बताए।
ओलाले नागपुरमा आफ्नो इलेक्ट्रिक मोबिलिटी पाइलट प्रोग्राम सञ्चालन गर्दै आएको छ। सन् २०१८ मा ओलाले मिसन इलेक्ट्रिक योजना घोषणा गरेको थियो।