गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जीटूजीमा
काठमाडौं : निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई देशको सरकार–सरकार (जीटूजी) मोडलमा मा सञ्चालन गरिने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र व्यावसायिक सञ्चालनका लागि जीटूजीमा सम्झौता गर्ने कार्य अगाडि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। बिहीबार सार्वजनिक मन्त्रिपरिषद्का निर्णयअनुसार अब करिब ७० प्रतिशत निर्माण सकिएको यो विमास्थल अब सरकारले अर्को कुनै एक विदेशी राष्ट्रसँग सम्झौता गरेर सञ्चालन गर्न दिने भएको छ।
यो विमानस्थल सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न सरकारको अनुमति यस अघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले मागेको थियो। दुई देशबीचको सरकारबाट हुने सहमतिबाट कुनै एक कम्पनीले विमानस्थल पीपीपी मोडलमै सञ्चालन गर्ने प्राधिकरणको भनाइ छ।
सरकारको स्वीकृतिपछि अब विदेशी राष्ट्रसँग प्रस्ताव माग गरिने र उपयुक्त कम्पनीलाई विमानस्थल सञ्चालनको जिम्मा दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। उनका अनुसार विमानस्थल जीटूजीको अवधारणामा सञ्चालन गर्न स्वीकृति दिएको छ। अब यो विमानस्थल सञ्चालन गर्न सरकारी तबरबाटै विदेशी कम्पनी आउने छ।
विमानस्थल सञ्चालन गर्न सीधै विदेशी कम्पनी ल्याउन र सम्बन्धित देशका कम्पनीबाट प्रस्ताव माग गर्न सक्ने पनि पर्यटन मन्त्रालयका अधिकारीको भनाइ छ। मन्त्रालयलका अनुसार विमानस्थल कम्तीमा ३० वर्षसम्म विदेशी निजी कम्पनीलाई सञ्चालन गर्न दिइने भन्ने छ। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कम्पनीले विमानस्थल सञ्चालन गर्ने हुँदा व्यवस्थित र मर्यादित हुने बुझाइ पनि मन्त्रालयका अधिकारीको छ।
यो विमानस्थल जीटूजीमा सञ्चालन गर्ने गरी प्राधिकरण सञ्चलक समितले गत पुस ५ गतेको बैठकबाट निर्णय गरेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाएको थियो। मन्त्रालयले आवश्यक अध्ययन गरेर अगाडि बढाएको सोही प्रस्तावअनुसार मन्त्रिपरिषद्ले स्वीकृति दिएको उल्लेख छ।