बालकथा : पुन्टे उड्दा
श्यामकृष्ण खुलिमुली ।
अचानक पुन्टे उड्न थाल्यो।
अनिस चिच्यायो, ‘आमा पुन्टे उड्यो। बचाउनुस्।’
आमा पनि आतिइन्, बेलुन समात्न दिएको त उल्टै उडाएछ। ‘गुहार गुहार !’
मेलामा आमाले किनिदिएको बेलुन पुन्टेलाई समात्न दिएको थियो। तर बेलुनले त पुन्टेलाई उडायो।
यो अचम्मको दृश्य हेर्न मेलामा आएका मानिस जम्मा भए। गाउँको डाँडामा मेला हेर्न आएकाहरू अर्को मेला देखेर अचम्ममा पर्न थाले।
पुन्टेलाई धागोले अल्झाएको थियो। त्यो त झन् माथि माथि पो उड्न थाल्यो।
‘पुन्टे उड्यो’, केटाकेटीहरू रमाउन थाले।
‘अब के हुन्छ होला ? ’ ठूलाले चिन्ता व्यक्त गरे।
पुन्टे आकाशमा उडिरहेको थियो। तल मानिस चिच्याइरहेका थिए। उनीहरू माथि हेरिरहेका थिए।
‘अब के गर्ने होला ? कसरी तल जाने होला ? ’ पुन्टे पनि आत्तियो।
अनिस यताउति दौडिरहेको थियो। आमा पनि उसको पछि पछि लागिरहेकी थिइन्।
जहाज र गिद्ध झन् झन् नजिकै आयो। पाइलटहरू जहाज मोड्ने प्रयास जारी राख्दै थिए। पुन्टे पनि माथि नजाने प्रयास गर्दै थियो। ‘ड्याङ !’, अचानक पुन्टेलाई गिद्धले धक्का दियो। केही बेलुन पनि फुटे। पुन्टे भने ढुनमुनिँदै पछाडि हुत्तियो।
अनिस, आमा र अरू मानिस साना हुँदै थिए। ती त कमिलाजत्रा भए। तर पुन्टे झन् झन् माथि उडिहेको थियो। उसलाई चिन्ता पनि लाग्यो, ‘आमा र अनिस कति आत्तिए होलान्।’
माथि माथि उड्न पाएकोमा पुन्टे रमाइरहेको थियो, ‘आहा कस्तो मज्जा आइरहेको छ।’
उड्दाउड्दै ऊ एउटा ठूलो तालमाथि पुग्यो। ‘आम्मै कत्रो ताल !’ पुन्टे आत्तियो। तालको पानी नीलो थियो। वरपर हरिया डाँडा मात्र देखिन्थ्यो।
‘यहाँबाट खसियो भने त डुबेर मरिने रहेछ’, ऊ डरायो र बेलुनको डोरीलाई झन् अँठ्यायो।
‘ड्वाङ !’, बेलुन फुटेको आवाज आयो। ऊ ह्वात्त तल झर्यो। ऊ झस्कियो र आत्तिएर आँखा चिम्म गर्यो।
तर फेरि माथि जान थाल्यो।
उसले बिस्तारै आँखा खोल्यो। परबाट एउटा चिल उडेर आइरहेको थियो।
‘योसँग ठोक्कियो भने त जिन्दगी नै खत्तम हुँदो रहेछ’, उसले मनमनै सोच्यो। ठोक्किनबाट जोगाउने उपाय सोच्यो।
उसले डोरीलाई तल तान्यो। खुट्टाले तल धक्का दियो।
अब भने ऊ बिस्तारै तल झर्यो। ऊ माथि जान सकेन। ऊ झन् तर्सियो। जति जति तल आयो, त्यति त्यति नै ताल ठूलो हुँदै थियो।
त्यसै बेला हावा चल्न थाल्यो। ऊ माथि उड्न थाल्यो। आकाश नै छेडूँलाझैं गरी ऊ माथि माथि पुग्यो।
टाढाबाट एउटा जहाज आइरहेको थियो। त्यसको विपरीत दिशाबाट एउटा बडेमाको गिद्ध उड्दै आइरहेको थियो। त्यसलाई देखेर जहाजका पाइलटहरू आत्तिए।
‘गिद्ध यतै आइरहेको छ। जहाजमा ठोक्किने भयो। अब के गर्ने होला ? ’ जहाजको सहक्याप्टेन आत्तियो।
‘यात्रुलाई त बचाउनु पर्यो। सकेसम्म जहाज मोड्ने प्रयास गरौं’, क्याप्टेनले भन्यो।
पुन्टे भने जहाज र गिद्धको बीचमा पर्ने गरी माथि उडिरहेको थियो।
‘ल अब ठोक्किनबाट बच्न के गर्ने होला ? ’ पुन्टे पनि आत्तियो। अब भने उसलाई माथि उडेकोमा पछुतो भयो। ऊ तल नै बस्न खोज्यो तर बेलुनका कारणले माथि माथि उड्दै थियो।
जहाज र गिद्ध झन् झन् नजिकै आयो। पाइलटहरू जहाज मोड्ने प्रयास जारी राख्दै थिए। पुन्टे पनि माथि नजाने प्रयास गर्दै थियो।
‘ड्याङ !’, अचानक पुन्टेलाई गिद्धले धक्का दियो। केही बेलुन पनि फुटे। पुन्टे भने ढुनमुनिँदै पछाडि हुत्तियो।
पछाडिबाट आइरहेको जहाज पनि ह्वात्तै मोडियो। पुन्टेको बेलुन र धागो जहाजको पखेटामा अड्कियो। धन्न ! जहाजलाई केही भएन। तर पुन्टे भने धागो र बेलुनसँगै जहाजको पखेटामा अल्झियो।
‘पुन्टेले गर्दा आज हामी दुर्घटनाबाट बच्यौं’, क्याप्टेनले भन्यो। त्यसपछि क्याप्टेन र सहक्याप्टेनको अनुहार बिजुलीझैं चम्कियो।
‘हामी ठूलो दुर्घटनाबाट बचेका छौं’, क्याप्टेनले टावरमा खबर गर्यो, ‘आकाशमा उडिरहेको पुन्टेले हामीलाई बचायो।’
‘बचाओ, बचाओ !’, यात्रीहरू कराए। हवाईजहाजको पखेटामा पुन्टे देखेर सबै आत्तिए।
‘तपाईंहरू आत्तिनु पर्दैन। हामीलाई पुन्टेले बचाएको छ’, क्याप्टेनले भन्यो। त्यसो भनेपछि सबै खुसी भए। उनीहरूले जहाजभित्रैबाट पुन्टेको फोटो खिच्न थाले।
केही समयपछि जहाज एअरपोर्ट पुग्यो। सबै यात्रु बाहिर निस्के। पुन्टेलाई पनि सकुशल निकालियो।
आफ्नो ज्यान बचाएकोमा यात्रुहरूले पुन्टेलाई धन्यवाद दिए।
यता प्रतीक्षालयमा एउटा समाचार आइरहेको थियो। ‘आज पोखराबाट उडेको विमान एउटा पुन्टेले गर्दा दुर्घटना हुनबाट जोगियो।’ त्यसपछि त्यसको फोटो पनि देखायो। यो देखेर पुन्टे धेरै खुसी भयो। त्यसपछि एउटा कुकुर हराएको सूचना पनि आयो। सूचनामा भनियो, ‘पुन्टे नाम गरेको छाउरा आज बिहानदेखि घोडेपानीको मेलाबाट बेलुनले उडाएर लगेकोमा फेला पार्नुहुने महानुभावले तुरुन्त खबर गर्नुहोला।’
त्यो कुकुर त पुन्टे नै रहेछ।
‘म हराएको सूचना पनि आयो’, पुन्टे दंग पर्यो।
त्यही बेला फोटोपत्रकारहरू ऊतर्फ क्यामेरा सोझ्याएर क्लिक् क्लिक् गरिरहेका थिए। टेलिभिजनले खिचिरहेका थिए। यो सपना हो कि विपना ? त्यसैले उसले आफूले आफैंलाई टोक्न थाल्यो, ‘कुइँ कुइँ।’