बहुप्रतिभाशाली गीत
सानो उमेरमा आफ्नो बहुमुखी प्रतिभा देखाउन सफल बालिका हुन्, गीत पछाई ढकाल। रेडियन्ट इभेन्ट म्यानेजमेन्टद्वारा हालै सम्पन्न नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१९ मा उनले सेकेन्ड रनरअपको उपाधि जितेकी छिन्।
आठ वर्षको उमेरका कथा संग्रह ‘द ट्रेजर हन्ट’ बजारमा ल्याएर सम्भवतः नेपालकै सबैभन्दा कम उमेरकी कथाकार बनेकी छिन् उनी। उनले धेरै म्युजिक भिडियोमा मोडलिङ पनि गरिसकेकी छिन्। गीत अक्षरा स्कुल, काँडाघारीमा कक्षा ४ मा पढ्छिन्। पढाइमा पनि उनी मेधावी छात्रा हुन्। उनको अंग्रेजी भाषा निकै राम्रो छ। त्यसैले उनले ‘कथासंग्रह द ट्रेजर हन्ट’ पनि अंग्रेजी भाषामा नै लेखेकी छिन्। पुस्तकमा २२ वटा कथा समावेश छन्। उक्त कथा संग्रहलाई नेपालीमा पनि रूपान्तरण गरिएको छ।
उनले आफ्ना कथासंग्रहको बारेमा अस्ट्रेलियामा पुगेर त्यहाँका विद्यार्थीलाई पनि बताएकी छिन्। उनको क्षमता र प्रतिभा देखेर अस्ट्रेलियाका बालबालिकामात्र होइन शिक्षिकशिक्षिका पनि छक्क परेका थिए।
यति सानो उमेरमा नै सामाजिक र परोपकारी कार्यमा गीतलाई गहिरो रुचि छ। अस्ट्रेलियाका विभिन्न विद्यालयहरूमा उनले आफ्नो कथा संग्रह उपलब्ध गराउँदा त्यहीको एउटा विद्यालयले उनलाई आगामी दिनमा पुनः अर्को कथा संग्रह लिएर आउने आग्रह गर्दै सय डलर उपहार दिएको थियो। अरू केटाकेटी भएको भए राम्रो नाना या चकलेट खाने, घुम्न जाने गरेर त्यो पैसा सकाउथे होलान्। तर गीतले त्यो पैसा सामाजिक कामको लागि प्रयोग गरिन्। उनले उक्त पैसा गुल्मी जिल्लामा रहेका माझी समुदायका बालबालिकाको लागि शिक्षामा खर्च गर्न हस्तान्तरण गरिन्।
त्यस्तै अस्ट्रेलियन सर्भाइकल क्यान्सर फाउन्डेसनको लागि पनि उनले अस्ट्रेलियामा आफ्नो किताब बेचेर आएको नेपाली ३५ हजार रुपैयाँ संस्थाका निर्देशक जोई टोमालाई प्रदान गरिन्। सानै उमेरमा समाजोपयोगी काममा उनको लगाव देखेर उनका शिक्षकशिक्षिका, साथीभाइ, छिमेकी र अभिभावक पनि खुसी हुनु भएको छ।
पौडी खेल्न पनि असाध्यै रुचि राख्छिन् गीत। अस्टे«लियामा हुँदा उनले पौडी प्रतियोगितामा समेत भाग लिएकी थिइन्। आफ्नो उमेर समूहसँगको उक्त प्रतियोगितामा उनले द्वितीय स्थान हासिल गरिन्। चर्चित संगीतकार विनोद पछाई तथा गीतकार एवं समाजसेवी जानुका ढकालकी छोरी गीत पछाई गीत गाउन पनि रुचि राख्छिन्। हाल उनी स्कुलमा पियानो पनि सिकिरहेकी छन्।
उनी फुर्सदको समयमा विभिन्न बालकथाका पुस्तकहरू पढ्ने गर्छिन्। ‘पुस्तक हात परेपछि सकाइहाल्ने उनको सानैदेखिको बानी हो,’ उनका पिता विनोदले बताए। उनको यही बालकथा अध्ययनको रुचिले लेखनप्रति समेत आकर्षित भएको उनकी आमा जानुका ढकालले बताइन्।
गीत साथीहरूसँग पनि मिलनसार छिन्। साथीहरूसँग मिलेर खेल्ने, पढ्ने बानीले उनलाई साथीहरूले पनि असाध्यै मन पराउँछन्। साथीहरू जस्तै उनी आफ्ना आमा र बाबा दुवैलाई बराबरी माया गर्छिन्।
भविष्यमा अन्तर्राष्ट्रिय लेखक बन्ने उनको चाहना छ। यस चाहनालाई पूरा गर्नको लागि उनी अहिलेदेखि नै लेखनमा जुटेकी छिन्। विभिन्न पत्रपत्रिकामा लेख तथा कथाहरू लेख्ने गरेकी गीत नियमित रूपमा बाल पत्रिका अंकुर पढ्ने गर्छिन्। उनी आफूले लेखेर कमाएको पैसाले नै अंकुरकी नियमित ग्राहकसमेत बनेकी छन्।