सुत्दा पनि रेडियो च्यापेर सुन्ने बानी थियो
म विकटमा जन्मिएको मान्छे हुँ। तीन घण्टा लगाएर स्कुल जानु पर्थ्यो। नजिकका साथीहरूले भन्दा पाँच छ घण्टा बाटोमै खर्च गर्नु परे पनि पढाइमा म राम्रै थिएँ।
मेरो जन्म दार्जिलिङको विकट गाउँमा भएको हो। मार्गस्चोर चिया बगानमा कक्षा ५ सम्म अध्ययन गरेँ। कक्षा ६ देखि १० सम्म डिलाराम भन्ने ठाउँमा सेन्जभेयर्स स्कुलमा अध्ययन गरेँ। पर्सेनको पुष्परानी उच्च माध्यमिक विद्यालयमा मैले पढाइ अगाडि बढाएँ। तर त्यति बेला मेरो पढाइ त्यहीँ नै रोकियो। पढाइकै क्रममा मैले गीत गाउन थालिसकेको थिएँ। शिक्षकले स्कुलमा गीत गाउनुहुन्थ्यो। मैले हरेक साता नयाँ नयाँ गीत गाउन थालेँ। अघिल्लो साता गाएको गीत शिक्षकले गाउन दिनुहुन्नथ्यो। सधैं नयाँ नयाँ गीत गाउँदा मलाई आत्मविश्वास बढ्दै गयो।
मैले गुरु जेसिए राईसँग शास्त्रीय शिक्षा सिकेँ। म सानैदेखि गीत गाउन रहर गर्थें। विभिन्न प्रतियोगिता हुँदा मैले धेरै पुरस्कार पाएको छु। सधैं भाग लिने क्रममा केही न केही पुरस्कार हासिल गरेको हुन्थेँ। पुरस्कार पाउँदा ज्यादै खुसी लाग्थ्यो। त्यसपछि मलाई झन् गीत गाउने इच्छा बढ्दै गयो।
म रेडियो नेपाल असाध्यै सुन्थेँ। फुर्सद हुँदा मात्र होइन, राति रेडियो च्यापेर सुन्ने मेरो बानी थियो। अग्रजको गीत सुन्दा साह्रै रमाइलो लाग्थ्यो।। मैले १४ वर्षको उमेरमा गीत रेकर्ड गर्ने अवसर प्राप्त गरेँ। अल इन्डिया रेडियो मर्साङबाट भ्वाइस टेस्ट पास गरेँ। मैले लोकगीतमा पास गरेको हुनाले मेरो गायन यात्रा लोकगीतबाटै सुरु भयो।
सन् १९८० मा आधुनिक गीत पनि पास गरेँ। त्यति बेला रेडियो नेपालमा आएर गीत गाउने मौका पाएँ। संगीतको पनि भ्वाइस टेस्ट पास गरेर गीत गाउने अवसर प्राप्त गरेँ। म विकटमा जन्मिएको मान्छे हुँ। तीन घण्टा लगाएर स्कुल जानु पर्थ्यो। नजिकका साथीहरूले भन्दा पाँच छ घण्टा बाटोमै खर्च गर्नु परे पनि पढाइमा म राम्रै थिएँ। मलाई गणित विषय गाह्रो लाग्थ्यो। त्यसैले गणितमा कहिल्यै पनि राम्रो नम्बर आएन। सायद ध्यान नदिएर पनि होला। मलाई गणित विषय गाह्रो लाग्ने गरे पनि अरू विषय सजिलो लाग्थ्यो।
मैले अहिलेसम्म ६ सयवटा गीत गाइसकेँ। धेरै गीत चर्चित छन्। सबै चर्चित हुनुपर्छ भन्ने पनि छैन। मेरो १२ वटा एल्बम निस्किएका छन्। अहिले १३औं एल्बमको तयारीमा जुटेको छु।
भाइबहिनीलाई के भन्न चाहन्छु भने म विभिन्न स्कुलमा संगीत पढाउने गर्छु। शिक्षिकाको हैसियतले भन्नुपर्दा तपाईंहरूले सुन्ने बानी गर्नुपर्छ। सुन्ने बानीले ९० प्रतिशत बुझ्न सकिन्छ। मैले गणितमा नसुनेर पनि होला, नबुझेको जस्तो लाग्थ्यो। अन्य विषयमा ध्यान दिएर सुन्ने गर्थें। अरू सबै विषयमा राम्रो थियो। त्यसैले भाइबहिनीहरूले सुन्ने बानी बसाल्नुपर्छ।
मैले छोरीहरूलाई पनि यही क्षेत्रमा लगाउन अभिप्रेरित गरिरहेकी छु। अतिरिक्त क्रियाकलापले दिमागको सफाइ गर्न मद्दत पुर्याउँछ। पढ्दा पढ्दा दिमाग एकोहोरो हुन्छ। यस्तो अवस्थामा गीतसंगीतले हाम्रो दिमागलाई रिफ्रेस गर्नुपर्छ। मैले संगीतले रिफ्रेसमेन्ट दिएको महसुस गरेको छु। त्यसैले पनि मैले छोरीहरूलाई यही क्षेत्रमा आउने प्रेरणा र हौसला दिएको हुँ।
संगीत वा अन्य कुनै पनि क्रियाकलापमा लाग्ने मान्छे पढाइमा पनि सफल हुन्छ। पढ्न नसक्ने मान्छे नाटक, फिल्ममा जाऊ, गेम खेल, गीत गाऊ भन्ने प्रवृति गलत हो। मेरो अनुभवमा अतिरिक्त क्रियाकलापमा संलग्न हुने मान्छे पढाइमा पनि सफल भएका उदाहरण प्रशस्त छन्। मैले अध्ययन गराउन थालेको करिब ३० वर्ष भयो। अतिरिक्त क्रियाकलापमा राम्रो भएको विद्यार्थी पढाइमा पनि राम्रो भएको छ भने पढाइमा राम्रो भएको विद्यार्थी अतिरिक्त क्रियाकलापमा समेत राम्रो भएको पाएको छु।
अतिरिक्त क्रियाकलापका लागि एकदमै अनुशासन चाहिन्छ। बोल्दै गीत गाउन सकिन्न। बजाउँदा पनि बोल्न थाल्यो भने आफ्नो काम पूरा गर्न सकिँदैन। एकदमै ध्यान दिएर अतिरिक्त क्रियाकलाप गर्नुपर्ने भएकाले बढी अनुशासित हुनुपर्छ। भाइबहिनीहरूमध्ये हरेकसँग कुनै न कुनै प्रतिभा हुन्छ। त्यो प्रतिभालाई प्रस्फुटन गर्न सक्नुपर्छ। सीमित व्यक्तिको कार्यक्रम हेर्नेभन्दा पनि विद्यार्थी भाइबहिनी कुनै न कुनै क्रियाकलापमा संलग्न हुनुपर्छ र आफ्नो प्रतिभा देखाउनुपर्छ। अरूको क्रियाकलाप हेरर मात्र समय खेर फाल्नु हुँदैन।
सबै मानिसले गीत गाउन सक्छन्। सबैको स्वर फरक भएकाले पनि सबैले गीत गाउँछन्। राम्रो नराम्रो गाउने कुरा अलग हो। स्वरलाई राम्रो बनाउन सकिन्छ। मेरो स्वर पनि राम्रो थिएन पहिले। बनाउने प्रयास गर्दागर्दै यस्तो भएको हो। आफ्नो क्षमता चिनेर अगाडि बढ्नुहोस्। सक्छु भन्ने सकारात्मक सोच लिएर अघि बढ्नुहोस्। हरेश नखानुहोस्। यसले नयाँ निखार आउँछ र सफलता प्राप्त हुन्छ।
छोराछोरीको प्रतिभा घरपरिवारले थाहा पाउने कुरा हो। गीत बज्दै गर्दा जुरुक्क उठेर नाच्छ भने उसको नृत्यतिर रुचि छ भन्ने थाहा पाउनुपर्छ। गीत गुञ्जँदै गर्दा हुबहु त्यसरी गाइरहेको छ भने गायनतिर रुचि छ भन्ने थाहा पाउनुपर्छ। पेन समाएर केही कोरिरहेको देखिन्छ भने चित्रकलामा उसको रुचि छ भन्ने बुझ्नुपर्छ। घरबाटै बालप्रतिभा पहिचान गर्न सकिन्छ। यसो भएमा उनीहरूलाई अगाडि बढ्न बल पुग्छ।
कतिपयले मलाई समेत गुनासो गरे। छोरीहरूलाई अतिरिक्त क्रियाकलापमा लगाएर पढाइ बिग्रियो भने के गर्नेसमेत भने। अहिले विद्यालयमा जाँदा अभिभावकले नै आफ्ना बच्चाहरूलाई संगीत सिकाइदिन अनुरोध गर्नुहुन्छ। अहिले समय परिवर्तन भएको छ। हरेक भाइबहिनीमा प्रतिभा हुन्छ। त्यसलाई लुकाउनु हुँदैन। हरेक कुरामा पोख्त हुनैपर्छ। पास त सबै हुन्छन्, अर्को कक्षामा जान्छन्। त्यसैले अहिले पढाइ सामान्य भइसक्यो। मभित्र के छ भनेर आफ्नो प्रतिभा आफैंले निकाल्नुपर्छ।
(गायिका मोक्तानसँग तुलसी सुवेदीले गरेको कुराकानीमा आधारित)