थपिए २८४ सीमा स्तम्भ

थपिए २८४ सीमा स्तम्भ

भैरहवा : नेपाल–भारत सीमा कपिलवस्तु र रुपन्देहीमा २ सय ८४ नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। जसमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ वटा सामान्य छन्। नेपाल–भारत सीमा सर्वेक्षण नम्बर ३ टोलीले ५ महिना लगाएर उक्त सीमा स्तम्भ निर्माणस्थल निर्धारण गरेको हो। सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे अन्तिमसम्म सीमा स्तम्भ निर्माण गरिएको थियो। २०१८ को डिसेम्बर २८ मा भारत उत्तर प्रदेशको बहराइचमा नेपाल–भारतको पहिलो संयुक्त बैठक बसेर निर्माण थालनी गरिएको थियो।

नवलपरासीदेखि बर्दियासम्म चार सय १८ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ निर्माण र सर्वेक्षण जिम्मा पाएको नम्बर ३ टोलीले यस वर्ष रुपन्देही र कपिलवस्तुको मात्रै सीमा स्तम्भ निर्माण गरेको हो। रुपन्देहीको सीमामा ३ सय ५१ नयाँ सीमा स्तम्भ निर्माण गर्नुपर्ने भए पनि यस वर्ष ८१ वटा मात्रै नयाँ सीमा स्तम्भ निर्माण गरिएको सीमा सर्वेक्षणका प्रमुख उमेश कुमारले जानकारी दिए। जसमध्ये ४० वटा नेपालले बनाएको हो भने ४१ वटा सीमा स्तम्भ भारतले निर्माण गरेको हो। २ सय ७० सीमा स्तम्भ भने अझै निर्माण गर्न बाँकी छन्।

यस्तै, कपिलवस्तुमा २ सय ४१ सीमा स्तम्भ निर्माण गर्नुपर्नेमा २ सय ३ वटा बनाइएको छ। जसमध्ये नेपालले १ सय ३६ र भारतले ६७ वटा सीमा स्तम्भ निर्माण गरेको छ। यहाँ ३८ सीमा स्तम्भ निर्माण गर्न बाँकी छन्। दुई देशको सहमतिअनुसार बिजोर नम्बर भएको सीमास्तम्भ नेपालले निर्माण गर्नुपर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नुपर्नेछ।

‘हामीले पाएको म्यान्डेटअनुसार अधिकतम सीमा स्तम्भ निर्माण गरेका छौं’, सर्वेक्षण टोली प्रमुख कुमारले भने, ‘केही अप्ठ्यारा ठाउँमा निर्माण गर्न नसकिए पनि महŒवपूर्ण स्थानमा सीमा स्तम्भ निर्माण गर्न सफल भएका छौँ।’

उनले यस वर्ष जंगल, नदी, सुक्खा नदीलगायत अप्ठ्यारा स्थानमा समेत सीमा स्तम्भ निर्माण गरिएको जानकारी दिए। ‘विगतमा काम हुन नसके पनि अहिले केही नयाँ र आधुनिक तरिकाबाट सीमा स्तम्भ बनाइएको छ’, उनले भने, ‘जीर्ण सीमा स्तम्भलाई नयाँ तरिकाबाट सोही ठाउँमा पुनर्निर्माण गरिएको हो भने दुई देशको सहमतिअनुसार नयाँ स्थानमा सीमा स्तम्भ बनाएका छौं।’

भैरहवामा आयोजित दुई देशको दोस्रो संयुक्त बैठकले सर्वेक्षण टोलीद्वारा निर्माण गरिएका सीमा स्तम्भ प्रमाणीकरण गरेको छ। जसमा नेपालतर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, रुपन्देहीका उदयबहादुर राना, भारत सिद्धार्थनगर जिल्लाकी प्रमुख विकास अधिकारी हर्षिता माथु, बलरामपुरका सहायक विकास अधिकारी अरुणकुमार शुक्ला तथा महाराजगन्जका सहायक विकास अधिकारी जस्धिर सिंहले प्रमाणीकरण गरेका हुन्।

सर्वेक्षण टोलीका अनुसार यस वर्ष गहिरो नदी परेको ठाउँमा भने सीमा स्तम्भ निर्माण गरिएको छैन। निर्माण बाँकी रहेका सीमा स्तम्भ आगामी वर्षमा निर्माण सुरु गरिने नापी अधिकृत भगीरथ भट्टले बताए।

सर्वेक्षण प्रमुख कुमारले अब बस्ने नेपाल–भारत सर्वे अफिसियल कमिटी (एसओसी) को संयुक्त बैठकले जुन–जुन ठाउँमा सीमा स्तम्भ बनाउन निर्देशन दिन्छ, सोहीअनुसार २०२० को डिसेम्बरबाट पुनः सीमा स्तम्भ निर्माण थालिने बताए।

दुई देशका अधिकारीहरूको संयुक्त बैठकले सीमा सर्वेक्षण क्रममा देखिएका समस्या समाधान गर्न माथिल्लो निकायलाई अनुरोध गर्ने सहमति गरेका छन्। नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सर्भे गर्न २०१५ देखि सर्वेक्षण टिम खटिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.