प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता : रुद्राक्षको माला उपहार
नयाँदिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको भारतस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए ।
भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएकोप्रति खुशी व्यक्त गर्दै यही गतिमा सम्बन्धलाई अगाडि बढाउने आफ्नो चाहना रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच हुने संयुक्त आयोग बैठकमा समग्र दुई पक्षीय सम्बन्धको समीक्षा हुने प्रष्ट पारेका छन् ।
‘उहाँसँग हाम्रो पुरानो चिनजान हो । हाम्रो आवागमन पनि बाक्लै रहयो’, मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली पुगेका ओलीले दोस्रो सफल कार्यकालको शुभकामना दिँदै भने, ‘यसमै रहेर सम्बन्ध अगाडि बढाउने हो ।’ भेटमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिएका छन् ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्षसमेत रहेका ओलीले यसलाई अगाडि बढाउन भारतीय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री ओली अहिले ताज प्यालेसमा भारतीय नेतासँगको भेटवार्तामा व्यस्त छन् । शुक्रबार बिहान ओली नेपली दूतावास पुगेका थिए । दूतावासमा आन्तरिक विषयमा छलफल भएको थियो ।
मोदीको शपथ समारोहमा सहभागी हुन बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री ओली केही बेरमै नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किदै छन् ।