सप्तरीमा हावाहुरीबाट लाखौंको क्षति
राजविराज : सप्तरीमा आएको हावाहुरीले लाखौं रुपैयाँको क्षति पुर्याएको छ। हावाहुरीले जिल्लाका एक दर्जन भन्दाबढी फुस र जस्ताले छाएका घर टहरामा क्षति पुर्याएको सप्तरी प्रहरीले जानकारी दिएको हो।
विहीबार राती आएको हावाहुरीले सात लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ। हावाहुरीले दर्जनौं रुख विरुवा ढलेका छन्। बोदे बर्साइन नगरपालिका क्षेत्रमा सबै भन्दाबढि क्षति पुगेको छ।
बोदे बर्साईन नगरपालिका–७ बर्साईन टोलमा मात्र ९ घरमा क्षति भएको डिएसपी भावेश रिमालले बताए। चन्देश्वरप्रसाद यादव र विर्जु मण्डलको एलबेस्टरले छाएको घर, दिलिप यादव, श्रवण साह र संजिव मण्डलको जस्ताले छाएको घर पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यसैगरी सोही ठाउँका सुर्यनारायण साह, राधादेबी साह, विरेन्द्रप्रसाद साह र निरसीदेवी रायको जस्ताले छाएको घरको जस्ता उडाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रुपनी गाउँपालिका ५ बसबिट्टी टोल बस्ने शिवनारायण खंगको फुसको घर, महदेवा गाउँपालिका १ पकरी बस्ने शिवनारायण यादवको जस्ताले छाएको गाईगोठ समेत हुरीले उडाएको छ।
हावाहुरीले घरका साथै घरभित्र रहेको अन्नपात लगायतका सामानमा समेत नोक्सान पु¥याएको छ। हुरीले पुर्याएको क्षतिको विवरण गाउँ–गाउँबाट आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।