बेलायतका नर्सले बनाइदिए जुम्लामा बर्थिङ सेन्टर
लण्डन : बेलायतमा कार्यरत नेपाली नर्सको सहयोगमा जुम्लाको विकट गाउँमा एक बर्थिङ सेन्टर (मातृशिशु केन्द्र) स्थापना भएको छ।
नेप्लिज नर्सिङ एशोसिएसन (एनएनए) यूकेले जुम्लाको सिंजा गाउँपालिका भादगाउँमा निर्माण गरेको २ कोठे भवनसहितको मितेरी मातृशिशु केन्द्र गत बुधबार उद्घाटन गरियो। केन्द्रले केही साताअघिदेखि नै आफ्नो सेवा सुरु गरिसकेको थियो।
एनएनए यूकेका अध्यक्ष विनोदविकास सिम्खडाका अनुसार गर्भवती महिलाको लागि आवश्यक सम्पूर्ण चेकजाँचदेखि उनीहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनेसम्मको सेवा केन्द्रमा उपलब्ध हुनेछ। कुनै जटिलता देखिए वा अप्रेसन गर्नुपर्ने अवस्था आए केन्द्रले नै अन्य अस्पताल रिफर गर्नेछ।
केन्द्रमा अहिले १ जना अनुभवी अनमी पुर्णकालीन रुपमा कार्यरत छन्। प्रसूति सेवाको साथै केन्द्रबाट स्थानीय महिलालाई मातृशिशु स्वास्थ्यसम्बन्धी शिक्षासमेत प्रदान गर्ने लक्ष्य राखिएको छ।
एक्सन वक्र्स नेपालसँगको सहकार्यमा स्थापित मातृशिशु केन्द्रलाई ५ वर्ष एनएनए यूके आफँैले सञ्चालन गर्ने र त्यसपछि स्थानीय प्रशासनलाई हस्तान्तरण गर्ने योजना छ।
केन्द्रको भवन निर्माण, आवश्यक उपकरण, कर्मचारी, औषधिसहित ५ वर्षसम्मको सञ्चालनको लागि कुल खर्च ६१ लाख रुपैयाँ लाग्नेछ। जसमध्ये करिब २० लाख रुपैयाँ उठ्न अझै बाँकी छ। आवश्यक कोष जुटाउन अहिले एनएनए यूकेले वर्क अ डे फर एनएनए युके भनेर आफ्ना सदस्यबाट १ दिनको तलब सहयोग उठाउने अभियान नै चलाएको छ।
मातृशिशु केन्द्र निर्माण भएको क्षेत्र जुम्ला जिल्लाको अति विकट मध्येको एक हो। एनएनए यूकेकी पूर्वअध्यक्ष प्रसुना कँडेल भन्छिन्, ‘गर्भवती अवस्थामा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनु त्यहाँका दिदीबहिनीको नियति थियो। कमसेकम त्यो अवस्था अब अन्त्य हुनेछ।’
बेलायतमा कार्यरत नेपाली नर्सको प्रतिनिधि संस्थाका रुपमा सन् २००८ मा स्थापित एनएनए यूके सन् २०१६ देखि बेलायतमा च्यारिटी कमिसनमा समेत दर्ता भएको छ।