मासिँदै सहरी सम्पदा
काठमाडौं : काठमाडौंमा गगनचुम्बी भवन बनेका छन्। विश्वका विकसित सहरजस्तै देखिएको छ। तर, भौतिक विकासमा केन्द्रित हुँदा प्राचीनदेखिका मौलिक सम्पदामा बेवास्ता भएको छ। विकास निर्माण सम्पदामैत्री छैन। त्यसैले सम्पदा मासिँदै गएको छ।
पुराना नभत्काएसम्म नयाँ बन्दैन भन्ने बुझाइले पनि सम्पदा मासिँदै गएको हो। सडक विस्तार, सरकारी र निजी भौतिक संरचना निर्माण, पुरातात्त्विक सम्पदाको ज्ञान अभाव र तिनको संरक्षण गर्ने दक्ष जनशक्तिको कमीले सम्पदा सहरीकरणको चपेटामा परेको छ।
काठमाडौं उपत्यका संरक्षण कोषका अनुसार सडक विस्तारका क्रममा ‘राइट अफ वे’ छोड्नुपर्ने कानुनी बाध्यताका कारण थुप्रै सम्पदा जोखिममा छन्। पछिल्लो समय सुनागुठीदेखि लेलेसम्मको सडक विस्तारमा लिच्छविकालीन सम्पदा मासिने क्रममा रहेको कोषको भनाइ छ। ‘गुर्जुधारा–हिटी मुख्य सडक, टोखा, हरिसिद्धि–गोदावरी, इमाडोल–लुभु, बुङमती–खोकनामा दर्जनौं सम्पदा जोखिममा छन्’, कोषका आर्किटेक्ट पदमसुन्दर महर्जनले अन्नपूर्णसँग भने, ‘एक ठाउँबाट अर्को ठाउँमा सार्दा पनि नष्ट हुने वा टुट्ने फुट्ने हुनसक्छ त्यसैले वैकल्पिक विकासबारे सोच्नुपर्छ।’ सरकार र नागरिकको प्रगतिका लागि विकास चाहिने भए पनि राष्ट्रको पहिचान बोकेको सम्पदालाई बचाउने सोच र नीति बढी महत्त्वपूर्ण हुने उनले बताए। उनका अनुसार जे कुराले हाम्रो सम्पदा र संस्कृतिलाई नष्ट गर्दछ, त्यसले राष्ट्रको पहिचान, गर्व र सम्पत्तिसमेत लोप गर्छ।
समयसमयमा मर्मतसम्भार एवं जीर्णोद्धारको कमी, मानिसमा सम्पदाको महत्त्व र संरक्षणको अज्ञानता, पुरातात्त्िवक सरकारी संस्थाहरू पुरातत्त्व विभाग, नगरपालिका र तिनका वडा कार्यालयको उपेक्षा आदिका कारण सम्पदा मासिँदै गएको सरोकारवाला बताउँछन्। सम्पदा विनाश हुने अर्को मुख्य कारण भूकम्पपछि समयमै जीर्णोद्धार र पुनर्निर्माण नहुनु देखिन्छ। सरकारले समयमै काम नगर्दा हराउने, कुहिने, चोइटिने र चोरी हुने काम भएको पुरातत्त्वविद्को भनाइ छ।
हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले सञ्चय कोषको भवन बनाउन गहिरो जग खन्नुपर्दा सुन्धाराको पानी सुकेको बताइन्। सहरीकरणले अधिकांश ढुंगेधारा सुक्दै गएका छन्, पोखरीहरू अतिक्रमणमा परेका छन् र पाटीपौवा मिचिएका छन्। उनका अनुसार सुरज आर्केडको भवनका कारण त्यहाँको चोक विलय भयो। अग्ला भवनका कारण उपत्यकाका धेरै बिहार ओझेलमा परेका छन्।
लगनखेलस्थित सप्तपाताल पोखरी सहरीकरणकै कारण आधाभन्दा बढी खुम्चिसकेको छ। स्मारक संरक्षण तथा दरबार हेरचाह ललितपुरको सम्पदा शाखाका प्रमुख काजी प्याकुरेलले भने, ‘मच्छिन्द्रनाथको जात्रामा मीननाथको रथ तान्ने क्रममा यही पोखरीमा आकाश र पातालको प्रतिनिधित्व गर्ने गरी माछा छोड्ने चलन रहे पनि अहिले नासिनै लागेको छ।’
विगतमा निजी घरमा पनि सम्पदा झल्कने वस्तु राखिन्थ्यो। आधुनिक घर निर्माणका क्रममा ती सबै हराउँदै गएको छ।
काठमाडौं उपत्यकाका अधिकांश नगरपालिकाले सम्पदा देखाएर आम्दानी गर्छन्। तर त्यसबाट उठेको रकम सम्पदा संरक्षणमा खर्च गर्दैनन्। पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालले सहरीकरणसँगै भौतिक संरचना निर्माणका क्रममा सीमाबाहिर गएर नगरपालिकाहरुले स्वीकृति दिँदा थुप्रै समस्या देखिएको बताए। वडा कार्यालयले सम्पदा मिचिँदा, मासिँदा वा नासिन थाल्दा बचाउ नगर्नुले पनि सम्पदाप्रतिको महत्त्व र बुझाइ कम भएको उनको भनाइ छ। उनले भने, ‘कतिपय सम्पदामा मानिसले आँखा गाडेका छन् भने कतिपय सम्पदाका गुठी भए पनि तिनको तिरो तिर्न नसकेर वा आम्दानी आफैं खर्च गरेर मासिँदै गएका छन्।’
पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सम्पदाको सवालमा प्राचीन स्मारक संरक्षण ऐन आकर्षित हुने भन्दै अतिक्रमण रोकिरहेको बताए। उनले भने, ‘सोह्रखुट्टेकै पाटी सडक विस्तारका क्रममा सार्ने सवालमा विभागले अडान लिएर जोगाएको छ। यस्ता थुप्रै काम गरे पनि मासिने र नासिने क्रम रोकिएको छैन।’