१९ वर्षे कुरा
‘तपाईंहरू त राष्ट्रिय रेडियोबाट एकदमै अश्लील बोल्नुहुन्छ, रेडियो नेपालले सेन्सर गर्दैन? हामी त परिवारसँग सुन्न नसकेर एक्लै–एक्लै बसेर कार्यक्रम सुन्छौं !’
मुस्कुराउँदै सोधेँ, ‘के अश्लील लाग्यो सर तपाईंलाई? ’
‘यौन सम्पर्कको कुरा गर्नुहुन्छ खुलेआम। महिनावारीबारे कुरा गर्नुहुन्छ। कन्डमको बारेमा कुरा गर्नुहुन्छ। तपाईंहरूले गर्ने यस्ता कुराले समाजमा नराम्रो सन्देश जाँदैन? फेरि तपाईंहरूको पनि त आफ्नो लाइफ छ, आफैंलाई पनि लाज लाग्नुपर्ने हैन र, यस्तो कुरा गर्नलाई? ’
उहाँको कुरा सुनेपछि मसँगैको साथीले पुर्लुक्क मतिर हेर्यो।
म भने सोचमग्न भएँ। माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित यौन सम्पर्कको भरपर्दाे माध्यम कन्डम र महिनावारीको विषयमा हामीले कार्यक्रमबाट गरेको छलफललाई अश्लील भन्नुभएपछि सक्किगो नि !
‘सुरक्षित यौन सम्पर्कका लागि कन्डम प्रयोग गर, सुरक्षित रूपमा यौन सम्पर्क राख, सुरक्षित छुवाइ र असुरक्षित छुवाइको बारेमा भन्दा त्यो कसरी अश्लील भयो? हामीले भन्ने त्यस्ता कुराले दिने सन्देश त राम्रो छैन र? हामीले सधैं यौनका कुरा अरूको अगाडि गर्नै हुँदैन, यौनको बारेमा कुरा गर्ने मान्छे छाडा हुन्छन्, उनीहरूको चरित्र नराम्रो हुन्छ भन्यौं। तर, सही समयमा सही जानकारी दिन नसक्दा हाम्रा बालबच्चाले उठाउने गलत कदमका बारेमा कहिल्यै पनि सोचेनौं। हामीले यस्ता कुरा लुकाउनेभन्दा पनि आफ्ना विद्यार्थी र बालबच्चाले सोधेको समयमा, ती कुरालाई सहज रूपमा लिएर उहाँहरूलाई यो भनेको यो हो भनेर सिकाउनु पर्छ। तब न उनीहरूले सही सूचना र जानकारी पाउँछन्’, मैले एकै सासमा फररर भनेँ।
सँगै बस्नुभएका अर्का सर बोल्नुभयो, ‘मिस तपाईंले खुलेआम यस्तो कुरा गर्दा मलाई त कस्तो–कस्तो पो भयो, मेरो त कानै रातो भयो। तपाईंलाई अप्ठ्यारो लाग्दैन मिस? तपार्इंको परिवारले थाहा पाउनुभयो भने के भन्नुहुन्छ होला? ’
ओहो ! म त उहाँको प्रश्नले अवाक् भएँ।
यस्तो किसिमको सिकाइबाट दैलेख सदरमुकाम नजिकै रहेका ती गाउँका विद्यार्थी साथीले के सिक्नुहुन्छ जस्तो लाग्यो।
लामो सास फेरेर मैले भनेँ, ‘यसमा अप्ठ्यारो लाग्ने कुरा के छ र सर? अनि मेरा परिवारका सदस्यले नै लज्जाबोध गर्ने कुरा के छ र? तपाईंलाई अप्ठ्यारो लाग्यो किनभने तपाईं अझै पनि त्यो मानसिकता लिएर बसिरहनु भएको छ। प्रजनन स्वास्थ्य, यौन शिक्षा, यौन दुव्र्यवहार, महिनावारी जस्ता कुरा लुकाउनुपर्छ, मनमा जति आगो बले पनि अरूका अगाडि व्यक्त गर्नु हुँदैन भन्ने कुरा सही होइन सर। यस्ता कुरा पछि आफैं सिकिन्छ भन्नुभयो भने कस्तो सिकिन्छ, के सिकिन्छ भन्नेमा पनि ध्यान दिनुपर्छ। यसमा लजाउनुपर्ने कुरा के छ र? तपाईं आज लजाएर जान्नुपर्ने कुरा जान्नु भएन भने कसरी सिकाउनुहोला र? ’
मै थप बोलेँ, ‘सर, यो अश्लील कुरा होइन। यहाँनिर छाडापन छैन। म एकछिनमा तपाईंका विद्यार्थीसँग यही विषयमा अन्तरक्रिया गर्छु। त्यही बेला थाहा हुन्छ, तपाईंका विद्यार्थीले तपाईंले भनेझैं ‘अश्लीलता’को बारेमा जान्न चाहेका छन्।’
सरले मेरो मुखमा हेर्न सक्नु भएन।
अनि सँगै गएको साथीलाई लिएर विद्यार्थी साथीहरूसँग अन्तरक्रिया गर्न लाग्यौं।
०००
पाँचथर, फिदिमको एउटा गाउँ। चार वर्षपहिले।
स्कुलमा साथीसँगको अन्तरक्रियामा एकजना बुवा पनि हुनुहुन्थ्यो। कार्यक्रम सकियो। उहाँले एउटा प्रस्ताव राख्नुभयो। प्रस्ताव त्यस्तो असामान्य थिएन।
उहाँको घरमा गएर चिया पिउँदै केही बेर कुरा गर्नुपर्ने थियो। हामीले घरै किन जानु, यहीँ कतै बसेर चिया पिउँदै कुरा गरौं न त भन्यौं। तर, उहाँले मान्नु भएन। हामी हिँड्यौं। स्कुलभन्दा केही मिनेटको दूरीमा रहेछ उहाँको घर। घर पुगेपछि साथीसँग मनका कुरासँग जोडिएको आफ्नो कुरा सुनाउन थाल्नुभयो।
किशोरकिशोरीहरू पारिवारिक दबाब, दौंतरी दबाब, करिअर, प्रेम सम्बन्ध जस्ता विभिन्न किसिमका समस्या भोगिरहेका हुन्छन्। आफूले भनेजस्तो भएन भने निराश भएर गलत व्यवहार पनि गर्न सक्छन्।
लाग्थ्यो, उहाँले मीठो भाकामा गीत गाउन थाल्नुभो, ‘भर्खर–भर्खर रेडियो ल्याएको थिएँ घरमा, साथीसँग मनका कुरा भन्ने कार्यक्रम सुनेँ एक दिन। एकदमै राम्रो लाग्यो, ज्यादै ज्ञानगुनका कुरा दिँदो रैछ, तर अलि मान्छेको अगाडि सुन्न अप्ठ्यारो लाग्यो के ! तैपनि, नियमित सुन्न थालेँ कार्यक्रम, पछि एफएम पनि छ्याप्छ्याप्ती खुले झन् सजिलो भयो। एक दिन के भयो भन्नुन्छ भने, उहाँ एकदम सुरमा देखिनुभयो, ‘कार्यक्रम त छोराले पनि लुकेरै सुन्दो रैछ, मैले पत्तो पाइहालेँ, अनि त्यसलाई बोलाएर भनेँ, तैंले नि सुन्दो रैछस् मैले नि सुन्छु, दुवैले सुन्नैपर्ने भएपछि किन लुकेर सुन्नु अब, लौ आइज तँ र म मात्रै किन आमा र बहिनीलाई पनि सुनाऊँ कार्यक्रम भनँे। त्यसले अलि लाज मानेजस्तो गर्यो।’
काठमाडौंबाट छुट्टीमा घर गएका छोरा घरि आफ्ना बुवालाई घरि हामीलाई हेर्दै थोरै लजाउँदै मुसुक्क हाँसे। बुवाका कुराले हामीलाई पनि उत्साहित बनायो। उहाँसँगको केही बेरको भलाकुसारी र आमाको हातको मीठो चिया पिएर हामीले त्यहाँबाट बिदा माग्यौं। हामी परै पुग्दासम्म पनि आमाबुवा र छोराले हात हल्लाइरहे।
हामी अझ ऊर्जाका साथ त्यहाँबाट फर्कियौं।
०००
दैलेख र पाँचथरका यी प्रतिनिधि घटनाले लामै समयसम्म घच्घच्याइरह्यो। दुवै घटना छुट्टै प्रकृतिका थिए। एउटा चार वर्षअगाडिको समय थियो भने अर्काे केही महिनाअघिको। आजको समाज त यस्तो छ भने, साथीसँग मनका कुरा सुरु गर्दाको १९ वर्षअगाडिको समाज कस्तो थियो होला? अहिले त यौन तथा प्रजनन स्वास्थ्य र महिनावारीको कुरालाई त्यसरी हेरिन्छ भने १९ वर्षअगाडि झन् कस्तो थियो होला?
आफूले बोल्न त के अरूले बोलेको सुन्न पनि हुँदैनथ्यो भन्ने सोच थियो। त्यो समयमा हाम्रो कार्यक्रमले छोराछोरी बिगारे, यस्तो कार्यक्रम बन्द गर्नुपर्छ भनेर अभिभावक तथा शिक्षकले आफ्ना छोराछोरी र विद्यार्थीलाई कार्यक्रम सुन्न नदिएको भनेर फिल्डमा जाँदा श्रोताले भन्नेदेखि लिएर श्रोताको लामै चिठी पनि आउँथे कार्यक्रममा। तर, श्रोता त्यस्ता पनि थिए जसले कार्यक्रम लुकेरै भए पनि सुन्थे र सधैं कार्यक्रम सुन्न चाहन्थे। र त, कार्यक्रम आज १९औं वर्षमा छ।
०००
सन् १९९९÷२००० को समयमा युनिसेफले नेपालमा युवाहरूका लागि सञ्चारको क्षेत्रमा केही गर्ने भन्ने निर्णय गर्यो। तर, के गर्ने भन्ने कुनै ठोस निर्णय भएको थिएन। त्यो समयमा नेपालमा एचआईभी एड्सको संक्रमण फैलिने क्रम एकदमै धेरै थियो। विभिन्न अध्ययन हेर्दा संक्रमित मान्छेमा, संक्रमणको समय हेर्दा किशोरावस्थादेखि २५÷२६ वर्षे उमेरमा धेरैजना संक्रमित भएको देखिएको थियो। त्यो उमेरमा हुन सक्ने संक्रमणको जोखिम कसरी न्यूनीकरण गर्ने त भन्ने कुरा हुँदा, सञ्चारको क्षेत्रमा नै केही गर्ने कि भन्ने भयो। त्यसपछि दुई वर्ष लगाएर झन्डै १६ सय किशोरकिशोरीलाई आधार मानेर नलेज एट्टिट्युड प्राक्टिस एन्ड स्किल्स (क्याप्स) नामको एउटा सर्वेक्षण गरियो। र, त्यो सर्वेक्षणको नतिजा नै साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुरु गर्ने एउटा प्रस्थान बिन्दु भयो।
त्यो समयलाई हेर्दा किशोरकिशोरी र युवालाई सहज र प्रत्यक्ष प्रभाव पार्ने माध्यम भनेकै रेडियो थियो। त्यसैले रेडियो कार्यक्रम नै हुनुपर्छ भन्ने कुरा आयो। तर, रेडियो कार्यक्रम त गर्ने तर कस्तो खालको रेडियो कार्यक्रम गर्ने विषय अन्योल नै थियो। लामै छलफल र गृहकार्यपछि जीवनोपयोगी सीपको माध्यमबाट त्यति बेलाका किशोरकिशोरी र युवाले भोग्ने समस्या तथा जोखिमयुक्त व्यवहारलाई उनीहरू आफैंले सहजै समाधान गर्नका लागि क्षमता वृद्धि होस् ताकि उनीहरूको त्यो क्षमता र सीपको विकास गरेर आफ्नो दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सकून्।
किशोरकिशोरीहरू पारिवारिक दबाब, दौंतरी दबाब, करिअर, प्रेम सम्बन्ध जस्ता विभिन्न किसिमका समस्या भोगिरहेका हुन्छन्। ती कुराबाट निराश भए, आफूले भनेको जस्तो भएन, आफ्नो भविष्य देखेनन् भने उनीहरू गलत व्यवहार गर्न सक्छन्। तर त्यस्ता खालका गलत व्यवहार नगरून् भन्नका लागि जीवनोपयोगी सीपको माध्यमबाट दैनिक जीवनमा उनीहरूले भोग्ने समस्या समाधान गर्ने, सीप र क्षमता विकास गर्ने उद्देश्यले रेडियो कार्यक्रम सुरु गरिएको थियो।
यसरी सुरु भएको रेडियो कार्यक्रमको सुरुआती दिन भने सहज थिएन। कार्यक्रमका लक्षित श्रोता नेपालभरका भए पनि विशेषगरी ग्रामीण भेग नै केन्द्रमा थियो। त्यसैले ग्रामीण भेगका किशोरकिशोरी र युवाको समस्यालाई बुझ्नु एकदमै आवश्यक थियो। तर, कार्यक्रमको टिममा सबैजना काठमाडौंमा जन्मेहुर्केका हुनाले उहाँहरूलाई ग्रामीण परिवेश राम्रोसँग थाहा पनि थिएन। यसले गर्दा सुरुआती दिनमा आफू पनि कति विषयमा अञ्जान रहेको कार्यक्रमकी संस्थापक उत्पादक विनीता श्रेष्ठ बताउँछिन्। आफू साथीसँग मनका कुरासँगै हुर्किंदै, परिपक्व बन्दै–सिक्दै गएको भन्छिन् उनी।
त्यो बेला कार्यक्रममार्फत उठाइने विषयवस्तु, महिनावारी, प्रेमसम्बन्ध, यौन तथा प्रजनन स्वास्थ्य जस्ता कुरालाई एकदमै नकारात्मक रूपमा हेरिन्थ्यो। गर्र्नै नहुने, भन्नै नहुने कुरा गरे भन्ने आरोप पनि आउँथ्यो। कतिपयले यस्तो कार्यक्रम बन्द गर्नुपर्छ, यसले समाजलाई बिगार्छ, केटाकेटीलाई बिगार्छ भन्ने जस्तो कुरा पनि हुन्थ्यो।
कार्यक्रमको शैली र प्रस्तुति पनि त्यो बेला चलिआएको फम्र्याटभन्दा भिन्नै थियो। कार्यक्रममा एकजना केटा र एकजना केटीबीच एकदमै अनौपचारिक छलफल हुन्थ्यो। तिमी सम्बोधन हुन्थ्यो। सुशील, संगीता, विनायक, भाष्कर मात्र भनिन्थ्यो; थर हुँदैनथ्यो। बोलीचालीकै शैलीले गर्दा कार्यक्रम हिट भयो। देशभर स्वतःस्फूर्त रूपमा श्रोता क्लबहरू खुले। हरेक हप्ता हजारौं चिठी आउँथे। यो शैलीलाई हामी च्याट भन्छौं, जुन त्यो समयमा एकदमै नयाँ थियो। केटा र केटी प्रस्तोता हुँदा जुनसुकै विषयमा पनि महिला र पुरुषको दृष्टिकोण के छ भन्ने बुझ्न सजिलो हुन्थ्यो।
कार्यक्रमको सुरुआती दिनमा जुनजुन विषयवस्तुलाई प्राथमिकताका साथ राखिएको थियो, अहिले पनि तिनै विषयवस्तु नै छन्। फरक यत्ति हो, १९ वर्षपहिले र अहिलेको सन्दर्भ मात्रै फरक छ। किनभने, किशोरावस्थामा हुने जिज्ञासा १९ वर्षपहिलेका किशोरकिशोरीमा पनि त्यही थियो र अहिलेका किशोरकिशोरीमा पनि त्यही नै छ। फरक यत्ति हो, पहिले सूचनाका स्रोत कम थिए, अहिले धेरै छन्।
@ACSabita