भाषा प्रशोधनको प्रश्न
नेपालमा प्रयोगको हिसाबले नेपाली भाषा पहिलो स्थानमा छ। यसले नेपालीहरूको दैनिक भाषिक आवश्यकताको परिपूर्ति गर्दै पनि आएको छ। सरकारी कामकाजको भाषा भएकाले सरकारी कामहरू यसैमा सम्पन्न हुन्छन्। सम्पर्क भाषा भएकाले राजनीतिदेखि सामान्य गतिविधिहरू पनि यसै भाषामा सम्पन्न हुन्छन्। त्यसै गरी शिक्षा क्षेत्रमा पनि यसको व्यापक रूपमा प्रयोग भइरहेको छ। नेपाली भाषाले सशक्तरूपमा खेलेको अर्को भूमिका आमसञ्चार पनि हो। विविध क्षेत्रका सम्बन्धित सूचनाहरूलाई सम्बन्धित गन्तव्यसम्म पुर्याउने काम यसै भाषामार्फत हुन्छ र जनताको सुसूचित हुने अधिकारको परिपूर्तिमा पनि नेपाली भाषाले ठूलो र महत्वपूर्ण भूमिका खेलिरहेको छ।'
भाषा र साहित्यको क्षेत्रमा पनि यसको ठूलो देन छ। नेपालका अन्य भाषाभाषिकाहरूमा पुस्तकहरू प्रकाशन हुने थालेका भए पनि बजारको ठूलो अंश यसै भाषाले ओगटेको छ। नेपाली भाषामा लेखिएका पुस्तकको प्रकाशन तथा बिक्रीलाई हेर्ने हो भने लेखक र पाठकको संख्या पनि तीव्र रूपमा बढेको पाइन्छ। यो दृष्टिबाट हेर्ने हो भने नेपाली भाषाको प्रयोगक्षेत्र बढ्दो क्रममा छ र यो कुरा सम्बन्धित भाषाका लागि शुभसंकेत पनि हो।
यो एउटा पक्ष मात्र हो भने अर्कोतर नेपाली भाषाको प्रयोग इन्टरनेटमार्फत विभिन्न सामाजिक सञ्जालहरू, वेबसाइटहरू तथा डाटा भण्डारण पनि निरन्तर रूपमा वृद्धि भइरहेको छ। प्रायः रेडियो, टेलिभिजन, समाचार पत्रिका, आदिका आआफ्नै वेबसाइट छन् जसमा निरन्तर नेपाली भाषाको प्रयोग भइरहेको छ। जसको परिणामस्वरूप आकाशमा नेपाली भाषाको भण्डारण क्रमशः बढ्दो क्रममा छ। यो एउटा सकारात्मक पक्ष हो तर यसरी भाषिक पाठको मात्रा बढ्दै जाँदा सूचनाको मात्रा यति धेरै हुन्छ कि प्रयोगकर्ताहरू अन्योलमा पर्न जान्छन् वा आफूलाई चाहिएको सूचना कसरी प्राप्त गर्ने भन्ने पत्तो हुँदैन, किनभने सबै प्रयोगकर्ता भाषाविज्ञान र कम्प्युटरविज्ञानमा विज्ञ हुँदैनन्।
नेपाली भाषाको यति धेरै व्यापक प्रयोग भइरहँदा आजका लेखक, पाठक तथा भाषाप्रेमीका लागि स्तरीय तथा मानक डिजिटल शब्दकोश, हिज्जे परीक्षक, व्याकरण परीक्षक आदिको विकास हुन सकेको छैन।
सूचनाहरूको संग्रह मात्र भएर पुग्दैन, यसलाई ज्ञानमा परिवर्तन गर्नु अति नै आवश्यक हुन्छ। यसका लागि भाषालाई प्रशोधन गरी विभिन्न किसिमका कम्प्युटर सफ्टवेयर उपकरणहरूको विकास गर्नुपर्ने हुन्छ, जसको मद्दतबाट प्रयोगकर्तालाई चाहिएको जस्तो भाषिक सूचना प्राप्त गर्न सकियोस्।
भाषाको प्रमुख भूमिका भनेको सञ्चार नै हो। यसले मानव सञ्चारलाई कुनै न कुनै प्रकारले सम्भव बनाएको हुन्छ। तैपनि यत्तिमा मात्र यसको भूमिका सीमित रहँदैन। सामाजिक सम्पर्क तथा ऐक्यबद्धता, राष्ट्रिय एकता, शिक्षा, व्यापार व्यवसाय, आमसञ्चार, पर्यटन, कला, साहित्यजस्ता धेरै क्षेत्रमा यसले प्रत्यक्ष रूपमा काम गरिरहेको हुन्छ। विचारको प्रवाह, सूचना, निर्देशन तथा आमजनका सरोकारका विषयहरूमा भाषाको ठूलो भूमिका रहन्छ। आमसञ्चारको विकास र कम्प्युटर इन्टरनेटको द्रुत विकासले भाषाको प्रयोगक्षेत्र व्यापकरूपमा वृद्धि भएको छ। हिजोको जस्तो पत्रपत्रिका र किताबमा मात्र सीमित रहनुपर्ने स्थिति छैन। संसारको एक कुनामा भएको विकास तथा अनुसन्धान, साहित्य, मनोरञ्जन जस्ता कुराहरू संसारको अर्को कुनामा छिटो, छरितो र सहज तरिकाबाट प्राप्त हुन सक्छ। यसैको परिणामस्वरूप अहिले नेपाली भाषा वेबसाइटहरूमा व्यापक रूपले प्रयोग भइरहेको छ र दिनानुदिन यसको प्रयोग पनि निकै बढिरहेको छ।
अब औद्योगिक उत्पादनहरूको खरिदबिक्रीका लागि पसल पसल धाइरहनुपर्ने स्थिति रहेन। इन्टरनेटमार्फत घरैबाट सामान खरिद गर्न सकिन्छ। यस कार्यका लागि उत्पादन गरिएका वस्तुहरू सम्बन्धित विभिन्न सूचनाहरू इन्टरनेटबाटै प्राप्त गरी आफ्नो रोजाइको वस्तु खरिद गर्न सकिन्छ भने व्यापारीहरूले पनि आफ्नो उत्पादनको विज्ञापन तथा प्रचारप्रसार इन्टरनेटमार्फत नै गर्न सक्छन्। उत्पादनप्रति ग्राहकको विश्वसनीयता, उत्पादनको गुणस्तर तथा यससम्बन्धी विभिन्न पक्षको मूल्यांकन गरी आफ्ना ग्राहकहरूको चाहनाअनुसार उत्पादनमा परिमार्जन गरी व्यवसायलाई सफलताको बिन्दुमा पुर्याउने काम भाषाको प्रयोगबाटै सम्भव भएको छ। तर नेपाली बजारमा यस्तो प्रविधि र प्रयोगहरू भर्खरै मात्र केही मात्रा सुरु भएको पाइन्छ यद्यपि यो पर्याप्त छैन। त्यसकारण यो क्षेत्रलाई बढावा दिन र प्रचुर मात्रामा नेपाली भाषाको प्रयोग वेबसाइटहरूमा ल्याउन विभिन्न किसिमका भाषिक प्रविधिहरूको विकास गर्न जरुरी छ।
नेपाली भाषाको यति धेरै व्यापक प्रयोग भइरहँदा आजका लेखक, पाठक तथा भाषाप्रेमीका लागि स्तरीय तथा मानक डिजिटल शब्दकोश, हिज्जे परीक्षक, व्याकरण परीक्षक, आदिको विकास हुन सकेको छैन। ५० प्रतिशतभन्दा बढी दोस्रो भाषी वक्ताहरू भएको देशमा कम्प्युटरको माध्यमबाट सजिलै नेपाली भाषा पठनपाठन गर्ने गराउने प्रविधिको विकास भएको छैन। एउटा अनुवादकका लागि राम्रो यन्त्रनुवादक बन्न सकेको छैन। दृष्टिविहीनका लागि कम्प्युटर स्क्रिनमा देखिने नेपाली पाठ पढिदिने सफ्टवेरको विकास हुन सुरु भए पनि पूर्ण विकास भएको छैन। विश्वविद्यालय स्तरमा धेरै विद्यार्थीले नेपाली भाषाको अध्ययन अनुसन्धान गर्छन् तर उनीहरूका लागि नेपाली भाषाको कुनै पनि तहको सहज विश्लेषण गर्ने कम्प्युटर सफ्टवेर विकास हुन सकेको छैन। यति मात्र होइन, हुनुपर्ने काम धैर भएका छैनन्। समग्रमा भन्नु पर्दा नेपाली भाषाको स्थान भाषा प्रविधिको हिसाबले निकै तल छ। यस पक्षमा विचार विमर्श, सम्भावनाहरूको खोजी, छलफल तथा योजनाहरू उच्चस्तरमै हुनुपर्ने देखिन्छ।
इन्टरनेट सञ्जालमा यसरी दैनिक रूपमा थपिँदै गएका भाषिक तथ्यांकहरू प्रशोधनको हिसाबले उपयुक्त हुँदैनन्। कुनै सूचना वा आवश्यक तथ्यांकको खोजी गर्नुपर्दा, कुनै एक ढाँचाको तथ्यांकलाई अर्को रूपमा लैजानु पर्दा त्यति सजिलो हुँदैन। यस्ता विभिन्न कार्य गर्नुपर्दा संरचनागत हिसाबले जम्मा गरिएका डाटाहरू आवश्यक पर्छ। भाषाको विश्लेषण गरी विशेष ढाँचामा सूत्रात्मक तवरबाट राखिएका तथ्यांकलाई कम्प्युटरले सजिलै पढ्न र बुझ्न सक्ने हुन्छ। यो कार्य गर्न भाषाको आन्तरिक तथा बाह्य दुवै रूपलाई अध्ययन गरी विश्लेषण गरिएका तथ्यांकहरूलाई कम्प्युटरले पढ्न सक्ने गरी भण्डारण गर्नुपर्ने हुन्छ। यस्तो कार्य सम्पादन गर्न एक पक्ष वा व्यक्तिबाट मात्र सम्भव हुँदैन। यस कार्यका लागि उपयुक्त भाषिक तथ्यांक संकलन गरिसकेपछि भाषा वैज्ञानिकले भाषाका विभिन्न पक्षको अध्ययन गर्नुपर्छ। यसरी विश्लेषण गरिएका भाषिक तथ्यांकलाई कम्प्युटरले पढ्न र बुझ्न सक्ने गरी कम्प्युटर वैज्ञानिकहरूको मद्दतबाट सो पाठलाई भण्डारण गर्नुपर्छ। भण्डारण गर्न आवश्यक कम्प्युटर सर्भर र त्यससँग सम्बन्धित प्रविधि आवश्यक पर्छ। र यसरी भण्डारण गरिएका तथ्यांकलाई गैरव्यापारिक प्रयोग गर्न सर्वसाधारण तथा इच्छुक व्यक्तिहरू वा समूहका लागि पनि खुला गरिदिनुपर्छ। त्यसपछि मात्र विभिन्न भाषा तथा सूचनासँग सम्बन्धित व्यक्तिहरूबाट भाषासँग सम्बन्धित विभिन्न प्रविधिको विकास कार्य सुरु हुन्छ। यही क्रममा विकास भएका विभिन्न प्रविधिलाई क्रमशः उपभोक्ता तथा प्रयोगकर्ताका लागि वितरण गर्न सकिन्छ।
नेपालमा यस कार्यका लागि आवश्यक जनशक्ति त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा उपलब्ध भइसकेको छ। साथै फाटफुट कामहरू पनि भइरहेको देखिन्छ। एउटै मात्र कुरा बाँकी छ, त्यो हो— सरकारको भाषा र भाषा प्रविधिप्रतिको सचेतता, गैरसरकारी क्षेत्रहरूको उत्सुकता र सम्बन्धित व्यक्तिहरूको समन्वयात्मक दक्षता। यसमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सो कार्यप्रतिको प्रतिबद्धता र कार्यको स्वामित्व लिने, जसमा आर्थिक पक्ष पनि पर्छ र अन्य सम्बन्धित व्यक्ति तथा संघसंस्थाबाट जनशक्ति र स्रोतसाधनको कार्यान्वयनमा विशेष समन्वय सिर्जना गर्ने हो भने यस सम्बन्धित धेरै कार्य सजिलै र समयमै गर्न सकिन्छ।
नेपाली भाषामा भइरहेका गतिविधि र विश्वका कतिपय भाषामा भइरहेका भाषा प्रविधिहरूलाई हेर्दा नेपाली भाषालाई पनि त्यो दिशातर्फ लैजान सकिने देखिन्छ। तसर्थ अब यो कार्यको थालनी गर्न सबैभन्दा पहिला नेपाली भाषाको भाषिक स्रोतहरूको विकास गरिनु पर्छ र प्रविधिका विकासतर्फ अगाडि बढ्नु पर्छ। यस विषयमा सबैको र विशेष गरी सम्बन्धित क्षेत्रको ध्यान जाओस्। किनभने देश विकासको मापनका धेरै सूचकमध्ये भाषा प्रविधि पनि एक हो।
भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविका सहप्राध्यापक प्रसाईंको विशेषज्ञता कम्प्युटर भाषाविज्ञान हो।