विमान अपहरणबारे अपहृत कथा

विमान अपहरणबारे अपहृत कथा

२०३० जेठ २८ गते नेपालको इतिहासमा त्यसअघि कहिल्यै नभएको एउटा घटना भयो। विराटनगरबाट काठमाडौंका लागि उडेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाज तीन जना युवाले अपहरण गरी भारतको फारबेसगन्ज पुर्‍याई विमानमा रहेको नेपाल राष्ट्र बैंकको पैसा नियन्त्रणमा लिई विमानलाई नेपालतिर फर्काइएको थियो। २०१७ पुस १ बाट थालनी भएको पञ्चायती व्यवस्था आफ्नो जवानीको उचाइमा थियो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा राणाशाहीविरुद्ध जीवनमरणको संघर्षमा होमिएका नेता र दलहरू राजाको सो कदमका कारण बिलखबन्दमा परेका थिए। कोही पञ्चायतलाई नै सकारेर राजाको समर्थन गर्न थालेका थिए, कोही पञ्चायती कोपभाजनबाट जोगिन प्रवासिएका थिए भने कति नेता के गर्ने र के नगर्ने अन्योलमै अलमलिइरहेका थिए। २०१७ को पुस १ गते पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बीपी कोइराला र गणेशमान सिंहलाई २०२५ कात्तिक २४ गते सुन्दरीजलस्थित सैनिक बन्दीगृहबाट रिहा गरियो। ‘पञ्चायतभित्र गएर प्रजातान्त्रिक सुधार गर्ने’ नेका नेता सुवर्णशमशेरको नीतिअनुसार रिहाइ गरिएका उनीहरूले पञ्चायतविरुद्ध जोरी खोज्ने कुनै काम नगर्ने अपेक्षा गरिएको थियो। तर, रिहालगत्तै ‘उपचारका लागि’ बीपी भारत प्रवासिए।

सुवर्णशमशेरको पञ्चायतलाई सहयोग गर्ने नीतिप्रति असहमति राख्दै बीपीले भारतबाटै पञ्चायतविरुद्ध सशस्त्र विद्रोह गर्ने तयारी थाले। तर, पञ्चायतविरुद्ध संघर्षको थालनी गर्न उनीसँग आवश्यक पूर्वाधारको अभाव थियो। इन्दिरा गान्धी नेतृत्वको भारत सरकार पनि बीपीलाई पञ्चायतविरुद्ध लड्न खुलेर समर्थन गर्ने मनस्थितिमा थिएन। पञ्चायतभित्र प्रजातान्त्रिक सुधारको नीतिमा मतभेद राखी बीपी समूहले पञ्चायतविरुद्ध सशस्त्र संघर्षको नीति अँगालेपछि सुवर्णशमशेरले कांग्रेस र त्यसका नेताहरूलाई दिँदै आएको खर्चबर्च बन्द गरिदिए। अन्तर्राष्ट्रिय समाजवादी मञ्चका नेताहरूसमक्ष सहयोगका लागि बीपीले युरोप भ्रमण गरे। तर, जवाफमा समाजवादी नेताहरूले भने, ‘भारतले सहयोग नगरेसम्म हामी तपाईंलाई सहयोग गर्न सक्दैनौं। भारतले सहयोग गरेको अवस्थामा तपाईंलाई हाम्रो सहयोगको आवश्यकता रहनेछैन।’

त्यस्तो परिस्थितिमा नेपाली कांग्रेस बीपी समूहसामु आफ्नो अस्तित्व जोगाउने र आफ्नो राजनीतिक लाइन पुष्टि गर्ने दुवै चुनौती थियो। सशस्त्र संघर्षमा होमिन तयार युवा दस्ता भएर पनि बीपी समूहसँग त्यसको बन्दोबस्तका लागि मनग्य पूर्वाधार थिएन। खर्चबर्च जोहो गर्न बीपी समूहका नेता गिरिजाप्रसाद कोइरालाले भारतीय गुप्तचर विभाग ‘र’का प्रमुख आरएन काओसामु आग्रह गर्दा उनले ‘नेपालमा के कुनै बैंक छैन’ भनी अप्रत्यक्ष रूपमा बैंक लुट्न संकेत गरेका थिए। भारतका विभिन्न ठाउँमा रहेका सशस्त्र संघर्षका लागि तयार लडाकुहरूको शिविरमा खाना खुवाउने पैसासमेत नहुँदा पैसाको जोहो गर्ने काओको संकेतलाई पछ्याउँदै बीपी समूहले विमान अपहरणको तयारी गरेको थियो।

बीपी समूहले लिएको सशस्त्र संघर्षको नीतिको प्रचार गर्ने, संघर्षका लागि आवश्यक आर्थिक बन्दोबस्त गर्ने र पञ्चायतविरुद्ध बीपीको संघर्षको नीतिलाई अविश्वासको कोणबाट हेरिरहेको भारतीय संस्थापनलाई केही गरेर देखाउने अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बीपी समूहको बलियो उपस्थिति देखाउने सोच नै विमान अपहरणका मूलभूत पृष्ठभूमि थिए।

इतिहासमा कति यस्ता घटना हुन्छन्, जुन घटनाले इतिहासमा कोशेढुंगाको काम गर्छ। अझ इतिहासको गतिलाई नै अर्को दिशातिर डोर्‍याउने गर्छ। पञ्चायतविरोधी संघर्ष र नेपाली कांग्रेसको इतिहासमा २०३० सालमा भएको विमान अपहरण एउटा त्यस्तै कोशेढुंगा थियो।

विमान अपहरण घटनाबारे अपहरणकर्ताकै भिन्नभिन्न मत आउनु इतिहास अध्येताका लागि रोचक विषय हो। गौतमको पुस्तकमा दुर्गा सुवेदीको भूमिकालाई धेरै प्रसंगमा सन्देहास्पद देखाउन खोजिएको छ भने सुवेदीको पुस्तक चाहिँ आत्मकथा हो।

त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सो ऐतिहासिक घटनाको राजनीतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने हेतुले अनुसन्धानमूलक ‘नेपाली कांग्रेस र विमान अपहरण’ पुस्तक प्रकाशन गरेको छ। विमान अपहरणबारे अध्ययन अनुसन्धान र पुस्तक लेखन सहप्राध्यापक डा. बद्रीनारायण गौतमले गर्नुभएको छ।

पुस्तकमा नेपाली कांग्रेसले कुन परिस्थितिमा विमान अपहरणको निर्णय गर्‍यो, त्यसको तयारी के कसरी भएको थियो, कसरी विमान अपहरण गरिएको थियो र विमान अपहरणपछि नेपालको राजनीति र नेपाली कांग्रेसको सशस्त्र संघर्षको योजनामा के कस्तो प्रभाव पारेको थियो भन्ने प्रश्नहरूको उत्तर दिइएको छ। विराटनगरका तीन युवा दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले झन्डै ३० लाख भारु बोकेर काठमाडौं उडेको शानेवानिको विमान अपहरण गरेका थिए। अपहरणको समग्र नेतृत्व भने गिरिजाप्रसाद कोइरालाले गरेको र फारबेसगन्जको पुरानो विमानस्थलमा विमान अवतरण गरी राष्ट्र बैंकको पैसा नियन्त्रणमा लिई दार्जिलिङ पुगी बीपीलाई सो पैसा जिम्मा लगाइएको पुस्तकमा उल्लेख छ।

पञ्चायतविरुद्ध लड्ने नेकासम्बद्ध क्रान्तिकारी युवाहरूको त्यो साहस चढ्दो जवानीमा मस्त पञ्चायती व्यवस्थाका निम्ति ठूलो चुनौती बन्यो। सशस्त्र संघर्षको तयारी गरिरहेको बीपी समूहलाई न्यूनांकन गर्दाको गल्ती त्यसपछि पञ्चायतले महसुस गर्‍यो र भारतस्थित बीपी समूहका अड्डाहरूमा पञ्चायतले आफ्ना गुप्तचर सञ्जालको विकास गर्‍यो। त्यसैको परिणामस्वरूप ओखलढुंगा काण्डमा कांग्रेसले ठूलो क्षति भोग्नु परेको थियो।

तत्कालीन समयमा नेपालका विमानस्थलहरूको कमजोर सुरक्षा व्यवस्था र बैंकमा गोपनीयताको अव्यवस्थाको अपहरणकारीहरूले भरपूर फाइदा उठाएको देखिन्छ। बाहिरी विश्वसँग भर्खरभर्खरै मात्र खुल्दै गएको नेपाली समाजमा विमान चढ्नु व्यापक जनताको हैसियत र कल्पनाभन्दा धेरै टाढाको विषय थियो। समाजका केही धनीमानी खातापिता परिवारमा सीमित थियो— वायुसेवा। राजनीतिक उद्देश्यका लागि विमान अपहरण पनि हुनसक्छ भन्ने कुरा नेपालका सत्तासीन वर्गको कल्पनाबाहिरको विषय थियो। त्यसमाथि बीपी समूहको सशस्त्र संघर्षको नीतिलाई पञ्चायती व्यवस्थाले मत्थर बनाउने प्रयास भइरहेको अवस्थामा विमान अपहरणको घटना अनपेक्षित थियो। न अपहरणकारीसँग त्यसबारे प्रत्यक्ष वा अप्रत्यक्ष कुनै अनुभव वा ज्ञान थियो, न त विमान चालकसँग कुनै अनुभव। त्यस्तो परिस्थितिमा विमान अपहरणले पञ्चायती व्यवस्थालाई त झस्कायो नै, त्यसको राजनीतिक सन्देशले संसारभरि तरंगित बनायो। पुस्तकमा वर्णित अपहरणको तयारी र अपहरणको क्षण आजको समयमा उभिएर गम्दा ज्यादै साहसिक तर निकै सरल महसुस हुनसक्छ। के त्यस्तो विमान अपहरण आज त्यति सरलतापूर्वक सम्भव होला ?

इतिहासलाई समृद्ध बनाएको विमान अपहरणलाई पञ्चायती व्यवस्थाले राजनीतिक अभिप्रायबाट घटना मान्न तयार भएन। त्यसलाई आपराधिक कार्यका रूपमा लगातार प्रचार गरिरह्यो। त्यही बेला पञ्चायती संसद्ले विमान अपहरणलाई अपराधका रूपमा परिभाषित गर्ने कानुन बनायो। त्यसअघि नेपालमा त्यससम्बन्धी कुनै कानुन नै थिएन।

भारतमाथि कूटनीतिक दबाबमार्फत अपहरणकारीलाई सुपुर्दगी गर्न नेपाल सरकारले आग्रह गरिरह्यो। कूटनीतिक रूपमा अप्ठ्यारो अवस्थामा परेको भारत सरकारले नेपाली कांग्रेससमक्ष ‘केही लाख बाँकी राखी राष्ट्र बैंकको पैसा राखिएको बाकस कुनै रेलवे स्टेसनमा छोड्न र त्यसबापत दोब्बर पैसा दिने’ प्रस्ताव गरेको थियो। तर, बीपीले सो प्रस्ताव अस्वीकार गरी सो घटनालाई अराजनीतिक अपराध प्रमाणित गर्ने पञ्चायतको प्रयास विफल बनाएको देखिन्छ।

पञ्चायतले त्यसलाई जे नाम दिए पनि विमान अपहरण पञ्चायतविरोधी संघर्षको इतिहासको त्यो हिस्सा थियो। त्यो इतिहासको गहिराइ नाप्ने लेखक र प्रकाशक सिनासको प्रयास कदरयोग्य छ।

विमान अपहरणमा संलग्न तीन युवा र अन्य सहयोगीबीच कतिपय विषयमा आएको फरक भनाइ र बुझाइको चर्चासमेत हुनुले घटनालाई पूर्णतामा बुझ्न मद्दत पुगेको छ।

यस विषयमा विमान अपहरणमा संलग्न एकजना अपहरणकारी दुर्गा सुवेदीको अलग संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह’ प्रकाशन भएको छ। सिनासले गौतमको पुस्तक २०७४ वैशाखमा प्रकाशित भएको छ भने सुवेदीको पुस्तक २०७५ असारमा प्रकाशित भएको छ।

‘नेपाली कांग्रेस र विमान अपहरण’ पुस्तकमा सुवेदीबारे भिन्न टिप्पणीको प्रक्रियामा सुवेदीको सो पुस्तक प्रकाशन भएको पनि हुनसक्छ। भूमिगत अवस्थामा सबै कुरा सबैलाई थाहा नहुनु स्वाभाविक हो। सबैसँग अंश अंशमा मात्र घटना र विषयवस्तुको जानकारी हुने गर्छ। नेताका सबै योजना र सम्पर्क सबै कार्यकर्तालाई थाहा नहुनु र कार्यकर्ताले भोगेको प्रतिकूलताबारे नेतालाई पनि थाहा नहुनु स्वाभाविक हो। त्यो भूमिगतकालको अनुशासन पनि हो। त्यस्तो कालखण्डको इतिहास लेखन अझ चुनौतीपूर्ण हुने गर्छ।

कर्ताले पूर्ण मानिरहेको घटना समग्रतामा घटनाको एउटा अंश मात्र बन्दा कतिपय सन्दर्भको बुझाइ नै फरक पर्ने गर्छ। पुस्तकमा त्यस्ता धेरै प्रसंगमा यस्तो भाव अनुभव गर्न सकिन्छ।

पुस्तक विमान अपहरणमै केन्द्रित भएर पनि पञ्चायतविरोधी संघर्षको समग्रतामा सो घटनाको महत्वलाई केलाउने प्रयासले ओजिलो बनाएको छ। पुस्तक पढिसकेपछि मनमा लाग्यो— यो विषयमा किन कोही चलचित्र निर्देशकले अहिलेसम्म चलचित्र बनाएनछ ?

भनाइ भेद

विमान अपहरणसम्बन्धी २०७४ सालमा प्रकाशित डा. बद्रीनारायण गौतमको पुस्तक ‘नेपाली कांग्रेस र विमान अपहरण’ र दुर्गा सुवेदी लिखित पुस्तक ‘विमान विद्रोह’को तुलनात्मक अध्ययन गर्दा केही कुरा बाझिएको देखिन्छ। गौतमले आफ्नो पुस्तकमा विमान अपहरणमा सुवेदीको भूमिका सन्देहास्पद देखाउन प्रयास गरेका छन्। अपहरणकारीमध्येका वसन्त भट्टराईको भनाइ उद्धृत गर्दै पुस्तकमा लेखिएको छ, ‘...सबैका आँखा छलेर आफ्नो झोलाबाट पिस्तोल र ग्रिनेड निकालिसकेकाले दुर्गालाई इसारा गरी उठ्न लागेकै बेला दुर्गा सुवेदीले अत्यन्त सानो स्वरमा ‘गर्ने हो र ? ’ पो भन्यो। आशाविपरीत दुर्गाले त्यसो भनेपछि एकदमै रन्थनिएको म उत्तेजित अवस्थामा नै सिटबाट उठेर सीधा अगाडि पुगी हातमा रहेको पिस्तोल पाइलटको घाँटीमा भिडाई हालेँ।’ (पृष्ठ १०९)

तर दुर्गा सुवेदीको पुस्तकमा भने यही प्रसंगलाई यसरी प्रस्तुत गरिएको छ, ँहामी बसेको केही मिनेटमै जहाज उड्यो। जहाज उडेको पाँच मिनेटमा म सीटबाट उठेँ र वसन्तलाई भनेँ, ‘भित्र हेर्न जाने होइन ? ’ (पृष्ठ १५)

सोही घटनाबारे तेस्रो अपहरणकारी नगेन्द्र ढुंगेलको भनाइ गौतमको पुस्तकमा लेखिएको छ, ‘विमानमा सँगै बसेका वसन्त भट्टराई एवं दुर्गा सुवेदी कोशी नदी देखा पर्नासाथ आपसमा खुसखुस कुरा गर्न थाले भने म पनि सतर्क भएँ। त्यसबखत भएका कुराकानीबारे काम फत्ते भएपछि वसन्त भट्टराईसँग सोध्दा ऐन समयमा दुर्गा सुवेदीले आफूसँग काम गर्ने कि नगर्ने भनी सोधेकोले ‘नगर्ने भए हामी यहाँसम्म किन आएको हो ? ’ भन्ने जवाफ दिएको जनाएको थिए। त्यसपछि तै पनि एक पटक नगेन्द्रसँग पनि सोध्छु भन्दै दुर्गा सुवेदी उठेकाले निहुरिएर आफ्नो झोलाबाट पिस्तोल एवं ग्रिनेड झिकेका वसन्त भट्टराई जुरुक्क उठेर अघि बढे।’ (पृष्ठ १११)

त्यस्तै वसन्तकै कुरा जोड्दै गौतमको पुस्तकमा लेखिएको छ, ‘केही मिनेटभित्रै मैले यति कार्य गरेको देखेपछि आफ्नो ठाउँबाट उठेर कम्मरमुनि पाइन्ट एवं कट्टुभित्र लुकाएको पिस्तोल निकाल्न हात घुसार्दैै अगाडि बढेका दुर्गा सुवेदीलाई प्लेनको स्टुअर्टले च्याप्प समाती हाल्यो। त्यसरी समातेको देख्नासाथ नजिकै रहेका नगेन्द्र ढुंगेलले झ्याट्ट पिस्तोल निकालेर स्टुआर्टलाई देखाउँदै धकेली दिएपछि ऊ तीनचित्त भएर पछारिएकाले फुत्किएका दुर्गा सुवेदीले थरथर काम्दै अगाडि आएर को पाइलटलाई पिस्तोलद्वारा कभर गर्ने काम गरे।’ (पृष्ठ १०९)

दुर्गा सुवेदी आफ्नो पुस्तकमा लेख्छन्, ‘त्यसै बेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो। अब ककपिटमा साँच्चिकै लडाइँ सुरु भएको थियो। फर्केर हेर्छु, ती त परिचारक रहेछन्। वसन्तलाई ठेलेर उनी पाइलटलाई छुटाउन आएका रहेछन्। तर, एकैछिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले। उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने, हामीले भनेको मान्ने कि यो ग्रिनेड यही खोलिदिऊँ।’ (पृष्ठ १६)

अपहरण गर्ने टोलीको नेतृत्व गरेका दुर्गा सुवेदीले विमानमा पुगिसकेपछि अपहरण गर्ने नगर्नेमा अन्यमनस्क भाव प्रकट गरे पनि विमान जब तोकिएको स्थानमा अवतरण गरेपछि सबभन्दा बढी उत्तेजित भएको गौतमको पुस्तकमा लेखिएको छ। त्यसमा लेखिएको छ, ‘फारबेसगञ्जको घाँसे मैदानमा विमान उत्रेर रोकिएपछि एकदमै हतारिएका दुर्गा सुवेदी उत्रनका लागि दगुरेकै शैलीमा ढोकामा पुगेको र बन्द ढोका खोल्न नजानेपछि लात्ताले हानेको उल्लेख पाइन्छ। ...यसरी ढोका खोल्नासाथ सिँढी झर्ने समयसम्म पनि नपर्खिकन माथिबाट फालहालेका दुर्गा सुवेदीले जमिनमा टेक्नासाथ हातको पिस्तोल नचाउँदै र विमानतर्फ ताक्दै हाहा, हुहु गरेर कराउने र विमानको चारैतिर दगुर्ने गर्न थालेपछि अब यसले पिस्तोल पड्काइहाल्छ भन्ने अन्दाज लगाएर विनोद अर्याल अगाडि बढेर उनको हातबाट पिस्तोल लिने काम गरी ठूलो अनिष्ट हुनबाट जोगाएको कुरा नगेन्द्र ढुंगेलले प्रस्ट पारेका छन्। (पृष्ठ १२३–१२४)

तर, दुर्गा सुवेदीले त्यस क्षणको वर्णन आफ्नो पुस्तकमा यसरी गरेका छन्, ‘म सिँढीबाट झर्न थालेँ। ...उनीहरूले त्यस्तो भनिरहँदा म जहाजबाट निस्किसकेको थिएँ।’ (पृष्ठ २३)

गौतमको पुस्तकको पृष्ठ ११३ मा विमान कहाँ लाने भनी मूल चालक आरके मानन्धरले सोध्दा दुर्गा सुवेदीले तिब्बत लाने भनेको प्रसंगसमेत उल्लेख छ। विमान अपहरणको सम्पूर्ण योजना र तारतम्य मिलाएका गिरिजाप्रसादले ‘अत्यन्त रुचाइएका अर्थात् मन पराइएकाले विमान अपहरण कार्यको नेता बनाइएका’ दुर्गा सुवेदीलाई विमान भारतको फारबेसगञ्जमा लानुपर्ने पूर्वजानकारी वा निर्देशन हुँदाहुँदै किन उनले विमान तिब्बतमा लाने भने, चालकले इन्धन नपुग्ने भनेकैले विमान तिब्बत गएन। कदाचित् इन्धन पुग्ने अवस्थामा के अपहृत विमान तिब्बत जाने थियो ? विमान तिब्बत गएको भए विमान अपहरणको प्रभाव कस्तो पर्ने थियो ?

बद्रीनारायण गौतमको पुस्तक पूर्णतः विमान अपहरणको घटनाबारे बहुकोणीय विश्लेषणमा आधारित पुस्तक हो। पुस्तकमा दुर्गा सुवेदीको भूमिकालाई अरू पनि केही प्रसंगमा सन्देहास्पद देखाउन खोजिएको छ। विभिन्न व्यक्तिका भनाइसमेत उद्धरण गरिएको पुस्तकमा घटनालाई पूर्णतामा बुझ्न प्रयास गरेको देखिन्छ।

अर्को पुस्तक ‘विमान विद्रोह’ दुर्गा सुवेदीका आत्मकथा हो। उनले पुस्तकमा विमान अपहरणबाहेक आफ्नो जीवनका धेरै आरोहअवरोहलाई पनि पुस्तकमा समेटेका छन्।

वैचारिक विषयमा कोही एक जनाको मतका आफ्नै व्याख्या र पृष्ठभूमि हुनु स्वाभाविक हो। भूमिगतकालमा घटनाको व्याख्यामा भिन्नता आउनु अन्यथा पनि हो। एक्लो व्यक्तिले भोगेको कुनै घटना हो भने त्यसमा भोक्ताको व्याख्या नै आधिकारिक मानिन्छ। तर, विमान अपहरण घटनाबारे विमान अपहरणका तीन जना अपहरणकर्ताकै भिन्नभिन्न मत आउनु इतिहास अध्येताका लागि रोचक विषय हो। घटनाको व्याख्यासँग मात्र नभई सन्देहसमेत जोडिएको अवस्थामा यसबारे घटनाका पात्रहरूमाथि भविष्यमा पनि प्रश्न भने जरुर उठिरहनेछ।

तथापि इतिहासको निकै संवेदनशील समयमा भएको सो विमान अपहरणले पञ्चायती व्यवस्थालाई हतास बनाउन र कमजोर तुल्याउन भूमिका खेलेको छ।

आगामी जेठ २८ गते विमान अपहरणको घटना ४६ वर्ष पुग्दै छ। ४६ वर्षअघिको त्यो इतिहासबारे निकै ढिला भए पनि केही थान पुस्तक नेपाली साहित्यको भण्डारमा थपिनु भने निकै सुखद छ। @LawojuNiraj 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.