जीवनको भुमरी
न्यायाधीश बेनाजा विडप आफ्नो चिरपरिचित पाइप सल्काएर कार्यालयको ढोकामा बस्यो । कम्बरल्यान्ड पर्वत शृंखलाको आधा भाग अपरान्हको हलुका तुवाँलोले नीलो–खैरो देखिन्थ्यो । एउटा छिर्के पोथी बस्तीको मुख्य सडकमा ढल्कँदै बेवकुफ पाराले क्वायँ क्वायँ गरिरहेको थियो ।
सडकमा पाङ्ग्राको कुचकुच, त्यसपछि धुलोको पातलो बादल र एउटा गोरुगाडामा रेन्सी बिलब्रो र उसकी पत्नी देखा परे । गाडा न्यायाधीशको ढोकामा रोकियो । दुवै जना ओर्लिए । रेन्सी फुस्रो खैरो छाला र पहेलो कपाल भएको छ फिट टिङ्रिङग अग्लो युवक थियो । पहाडको शान्त छायाँ सुरक्षा कवचजस्तै ऊमाथि परेको थियो । पत्नीचाहिँ अथाह इच्छाहरूसँग थकित, झुकेकी र उदास देखिन्थी । यी सबै कुरामा गुमाउनुको बेहोसीबाट सताइएको कमजोर विद्रोह झल्कन्थ्यो ।
न्यायाधीशले जुत्ता लगायो र तिनीहरूलाई भित्र छिर्न दियो ।
‘हामी पारपाचुके गर्न आएका,’ आइमाईले कटहरको हाँगामा मच्चिएको हावाजस्तो स्वरमा भनी । यसमा कुनै प्रतिक्रिया वा आशंका छ कि भनेर उसले रेन्सीको अनुहार निहारी ।
‘अँ, पारपाचुके’, उदास स्वरमा उसले पनि भन्यो, ‘हामी कसैगरी अब सँगै बस्न नसक्ने भयौँ ! यो पहाडको काखमा एउटी आइमाई र लोग्नेमान्छे एकअर्कालाई सहेर बस्नु दिक्कलाग्दो भयो । जब तिनी जंगली बिरालो वा उल्लुझैँ व्यवहार गर्छिन्, कुनै पनि पुरुषलाई टिक्न मुस्किल पर्दो रहेछ ।’
‘जब ऊ काम न काजको छ भने’, पत्नीले भनी, ‘बोलीमा कुनै सोमत नभएको, सधैँ घोप्टे अनुहार लगाउने, ह्वीस्की तन्काउने, यस्तो भोकाहालाई खुवाएर बस्न मलाई धेरै गाह्रो भयो ।’
‘ऊ खाना पकाउने भाँडाको बिर्को झटारो मिल्काउँछे’, प्रतिवादमा रेन्सीले भन्यो, ‘अनि त अनेक आरोप लगाएर मेरो निद्रै हराम गरिदिन्छे ।’
न्यायाधीश उठ्यो । नालिसवालालाई बस्न उसले एउटा मेच र काठको स्टुल दियो । टेबुलमा कानुनको किताब पल्टायो । चस्मा पुछ्यो र र कलम समायो ।
‘कानुन र संविधानले पारपाचुकेसम्बन्धी खासै केही भनेको छैन । तर, न्यायाधीशले बिहे गराइदिन सक्छ भने पारपाचुके पनि गराउन सक्छ भन्ने त प्रस्टै छ,’ न्यायाधीशले भन्यो ।
रेन्सी बिलब्रोले सुरुवालको बगलीबाट सुर्तीको सानो प्याकट निकाल्यो । त्यसबाट पाँच डलरको नोट निकाल्दै भन्यो, ‘यतिका लागि मैले भालुको छाला र दुइटा फ्याउरा बेच्नुपर्याे । हामीसँग भएको पैसा जम्मा यति हो ।’
‘पारपाचुकेका लागि लाग्ने पैसा पाँच डलर नै हो,’ न्यायाधीशले भन्यो । उसले त्यो नोट भित्री गन्जीको गोजीमा बेवास्तापूर्वक राख्यो । उसले फुलस्केप कागजको आधा भागमा पारपाचुकेको आदेश लेख्यो र त्यसको प्रतिलिपि उता¥यो । रेन्सी बिलब्रो र उसकी पत्नीले त्यो आदेश धैर्यपूर्वक सुने जसले उनीहरूलाई एक अर्काबाट अलग गराउँदै थियो ।
‘रेन्सी बिलब्रो र उसकी पत्नी एरिएला बिलब्रो दुवैले आज मेरो सामु उपस्थित भएर वाचा गरे, अबदेखि उनीहरू एक अर्कालाई प्रेम र सम्मान गर्ने छैनन् । एक अर्काको आदेश पनि मान्ने छैनन् । कुनै खराब मनस्थितिमा होइन, शान्त मनले राज्यको नियमअनुसार उनीहरूले पारपाचुकेका लागि समावेदन गरे । ईश्वरको कृपाले सबै राम्रै हुने छ । बेनाजा विडप, जस्टिस अफ पिस, पिडमोन्ट काउन्टी, टेनेसी ।’
न्यायाधीशले रेन्सीलाई दस्तावेजको एक प्रति थमाउन खोज्दै थियो । एरिएलाको बोली सुनेर ऊ रोकियो । दुवै जना उसलाई ट्वाल्ल परेर हेर्न थाले । दुई पुरुषको बोधो पुरुषत्वलाई कुनै महिलाको अनपेक्षित मागले चुनौती दियो ।
‘जज साप, त्यो दस्तावेज अहिल्यै उसलाई नदिनुहोला । कुरा मिलिसकेको छैन । पहिला मैले आफ्नो अधिकार पाउनुपर्छ ! क्षतिपूर्ति पाउनु मेरो अधिकार हो । कुनै पुरुषले उसकी पत्नीलाई यति सजिलै पारपाचुके दिन कहाँ पाउँछ ? मलाई अब मेरो दाजुकहाँ हगब्याक पहाडतिर लाग्नु छ । तपाईं देख्दै हुनुहुन्छ, मेरा खुट्टा खाली छन् । मलाई एक जोर जुत्ता र अरू केही सामान किन्नु छ । रेन्सी पारपाचुके चाहन्छ भने उसले क्षतिपूर्ति तिरोस् ।’
रेन्सी लाटोझैँ वकबन्द भएर उभिरह्यो । क्षतिपूर्ति तिर्नुपर्ला भनेर उसले सोचेकै थिएन । महिलाहरू सधैँ तर्साउने खालको र नसोचेको मुद्दा उठाउँछन् । न्यायाधीश बेनाजाले यसबारे न्यायिक निर्णय हुनुपर्ने महसुस ग¥यो । क्षतिपूर्तिबारे त विधि विधान पनि मौन थियो । तर, महिलाको खुट्टा नांगै थियो । हगब्याग पहाड नाक ठोकिनेगरी ठाडो र अप्ठेरो थियो ।
‘एरिएला बिलब्रो,’ उसले औपचारिक भाषामा भन्यो, ‘क्षतिपूर्तिबापत तपाईं कति पैसा चाहनुहुन्छ, भन्नुस् ?’
‘जुत्ता र यस्तै खात्राकखुत्रुक किन्न मलाई पाँच डलर भए पुग्छ ।’
‘यति रकमको माग बेठिक होइन,’ न्यायाधीशले भन्यो, ‘रेन्सी बिलब्रो, यो अदालत तपार्ईलाई पारपाचुके स्वीकृत हुनुअघि प्रतिवादीलाई पाँच डलर तिर्न आदेश दिन्छ ।’
‘मसँग त पैसै छैन,’ रेन्सीले गहिरो सास फेर्दै भन्यो, ‘जति भएको सबै मैले जजसापलाई बुझाइसकेँ ।’
‘होइन भने,’ न्यायाधीशले चस्मा भिरेर गहिरो नजरले हेर्दै भन्यो, ‘तपाईंले अदालतको मानहानि गरेको ठहर्छ ।’
‘मलाई भोलिसम्मको समय दिनुभयो भने कतैबाट जुटाउन सकौँला कि !’ लोग्नेचाहिँले भन्यो, ‘यस्तो क्षतिपूर्ति कसैले तिर्नुपरेको मलाई थाहा थिएन ।’
‘भोलि तपाईंहरू यहाँ उपस्थित भएर अदालतको आदेश पालना नभएसम्मका लागि यो मुद्दा यहीँ रोकिन्छ,’ न्यायाधीशले भन्यो, ‘त्यसपछि मात्र पारपाचुकेको आदेश जारी गरिने छ ।’ न्यायाधीश ढोकामा बस्यो र जुत्ताको तुना खोल्न थाल्यो ।
‘हामी पनि जिआह काकाकहाँ जान्छौँ र आज राति त्यहीँ बस्छौँ,’ रेन्सीले निर्णय गर्याे । ऊ गाडाको एक छेउमा बस्यो । एरिएला अर्कोतिर । डोरीको झड्का पाएपछि रातो डल्ले साँढे अगाडि बढ्यो र पाङ्ग्राको छायाँलाई पछाडि छाड्दै गाढा गुड्न थाल्यो ।
न्यायाधीश बेनाजा विडअप पुरानो पाइप सल्काएर तान्न थाल्यो । अपरान्ह ढिलो गरी साप्ताहिक खबरपत्रिका आइपुग्यो । गोधुलीले अक्षर धमिलो नहुँदासम्म ऊ पत्रिका पढेर बसिरह्यो । त्यसपछि ठूलो मैनबत्ती बाल्यो । खाना खाने समय कुरेर जून नझुल्केसम्म पढिरह्यो । उसको बसाइ पपलरको झाडीनजिक ओरालोमा थियो । ऊ चेरीको झाडीले अन्धकार भएको खोला तरेर पारि पुग्यो । झाडीबाट एउटा आकृति देखा प¥यो र उसको छातीमा राइफल तेर्स्यायाे । आकृतिको ह्याट तलतिर तानिएको थियो जसले गर्दा उसको करिब पूरै अनुहार छोपिएको थियो ।
‘पैैसा जति छ, तुरुन्तै निकाल,’ आकृतिले भन्यो, ‘ह्यानत्यान केही बोल्ने होइन । मेरो होस ठेगानमा छैन । हडबडमा यो ट्रिगर दबिन सक्छ ।’
‘मसँग त पाँ... पाँ... पाँच डलर मात्र छ,’ भित्री गन्जीबाट पैसा निकाल्दै न्यायाधीशले भन्यो ।
‘त्यसलाई बिँडीजस्तै बनाएर बेर र बन्दुकको ब्यारेलमा घुसारिदेऊ ।’
नोट नयाँ थियो । न्यायाधीशका औँलाहरू कापिरहेका थिए । नोट राइफलको ब्यारेलमा घुसार्न उसलाई केही अप्ठ्यारो भयो ।
‘लौ, अब गए हुन्छ,’ डाँकुले आदेश दियो ।
न्यायाधीश ढिलो नगरी हिँड्यो ।
भोलिपल्ट, डल्ले रातो साँढेसँग घिस्रिँदै गाडा न्यायाधीशको कार्यालय आइपुग्यो । न्यायाधीश बेनाजा विडपले जुत्ता लगायो । यिनीहरू आउँछन् भन्ने उसलाई थाहा थियो । उसकै उपस्थितिमा रेन्सी बिलब्रोले उसकी पत्नीलाई पाँच डलरको नोट दियो । न्यायाधीशका प्रशासकीय आँखाले यसलाई राम्ररी ठम्यायो । नोट घुम्रिएको थियो मानौँ यसलाई बिँडीझैँ बटारेर बन्दुकको ब्यारेलमा घुसारिएको थियो । तर, उसले कुनै प्रतिक्रिया जनाएन । सत्य के हो भने अरू नोट यसरी घुम्रेको हुँदैन । न्यायाधीशले दुवै जनालाई पारपाचुकेको प्रमाणपत्र दियो । दुवै जना एक अर्काबाट मुक्तिको निश्चय मनमा थुपारेर भयभीत मुद्रामा चुपचाप उभिए । पत्नीले लज्जित तर नियन्त्रित नजरले रेन्सीलाई हेरी ।
‘तिमी त गाडा लिएर घर जान्छौ होला,’ उसले भनी, ‘बिहानको रोटी टिफिन बक्समा छ । कुकुरले नभेटोस् भनेर उसिनेको मासु डेक्चीमा राखिदिएकी छु । तिमी पकाउन अल्छी छौ, त्यही भए पनि खानू है ? अँ, अनि आज राति घडीलाई दम दिन नबिर्सनू !’
‘तिमी अब एड दाजुकहाँ जाने होला, होइन ?’ रेन्सीले उदासिनतापूर्वक सोध्यो ।
‘म रात पर्नुअगाडि त्यहाँ जान्छु होला । मलाई स्वागत गर्न उनीहरू पक्कै तयार हुँदैनन् । तर, त्यहाँबाहेक मेरो जाने ठाउँ कहाँ छ र ? छुट्टिने यो तरिका ठिक हो । लौ त, बिदा पाऊँ रेन्सी ! सायद तिमी पनि यही सोचिरहेका होलाऊ ।’
एरिएला मौन भई । उसले पाँच डलरको नोट र छोडपत्रको प्रमाणपत्र छातीसँगैको गोजीमा राखी । न्यायाधीश बेनाजा विडपले चस्मापछाडिका उदास आँखाले नोट अदृश्य भएको दृश्य हेरिरह्यो ।
त्यसपछि संसारका गरिबहरूकोे ठूलो भीड र ठूलो लगानीकर्ताको सानो समूहको क्रमबारे उसको मनमा कुरा खेल्न थाल्यो ।
‘एक्लै परे पनि दुःखी नहुनू रेन्सी ! घरलाई माया गर्नु !’ एरिएलाले भनी ।
रेन्सीले घामको किरणले नीलो देखिएको कम्बरल्यान्ड पहाडतिर हेर्याे। उसले एरिएलालाई बेवास्ता गरिरह्यो ।
‘एक्लै हुनुमा मलाई कुनै आपत्ति छैन’, उसले भन्यो, ‘कोही कोही बहुलाएर छोडपत्र माग्छन् भने तिनलाई जबर्जस्ती कसरी बस भन्न सकिन्छ र ?’
‘मैले होइन, मात लागेका मान्छेहरूले छोडपत्र चाहेका थिए,’ एरिएलाले काठको मुढातिर हेर्दै भनी, ‘नत्र कसैले कहिल्यै घर छाड्ने कुरा गरेकै थिइन ।’
‘कसैले घर छाड्दिनँ भनेको मैले सुनेको थिइनँ ।’
‘कसैले त्यस्तो भनेको पनि थिएन । भैगो, अब म हिँड्नु ठिक होला ।’
‘त्यो घडीमा कसैले दम दिनेवाला छैन ।’
‘म तिमीसँगै गाडामा फर्केर, तिम्रो लागि, मात्र तिम्रो लागि त्यो घडीमा दम दिऊँ त रेन्सी ?’
पहाडवासी रेन्सीको अभिव्यक्ति भावुकताविरुद्ध थियो ।
उसले आफ्ना लामो हातले एरिएलाका मसिना र खैरा हातहरू समायो । एरिएलाको सारा हृदय उसको शून्य अनुहारमा प्रकट भयो ।
‘कुकुरहरूले अब तिमीलाई दुःख दिने छैनन्,’ रेन्सीले भन्यो, ‘म पापी र निच हुँ । तिमी त्यो घडीमा दम देऊ एरिएला ।’
‘मेरो हृदय तिमीसँग त्यही क्याबिनमा छ रेन्सी,’ ऊ फुसफुसाई, ‘अब म फेरि बहुलाउन चाहन्नँ । अब हामी जाऊँ रेन्सी । यति बेला हिँडे घाम डुब्दा हामी घर पुग्छौँ ।’
न्यायाधीश बेनाजा विडपको ध्यान तिनीहरूमाथि केन्द्रित भयो । ती दम्पती उसको उपस्थितिलाई बिर्सेर जानै लागेका थिए ।
‘टेनेसी राज्यका नाममा म तपाईंहरूलाई यसका नियम, कानुन उल्लंघन गर्न मनाही गर्छु । यो अदालत दुई प्रेमी हृदयबीचको असमझदारी र झगडाको बीउ मेटिएको देख्दा आनन्दित छ । तर, राज्यका कानुन र नैतिकतालाई लागू गराउनु यसको कर्तव्य हो । अदालत सम्झाउन चाहन्छ, पारपाचुकेपछि तपाईंहरू अब श्रीमान्–श्रीमती रहनुभएन । अब तपाईंहरूलाई विवाहित जोडीको सुविधा हुने छैन ।’
एरिएलाले रेन्सीको पाखुरामा हात राखी । भर्खरै उनीहरूले जीवनको पाठ बुझेका थिए । तर, के अब उसले रेन्सीलाई सधैँका लागि गुमाएकी हो ?
‘तर, यो अदालत पारपाचुकेका सारा प्रतिबन्ध हटाउन तयार छ,’ न्यायाधीशले भन्यो, ‘छुट्टिएका दम्पती फेरि मिल्न चाहेमा अदालतले विवाह गराइदिन पनि सक्छ । यसका लागि फेरि पाँच डलर शुल्क तिर्नुपर्छ ।’
न्यायाधीशका शब्दहरूमा एरिएलाले उज्यालो प्रकाश देखी । बिस्तारै उसका हात आफ्नो छातीमा पुग्यो जसमा टाँसिएको गोजीमा उसले पाँच डलरको नोट राखेकी थिई । फडफडाइरहेको ढुकुरजस्तै नोट न्यायाधीशको टेबुलमा फर्फराउन थाल्यो । रेन्सीको हातमा हात राखेर न्यायाधीशको मुखबाट पुनर्मिलनका शब्दहरू सुन्दा एरिएलाका फुस्रा गालामा रङ भरिए ।
रेन्सीले उसलाई बग्गीमा उक्लन सहयोग गर्याे र आफू पनि उक्लिएर उसको छेउमा बस्यो । डल्ले रातो साँढेले बग्गी तान्न थाल्यो । हातमा हात राखेर उनीहरू पहाडतिर लागे ।
न्यााधीश बेनाजा विडप ढोकामा बस्यो र जुत्ता फुकाल्यो । एक पल्ट फेरि उसले त्यो चिसो नोट भित्री गन्जीको गोजीमा राख्यो । एक पल्ट फेरि उसले आफ्नो पुरानो पाइप सल्कायो । एक पल्ट फेरि त्यो छिर्के पोथी बस्तीको मूल सडकमा निस्क्यो र बेवकुफ पाराले कराउन थाल्यो ।
प्रख्यात अमेरिकी कथाकार ओ हेनरीको एउटा कथा संग्रह छ, ‘ह्वीर्लिगिग अफ लाइफ’ । यो कथा त्यही संग्रहको शीर्ष कथाको अनुवाद हो । समान वर्ग र गन्तव्य भएका पात्रहरूबीच जति बेमेल भए पनि अन्ततः उनीहरू मिल्न बाध्य हुन्छन् भन्ने कथाको सन्देश अनुपम छ । दुई सय वर्षअघिको अमेरिकी ग्रामीण जीवनको वर्णन गर्ने यो कथा आज पनि संसारको जुनसुकै कुनाको मानवीय जीवनमा उत्तिकै सान्दर्भिक छ ।
उल्था : अभय श्रेष्ठ @avayashrestha