सुर्ती सबै अंगलाई खतरनाक
काठमाडौं : सुर्ती किन खाएको ? प्रश्न सुन्नेबित्तिकै अम्मलीको जवाफ हुन्छ, ‘टेन्सन भएर।’ यही प्रवृत्ति किशोर किशोरीदेखि अधबैंसेमा पनि देखिन थालेपछि चिकित्सक चिन्तित भएका छन्।
धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले शरीरका प्रायः सबै अंगमा क्षति गर्छ। सुर्तीजन्य पदार्थका रूपमा धूमपान वा सुर्ती सेवनका लागि बनाइएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा कक्कड, सुर्तीलगायतलाई लिइन्छ। खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने कार्य धूमपान भनिने चिकित्सक बताउँछन्। यी पदार्थ मुखमा राख्ने, नस लिने वा सेवन गरेर स्वास्थ्य जोखिम पार्नेको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रोगको बोझ
चुरोट एवं सुर्तीमा निकोटिन हुन्छ। वरिष्ठ नाक, कान र घाँटी रोग विशेषज्ञ प्राडा ढुण्डिराज पौडेलका अनुसार चुरोटमा ७० वटा रासायनिक पदार्थ हुन्छन्। जसमध्ये २० वटा पदार्थ क्यान्सरजन्य हुन्छन्। धूमपान एवं सुर्तीजन्य पदार्थको सेवनबाट मुख, घाँटी, श्वासनलीमा क्यान्सर हुने डा. पौडेलले बताए।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेल फोक्सोको क्यान्सर, दम, ब्रोङकाइटिसलगायत समस्या उत्पन्न हुने बताउँछन्। धूमपान गर्नेको रक्तनली सुकेको बाँसझैं कक्रक्क पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको भनाइ छ। उनले भने, धूमपान गर्ने व्यक्तिको रक्तचाप वृद्धि गर्नुका साथै रक्तनलीमा समस्या उत्पन्न हुन्छ यसले ह्रदयाघातसमेत निम्त्याउँछ।’
गर्भवतीका लागि धूमपान झन् हानिकारक मानिन्छ। ‘गर्भमा रहेको शिशुको स्वास्थ्यमा समेत प्रभाव पार्छ। धूमपान गरिरहेका व्यक्तिको नजिकसमेत बस्नु हुँदैन’, डा. पौडेलले भने।
बर्सेनि २५ हजारको मृत्यु
सुर्तीजन्य पदार्थको सेवनले बर्सेनि अकालमा ज्यान गुमाउनेको संख्या बढेको छ। स्वास्थ्य मन्त्रालयका उपसचिव पुष्करराज नेपालका अनुसार करिब ९० लाख व्यक्तिले सुर्तीसेवन गर्छन्। जसमध्ये प्रतिवर्ष करिब २५ हजार व्यक्तिको सुर्ती सेवनका कारण विभिन्न रोगबाट ज्यान जाने गर्छ।
सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नपाइने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको छैन। शिक्षण संस्था, सार्वजनिक शौचालय, होटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास एवं सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टरमा धूमपान गर्न पाइँदैन। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन, २०६८ मा यो व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको स्वास्थ्य मन्त्रालयका पदाधिकारी स्विकार्छन्। उपसचिव नेपाल भन्छन्, ‘प्रत्येक घरधुरीमा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति छन्। अहिले सुर्तीजन्य पदार्थको उपयोगमा युवाको आकर्षण बढेको छ। सार्वजनिक स्थलमा सेवन निषेध छ। तर, प्रभावकारी ढंगले कानुन कार्यान्वयन भएको छैन।’
स्वास्थ्य मन्त्रालय, समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा मात्र नभई सामाजिक एवं आर्थिक क्षति हुने बताउँछन्। ‘ स्कुल एवं कलेजको शुल्क तिर्ने पैसाले विद्यार्थीले चुरोट सेवन गर्नु चिन्ताको विषय हो’, उनले भने।
लत छाड्दा फाइदा
चुरोटको सेवन बन्द गरेको दिनदेखि नै हृदयाघातको जोखिम कम हुन्छ। धूमपान तथा सुर्ती सेवन त्याग्दा फाइदा पुग्छ। छाडेको केही सातामै थकाइमा कमी हुन थाल्छ। आत्मबल बढेको महसुस हुन्छ।
रक्तसञ्चारमा सुधार आउँछ। स्वाद र सुँघ्ने क्षमतामा सुधार हुन्छ। पाचनशक्ति बढ्छ। शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन।
कसरी छाड्ने ?
– व्यस्त रहने
– चुरोट सेवन गर्न मन लागे ध्यान अन्यत्र मोड्ने
– धूमपान गर्ने साथीसँगको संगत छाड्ने
– सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाउने
– राति चाँडै सुत्ने
– तनाव नलिने
– सुर्ती सेवन छाड्दाका फाइदाबारे विमर्श गर्ने
– मनोबल उच्च राख्ने
चुरोट सेवन बन्द गरेको अरूलाई सुनाउँदा पुनः सेवन गर्नबाट रोक्न मद्दत गर्छ