जोस छ होस छैन, होस छ जोस छैन
राष्ट्रमा खोजेजतिको विकास नहुनु, समाजमा अराजकता फैलिँदै जानु, स्वार्थी र लोभीपापीको संख्या बढ्दै जानु, सार्वजनिक सम्पत्तिको संरक्षण नहुनु, नीतिनिर्माण कार्यमा ढिलाइ हुनु, भ्रष्टाचार बढ्दै जानु, नीतिनियम र कानुनमा आफ्नै स्वार्थ हावी हुनु, व्यक्तिहरू शान्त नभई तनावग्रस्त हुनु, जताततै बेथिति बढ्दै जानुको एक मात्र कारण हो जोस र होसको सन्तुलन नहुनु। समाज र नेतृत्व तहमा खटिएका व्यक्तिमा दुई किसिमका व्यक्तित्व हुन्छन्। कसैमा जोस छ होस छैन, कसैमा होस छ जोस छैन। समाज र राष्ट्रको अस्थिरता र अराजकता हेर्दा सहजै अनुमान गर्न सकिन्छ– उनान्सय प्रतिशत व्यक्तिमा जोस छ तर होस छैन।
यस्ता प्रवृत्तिका व्यक्ति बाहिरबाट हेर्दा अति सक्रिय, कुरैकुराले देश खाने, कुरैकुरामा विकास, भाषणकै भरमा देश हाँक्ने उत्साह दिएजस्तो गर्छन् तर परिणाम नगन्य हात लागेको हुन्छ। देश र समाजमा यिनीहरूको क्षमताको परिणाम, गुणात्मकता त नगन्य मात्रामा छँदै छ, आफैं स्वयंमा पनि यिनीहरू शान्त र आनन्दित हुँदैनन्। भित्रभित्रै अस्थिरता र तनावले ग्रसित हुन्छन्। कर्मका आधारमा कर्मठ देखिए पनि बुद्धिमत्ता र विवेकको हिसाबले शून्य हुन्छन्। समाजमा देखिने उपद्रव, अन्याय र अनैतिकताको परिणाम यसकै प्रतिफल हो। जोस भएका तर होस नभएका व्यक्तिमा न संस्कार र धार्मिकताको गुण फलित भएको हुन्छ न त व्यावहारिकता र दीर्घकालीन सोचको नै। कर्मठता र जोसको निकासका लागि, प्रतिफलका लागि आन्दोलन, बन्द–हडताल, अराजकता यही कर्ममा जीवन बिताइरहेका हुन्छन्।
अर्काथरी व्यक्तिको प्रवृत्ति हुन्छ। यसमा होस छ तर पटक्कै जोस छैन। अन्याय पनि सहेर बस्छन्। आफ्नो र अर्काको हितका लागि सही आवाज उठाउन सक्दैनन्।
कुशल नेतृत्व चुन्नमा सधैं द्विविधामा हुन्छन्। राष्ट्र र समाजलाई विकासको गति दिन, आफू स्वयं सम्हालिन र शान्ति अनि आनन्दपूर्ण जीवन जिउन होश र जोस दुवैको सन्तुलन आवश्यक पर्छ। बुद्ध जन्मेको देशमा बुद्धुहरूको बाहुल्य हुनुको कारण यही हो। वास्तवमै राष्ट्रको सकारात्मक विकास र आफ्नो आत्मविकास चाहने हो भने जोस र होसको सन्तुलन र समता भावको जरुरी छ। यही समत्व भावले मात्र व्यक्तिलाई कर्म र ज्ञान दुवैको सम्मिलित धारामा स्थापित हुन मद्दत गर्छ। संसार र अध्यात्म दुवैको सन्तुलनमा आनन्दित र सन्तुष्ट जीवन जिउन प्रत्येक व्यक्तिमा जोस र होस साथसाथै विकास हुनुपर्छ। भौतिक सम्पदाको आर्जन र बाहिरी सुख मात्र मानिसको लक्ष्य होइन। बाहिरी सम्पदाले मात्र मानिस खुसी रहनै सक्दैन। बाहिरी सम्पन्नता बढ्दै जानुको परिणाम नै अतृप्ति, असीमित चाहना, बेचैनी र व्यक्तिहरूमा बढ्दै गएका रोगहरूले देखाएका छन्। अनेक तरिकाले जति सम्पत्ति आर्जन गरेको छ, मानिस त्यति नै विक्षिप्त र अधैर्य हुँदै गएका छन्। जति पाए पनि तृप्ति र शान्ति भेटिँदैन बरु तृष्णा र आवश्यकता बढ्दै छन्। ऊर्जा सबै बाहिरै खर्च भइरहेको छ।
आत्मसम्मान र सन्तुष्टिको रेखा कतै कसैमा देखिँदैन। अधिकांशको मुहार हँसिलो, प्रसन्न र प्रेमपूर्ण देखिँदैन। किनकि, बहिर्मुखी चाहना मात्र जाग्नु बेहोसीको परिणाम हो र यसले कहिल्यै आन्तरिक सुखमा लैजाँदैन। भित्रको आनन्द र शान्ति महत्त्वपूर्ण पक्ष हो। लाखौं मूल्य पर्ने विस्तारा भए पनि निद्रा भएन भने भण्डारभरि खानेकुरा भए पनि भोक लागेन र रोग र शोकले खान मिल्दैन भने, हजारौं मित्रजन भएर पनि वास्तवमै पर्दा हृदयदेखि खुलेर सहयोग गरेनन् भने के अर्थ यी सब आर्जन गर्नुको ? बाहिरका सबै कमाइ क्षणिक हुन्छन्। दुःख मुक्तिले मात्र पूर्णता मिल्दैन। भित्रको आनन्द जो सदा अमृतमय छ, शाश्वत छ त्यसलाई पनि ध्यान साधनाद्वारा बोध गर्नु जरुरी छ। बाहिरको सम्पदा र चेतनाको स्तर दुवैमा सन्तुलन आवश्यक छ। यही नै जोस र होसको सन्तुलनको अवस्था हो।
भित्रको आनन्द जो सदा अमृतमय छ, शाश्वत छ त्यसलाई पनि ध्यान साधनाद्वारा बोध गर्नु जरुरी छ।
जोस र होसलाई सन्तुलनका साथ लिएर जीवन जिउने व्यक्तिले प्रत्येक क्षणलाई अस्तित्वको उपहार मानेको हुन्छ। प्रत्येक क्षणमा प्रेमल, करुणावान्, सहयोगी, मित्रवत्, होसपूर्ण र ध्यानस्थ बनेर हेर्ने कलाको विकास गरेको हुन्छ। आमाबुवाको सेवामा तन, मन, धन र समय छुट्ट्याएको हुन्छ। साथीभाइसँगको मित्रतालाई सम्यकपूर्वक कायम राख्छ। असहाय, दीनदुःखीलाई सहयोग गर्न हिच्किचाउँदैन। कसैलाई केही सकारात्मक सहयोग, जीवन रूपान्तरणका सूत्रहरू प्रदान गर्न कन्जुस्याइँ गर्दैन। जे गर्न सकिन्छ आफ्नो अवस्थाअनुसार त्यो अहिल्यै गर्छ। वर्तमानमा नगर्ने अनि पश्चात्ताप गर्ने बानी हुँदैन।
व्यक्तिले गरेका कर्मले भविष्यमा प्रभाव पार्लान् तर रोजाइ वर्तमान नै हो। घडीका तीन सुई हे¥यौं भने थाहा लाग्छ– सेकेन्ड सुई तीव्र गतिमा सेकेन्ड–सेकेन्डमा चलिरहेको हुन्छ, मिनेट सुई मिनेट–मिनेटमा घुम्छ भने घन्टा सुई १–१ घण्टामा। यसो हेर्दा सेकेण्ड सुईको तुलनामा मिनेट सुई र घण्टा सुई रोकिएजस्तो लाग्छ तर सबै चलिरहेछन् आफ्नै गतिमा। कुनै सुई रोकिएका छैनन् तर यिनको आफ्नै गति छ। त्यसैले त ठीक समय बताइरहेको छ घडीले। यही नै हो होसको कला। तीनवटै सुई एकै रफ्तारमा चल्न थाले भने घडीले ठीक समय बताउला त ? त्यसैगरी जीवनरूपी हाम्रो घडीलाई सुईरूपी कर्मद्वारा चिन्ने कोसिस गर्ने हो भने होस र जोस दुवैको सन्तुलनमा जीवन बाँच्न प्रेरणा मिल्छ। हामीलाई कुन कामका लागि कुन रफ्तारमा किन कुद्नुपर्ने हो पत्ता लगाउनु पर्छ। अन्यथा हामी जतिबेला पनि कुद्यौं भने घडीका तीन सुई एकनासले चलेर सही समय बताउन नसकेजस्तै हाम्रो जीवनको उद्देश्य थाहा लाग्दैन र आनन्द अनि प्रेमल भएर जिउने अवसरबाट वञ्चित हुने छौं।
दिनभरमा आठ–नौ घण्टा जीविकोपार्जनका लागि अनेक व्यवसाय र नोकरीमार्फत कर्मयोगमा व्यस्त, ७–८ घण्टा वि श्राम र निद्राका लागि, ४–५ घण्टा अन्य कामका लागि समय छुट्ट्याए पनि बिहान–बेलुका १–१ घण्टा समय निकालेर योग र ध्यानलाई दिन सके मात्र जीवन सन्तुलनमा चल्छ। होस नहुनु बेहोसीको परिणाम हो। परम् गुरु ओशो भन्नुहुन्छ– पाप भन्ने चिज छ भने त्यो बेहोसीको अवस्थामा छ अन्यथा, सजगता र जागरण नै धर्म हो।
ध्यान र जागरणको अभ्यास नभएपछि व्यक्ति मनको भड्कावमा भड्किन्छ अनि ऊ बेहोसी हुन पुग्छ। तरकारीमा दुईपटक नुन राख्नु, चियामा चिनी राख्न बिर्सनु, खोलेको पानीको धारा या ग्यास बन्द गर्न बिर्सनु मात्र बेहोसी होइन, अरूको सम्पत्तिमा आँखा लगाउनु पनि बेहोसी नै हो। चौबीसै घण्टा मोबाइलमा झुन्डेर तरकारी डढेको थाहा नपाउनु मात्र बेहोसी नभएर के गरें, के बोलें, के खाएँ, कता गइरहेको छु, मेरो मार्ग सही छ या छैन थाहै नपाउने अवस्था बेहोसीको अवस्था हो।
सन्तुलित जीवनशैलीले नै आत्मविकास हुन्छ। जुन चिज हामीले आर्जन गरेका हुँदैनौं, आफ से आफ अस्तित्वबाट आफैं मिलेको हुन्छ त्यो नै शाश्वत र आत्मीय कुरा हुन्। प्रत्येक व्यक्ति र राष्ट्र हाँक्ने, जिम्मेवारी पाएका नेतृत्वका लागि पनि जोस र होससहितको सन्तुलन जीवन बाँच्ने सूत्रहरू उत्तिकै महत्त्वपूर्ण छन्।