कुण्ठाबारे फेरि

कुण्ठाबारे फेरि

दुई साताअघि यौन कुण्ठाबारे मेरो लेख( अनुदारको हद)प्रकाशित भएको थियो। प्रतिक्रिया आए, प्रशस्त। इमेलमार्फत सबैभन्दा धेरै, अनि मेसेन्जरमा। प्रतिक्रिया पठाउने अधिकांश पुरुष पाठक थिए। ज्यादै नगन्य महिला। प्रतिक्रियाहरूमा पुरुष लेखकले मात्र लेखिरहेको विषयमा महिलाले पनि लेखेकोमा प्रशंसा थियो। त्यस्तै नकारात्मक प्रतिक्रियाहरू पनि आउलान्, हतोत्साही नहुनु पनि लेखिएका थिए, केहीमा।

केही आफन्तले पनि लेखबारे कुरा गर्नुभयो। नलेखेको भए हुने भन्नुभयो धेरैले। अरूले नलेखे पनि हुने, तैंलेचाहिँ किन लेख्नुपर्ने भन्ने तर्क थियो उहाँहरूको। बितेका व्यक्तिगत कुरा कोट्याएर नलेख्न उहाँहरूको जोड थियो। हो नि, हाम्रो समाजमा यस्ता विषयहरूमा सार्वजनिक रूपमा बोल्ने अभ्यास छैन। यौनबारे पाठ्यपुस्तकमा भएका सामग्री त नपढाइने समाजमा सार्वजनिक छलफल गर्न खोज्नु, त्यो पनि महिलाबाट त्यति अपेक्षित होइन, जान्दाजान्दै लेखेँ। किनकि हामी कोही पनि यो समाजको संरचनाभन्दा बाहिर छैनौं। समाजले थाहा नपाएको कुनै पनि व्यक्तिगत कुरा छैन।

लेखबारे मलाईभन्दा धेरै प्रतिक्रिया आयो श्रीमान्लाई। अनौठा मेसेजहरू आए, सँगै बसेर हेर्‍यौं। धेरैले तिमीहरूको सम्बन्ध सकिइसकेको वा सकिने क्रममा रहेको हो (? ) भनेर सोधेका रहेछन्। कसैले ‘पढेलेखेकी केटी बिहे गरेको फल’ लेखेका थिए। प्रत्युत्तरमा उसले केहीलाई धन्यवाद लेख्यो, अरूलाई उत्तर दिएन। त्यस्तै प्रकृतिका एकाध फोन पनि आए। ऊ हाँसी मात्र रह्यो, सुनिरह्यो। खासै प्रतिक्रिया जनाउने स्वभाव छैन उसको।

‘कि अब नलेखौं यस्ता लेख ? ’ मैले उसको प्रतिक्रिया जान्न चाहेँ।

‘किन नलेख्ने ? राम्रा नराम्रा प्रतिक्रिया त आइहाल्छन् नि। तिमीलाई नै अब नलेखौं जस्तो लागेको भए, अर्कै कुरो’, उसले यति बोल्यो।

दाइ (जेठाजु)की छोरी क्याम्पस पढ्छे, मेरो लेख फेसबुकमा सेयर गरिछ। ‘यस्तो पनि सेयर गर्ने हो ? समाजले के भन्छ ? ’ पनि भने रे उसका साथीहरूले।

‘के लेख्नै नहुने कुरा नै लेखेँ त छोरी ? ’ ऊसँग सोधेँ।

‘त्यस्तो होइन’ उसले सहज उत्तर दिई। फेसबुक च्याटमा ‘जे पायो त्यही’ भन्नेहरू, यस्तो लेख सेयर नगर भन्छन्। खासमा समाज आडम्बरी छ, आन्टी’, उसले भनी।

हो त। यौनबारे, महिला मनोविज्ञानबारे हाम्रा धार्मिक किताबहरूमा पनि प्रशस्त लेखिएका छन्। यस सम्बन्धमा सिगमन्ड फ्रेडलाई पटकपटक उद्धृत गरिन्छ।

महिला यौनमनोविज्ञानबारे लेखिएका केही नेपाली साहित्य पढेकी छु। विजय मल्लले अनुराधा लेखे। बीपीले ‘सुम्निमा’, ‘तीन घुम्ती’ उपन्यासलगायत धेरै कथा लेखे। हृदयचन्द्रसिंहले ‘स्वास्नीमान्छे’, परशु प्रधानले ‘सीताहरू’ लेखे। यस्तै विषयमा पछिल्लो समय रामलाल जोशीका किताब आए। यी त मैले पढेका र अहिले सम्झिएका पुस्तकहरू मात्र हुन्। अरू पनि बजारमा प्रशस्त होलान्।

महिला मनोविज्ञानबारे पुरुष लेखकले कत्तिको ठम्याएका छन्, कुन्नि ? तर यस्ता लेखकले मनोविज्ञान निर्माणमा भने ठूलै भूमिका खेलेका हुन्छन्। उदाहरणका लागि नारी सुन्दरतासँग जोडिएका मानकहरू पुरुषले बनाएका छन्। छालाको रंगबारे, शरीरको बनावटबारे, वक्षस्थल, कम्मर र नितम्बबारे तथा हिँडाइ–बोलाइ आदिबारे पुरुष निर्मित मान्यताहरू झन्डै स्थापितजस्तै छन्। र अधिकांश हामी त्यसैलाई पछ्याइरहेछौं।

भाइले चितवनमै किन्ने भन्यो, पछि भाइ नै बस्ने हो’, आमाबुवाको उत्तर। ऊभन्दा झन्डै आठ वर्ष कम उमेरको दस वर्षे भाइ निर्णयकर्ता बन्यो। अचेल छोरीलाई पहिलेजस्तो ‘अर्काको घर जाने जात’ भनेर सोझै नभनिएला तर धेरै परिवारको छोरीप्रतिको व्यवहार उस्तै छ।

पुस्तकहरूकै सन्दर्भमा पनि पुरुष लेखकले बनाएका ‘प्लट’लाई महिला आँखाबाट हेर्दा कस्तो बन्दो रहेछ भन्ने उदाहरण प्रतिभा रायको ‘याज्ञसेनी’ र नीलम कार्की निहारिकाको ‘चीरहरण’ उपन्यासलाई लिन सकिन्छ। यस्ता पुस्तक धेरै होलान्, तर मैले पढेको छैन। पारिजातद्वारा लेखिएको ‘शिरीषको फूल’ कुनै पुरुषले लेखेको भए, सकम्बरीको चरित्र कस्तो हुन्थ्यो होला ? वा सुयोगवीरको चरित्र कसरी प्रस्तुत गरिन्थ्यो होला ? प्रायः किताब पढ्दै गर्दा यस्ता सवाल मनमा आइरहन्छन्।

मेरा लेख त आफ्नै सामान्य अनुभूति मात्र हुन्। केही पुस्तक पढेँ। अध्ययनप्रति रुचि लाग्यो। समाज देखेँ। त्यही समाजका केही चरित्रबारे धारणा बन्यो। लेखेँ, आफूले देखेभोगेको समाज। र, त्यो परिवेशले सिर्जना गरेको मेरो मनोविज्ञान, मेरा कुण्ठाहरू।

पुरुषले लेखे, श्रीस्वस्थानी कथामा महादेवको लिंग देखेर ऋषिपत्नीहरू पछि लागेका कुरा। समाजमा पाच्य भयो। टेलिभिजनमा कन्डमको विज्ञापन आउँदा किशोरी मनमा आएको कौतूहलबारे लेख्दा म ‘हलुका र छाडा’ विषयमा लेख्ने भनिन्छु भने कुनै गुनासो छैन।

हुर्केको सामाजिक परिवेशसँग असन्तुष्टि छन्। समाजमा परिवर्तन हुनुपर्ने र गर्नुपर्ने लागेका कुराहरू छन्। समाजसँग असन्तुष्टि छ, त्यसैले कुण्ठाहरू छन्। यौन मात्र किन, अन्य धारणा पनि बनेका छन्।

किशोरावस्थाका सिकाइ तथा भोगाइहरूले धेरै कुराको निर्धारण गर्ने रहेछ। किशोरावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनबारे पुस्तकहरूमा लेखिएका छन्, केही पढाइएका पनि छन्। घरपरिवार र समाजको सामाजिक र आर्थिक व्यवहारले व्यक्तिमा पार्ने प्रभावबारे खासै छलफल भएको देखिँदैन।

किशोरावस्थामा प्रवेशसँगै छोराहरूको संसार फराकिलो हुँदै गएको तर छोरीहरूको संसार साँघुरिँदै गएको मैले स्पष्ट महसुस गरेकी थिएँ, अझै देख्छु। कुनै किशोरलाई ‘अब ठूलो भइस्, एक्लै जा’ भनेको तर कुनै किशोरीलाई ‘अब ठूली भइस, एक्लै हिँड्ने होइन’ बरु भाइलाई लिएर जा भन्ने अभिभावकहरू अझै हुनुहुन्छ।

यस्ता व्यवहारले उमेर बढेसँगै छोराहरूको बोल्ने अधिकार, हिँड्ने अधिकार, निर्णय लिने अधिकार बढ्दै जान्छ भने छोरीहरूका यस्ता अधिकार कटौती हुँदै जान्छ र यसले विस्तारै छोरीहरूको आत्मबल पनि कम हुँदै जान्छ। यस्तो म किशोरी भएको समयमा अझ बढी थियो। यसले परिवारसँग आफ्नोपनको अभाव बढ्दै जान्थ्यो। भन्न सकिन्थेन र यसले कुण्ठा बढाउँदै लैजान्थ्यो।

विद्यालयबाट शैक्षिक भ्रमण लैजाने कुरा थियो। बुवाको जागिर बाहिर, आमाले निर्णय लिनुपथ्र्यो। आमा पठाउने पक्षमा हुनुहुन्थ्यो। तर ठूलोबुबाले हप्काउनु भयो, छोरी मान्छेलाई किन बाहिर पठाउने ? छोरी भएकैले शैक्षिक भ्रमण जानबाट आफूलाई रोक्न सकिनँ। आमासँग कुरा मिलाएर गएँ। फर्किएपछि मेरो चरित्रमाथि प्रश्न गरियो, त्यति बेला जति बेला समाजले बनाएको चरित्रको मापदण्ड पनि मलाई थाहा थिएन। समाजका, परिवारका यस्तै व्यवहारले कुण्ठा भर्दै लग्यो।

आठ कक्षामा पढ्थेँ। बुवाले काठमाडौंमा जग्गा किन्ने र घर बनाउने कुरा गर्नुभयो। घरमा सल्लाह भयो, खुसी लाग्यो। जग्गा हेर्ने क्रममा, सीतापाइला वा बालाजु कता किन्ने भन्ने कुरा हुँदै थियो। मैले पनि आफ्नो धारणा राखेँ। बुबाले भन्नुभयो, ‘पछि दाइ बस्ने हो, उसले जहाँ भन्छ, त्यहीँ किन्ने।’ अब मेरो तर्कको कुनै अर्थ रहेन। त्यसपछि काठमाडौंमा बन्ने घरसँग मेरो उत्साह रहेन। यसरी आठ कक्षा पढ्दै गर्दा नै मैले आफूलाई परिवारबाट बाहिर पारिएको महसुस गरेँ।

यो थियो, आजभन्दा झन्डै बीस वर्षअघिको कुरा। मैले यस विषयमा कुरा गर्दै गर्दा जेठाजु दाइकी २० वर्षे छोरीले यस्तै कुरा सुनाई। केही वर्षअघि उसको परिवारमा पनि काठमाडौं वा चितवन कहाँ जग्गा किन्ने भन्ने छलफल भयो रे। उसले काठमाडौंमा ठीक हुने तर्क गरिछ। केही समयपछि जग्गा चितवनमा किनियो।

चितवनमा किन ? उसले सोधी रे। ‘भाइले चितवनमै किन्ने भन्यो, पछि भाइ नै बस्ने हो’, आमाबुवाको उत्तर। ऊभन्दा झन्डै आठ वर्ष कम उमेरको दसवर्षे भाइ निर्णयकर्ता बन्यो। ऊ केही बोलिन रे। अचेल छोरीलाई पहिलेजस्तो ‘अर्काको घर जाने जात’ भनेर सोझै नभनिएला तर धेरै परिवारको छोरीप्रतिको व्यवहार उस्तै छ।

मेरो मनमा सधैं खट्किने विषय छ। उच्चशिक्षा पढ्ने क्रममा गणित पढ्छु भनेकी थिएँ। दाइहरूले नपढ भने। उनीहरूको तर्क थियो, ‘गणित पढे म उत्तीर्ण हुन सक्दिनँ, उत्तीर्ण नभए मेरो बिहे हुन गाह्रो हुन्छ।’ स्कुल पढ्दा मसँगै पढेको तर परीक्षामा मेरोभन्दा कम नम्बर ल्याएको साथी विज्ञान पढेर अहिले इन्जिनियर छ। तर मलाई भने केटी मान्छेले पढ्ने शिक्षा संकाय हो, बिहेपछि जागिर खानैपर्ने भए पनि घरनजिकको विद्यालयमा काम पाइन्छ भनियो। त्यसैले छोरीको हकमा पढाइजस्तो विषयमा पनि बिहेको सहजीकरणका लागि हो भन्ने स्कुलिङ दिइयो। यसले मलाई भविष्यमा स्वनिर्भर बन्न सक्छु भन्ने भावनामा ठेस पुगेको अझै महसुस गर्छु।

त्यसो त महिलाका यस्ता विषयका लेखनबारे प्रशस्त आलोचना हुने गरेको छ। शुभेच्छुकहरू पनि तिमीहरूका लेख ‘चुलाचौका र नारी केन्द्रित लघुताभास’ भन्दा माथि उक्लिन सकेनन् भन्ने गर्नुहुन्छ। हो नारी लेखक तथा अभियन्ताहरू वर्षौंदेखि यिनै विषयमा लेखिरहेछन्, बोलिरहेछन्। आजभन्दा झन्डै एक सय वर्षअघि नै दिव्या कोइराला, योगमाया आदिले विद्यमान सामाजिक संरचना र त्यसले महिलाको जीवनमा पारेको असरविरुद्ध विद्रोही आवाज उठाएका थिए। २००७ सालको सेरोफेरोबाट पनि चन्द्रकान्ता मल्ल, मंगलादेवी सिंह, पुण्यप्रभादेवी आदिले संगठित रूपमा महिला अधिकारका विषयलाई अगाडि बढाएका थिए। त्यसपछिको यो सत्तरी वर्षसम्म यस विषयमा लगातार महिला आवाजहरू उठिरहे। र आजसम्म पनि हामी यही विषयमा बोल्न अभिशप्त छौं।

त्यसो त यस बीचमा नारी अधिकार र समानताका विषयमा उपलब्धि नै भएनन् भन्न खोजिएको होइन। २०१५ सालको आमनिर्वाचनमा चुनाव जितेर २०१६ साल जेठमा गठन भएको विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा द्वारिकादेवी ठकुरानी स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री भइसकेकी थिइन्। त्यसपछि पनि सार्वजनिक पदका महत्वपूर्ण स्थानहरूमा महिलाहरू नपुगेका होइनन्। राष्ट्रपतिजस्तो गरिमामय पदमा महिला आसीन छिन्। निकट विगतमा प्रधानन्यायाधीश र सभामुखजस्ता पदमा पनि महिला रहेका हाम्रो अनुभव छ।

अहिले ७५३ स्थानीय सरकारका केही प्रमुख र अधिकांश उपप्रमुख पदमा महिला रहेका छन्। सरकारी सेवाका विभिन्न पदमा महिलाका लागि निश्चित पद आरक्षण गरिएको छ। सम्पत्तिमा स्वामित्व पुगेका महिला २६ प्रतिशत पुगेको छ भने सरकारले हालै बनाएको पन्ध्रौं योजनामा राज्यका सबै तह, संरचना तथा विकास प्रक्रियाका प्रत्येक चरणमा क्रमशः महिलाको सहभागिता ५० प्रतिशत हुने व्यवस्था गरिने उल्लेख छ। तर अझै पनि मानसिकतामा भने खासै परिवर्तन आएको छैन।

अरू त अरू प्रधानन्यायाधीश र सभामुखजस्ता पदमा रहँदा पनि महिला भएकै कारण उहाँहरूले भोग्नु परेको अप्ठ्यारो सार्वजनिक भइसकेको छ। केही बोल्न सक्ने महिलाका कुराहरू विभिन्न लेख रचना तथा ‘मीटू’मार्फत आइरहेका छन्।

तर समाज राम्रो र नराम्रोको मानक लिंगका आधारमा बनाउने गर्छ। जब समाजमा विद्यमान लैंगिक विभेदबारे कुरा उठाउँदा तिमी किन बल्नुपर्‍यो भन्छ, तब कुण्ठा बढ्छ र विद्रोही आवाज आउँछ। यी सबका बीच लेख्ने र लेखेका कुरा प्रकाशित हुने अवसर पाएका हामीलाई समाज भन्छ, ‘तिमी लेख्न त लेख, तर यसरी नलेख। यी कुरा नलेख।’ सोझै नभने पनि समाज भन्छ- तिमी लेख, सौन्दर्य टिप्सका बारे, नत्र हिमालका कविता वा नागबेली परेका नदीहरूबारे लेख। योभन्दा बढी लेख्ने भए बरु नलेख। पितृसत्ताले विकास गरेको थिचोमिचोबारे लेख्दै नलेख। नत्र तिमी असभ्य देखिनेछौ, समाजमा र घरपरिवारमा ‘विखण्डन ल्याउने महिलावादी’को ट्याग लाग्नेछ तिमीलाई आदि आदि।

आफ्ना ताजा अनुभव मनमा आउँछन्। अफिसमा स्थलगत सर्वेक्षणलगायत कार्यालयका कामसँग सम्बन्धित विविध विषयमा छलफल हुन्छ। कामको आकार र लाग्ने समयबारे छलफल हुन्छ। पुरुष सहकर्मी आफ्नो कामका लागि लाग्ने अनुमानित समयबारे प्रस्ताव गर्छन्, हाकिम त्यसलाई सहजै सदर गर्छन्।

जब महिला कर्मचारीको कुरो आउँछ, उसका प्रस्तावमा हाकिम सधैं प्रश्नमाथि प्रश्न गरिरहन्छन्। प्रस्ताव पास हुन कठिन हुन्छ। अझ अनौठो त त्यति खेर हुन्छ, जब महिला कर्मचारीको प्रस्ताव सदर हुन्छ, अफिसमा चर्चा हुन्छ, ‘फलानोले भनेको त फलानोले जे पनि मान्छ।’ र यो भन्ने पुरुष सहकर्मी नै हुन्छ र त्यतिखेर उसले साथीतिर फर्केर झिम्क्याएको आँखाले ‘अर्कै केही’ भनिरहेको हुन्छ।

यी परिवेशमा बाँचेर सरकारी तथा गैरसरकारी प्रतिवेदनहरूमा लेखिएको लैंगिक उपलब्धिहरूसँग सन्तुष्ट हुन सक्दिनँ। यी तथ्यांक उपलब्धिका गाथा दोहोर्‍याएर म आफ्ना आत्मसम्मान र सपनाहरूलाई कैदमा राखेर हाँस्न सक्दिनँ र लेखनमा एउटा असन्तुष्टि देखिन्छ। सायद यो असन्तुष्टिमा कुण्ठा हुन्छ र आक्रोश हुन्छ।

र छोराको बाबु भन्छ, ‘तिमीले आफ्नो रिस÷आक्रोश व्यवस्थापन गर्नुपर्छ।’

अनि म उसको भनाइमा पनि पितृसत्ताले मलजल गरेको कुटिल भाषा देख्छु।

[email protected] समाजशास्त्री हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.