मंगलीको मन
गहभरि आँसु पारेर आमातिर हेरेर सोधी, ‘दूध–मही केही छैन ? ’
छोरीका गहको आँसु नियालेर आमाले भनिन्, ‘मंगली अब तैंले एघार दिनसम्म गाईको दूधबाट बनेको केही खानु हुँदैन।’
०००
आमाले सोध्नुअगाडि नै उसले आफू स्कुलबाट चाँडो आउनुको तात्पर्य खोली; बेस्सरी पेट दुखेको, दोस्रो घन्टी स्कुलबाहिरै बसेको, पिसाप लागेजस्तो, पिसाप थाम्न गाह्रो भएजस्तो भएको र आफू बसेको बेन्ची जम्मै भिजेको। डरले हातखुट्टा थरथर कामेर बेहोस भएको अनि साथीहरूले घरसम्म छोड्न ल्याएको आदि आदि।
उसले आफ्ना कुरा भनिसकेकै थिइन।
ठूलै विघ्नबाधा भएझैं आमाले पाखुरामा समाएर हत्तपत्त घरको ढोकाबाट बाहिर निकाल्दै भनिन्, ‘तेरा बा र भाइ आइपुग्ने बेला भो, लौ तेरो झोला बोकेर हिँड।’
भरखर बाह्र वर्ष लाग्दै गरेकी मंगली छक्क परी। के भनेकी होलिन् आमाले, कहाँ हिँड्ने !
आमाले थपिन्, ‘अब एघार दिनसम्म बा र भाइसँग देखिनु हुन्न तैंले। यो घरको धुरी पनि हेर्नु हुन्न। अर्काकै घरमा बस्नुपर्छ।’
आमाको कुरा सुनेर मंगली डाँको छोडेर रोई।
दुःखाइको पीडा सुनाउँदा आमाले हतार गरेर केही दबाई देलिन्, तातो पानी खाएर सुत भन्लिन् र छेउमा बसेर सान्त्वना दिँदै मायाले निधार सुम्सुम्याउलिन् भन्ने लागेको थियो उसलाई।
आमाले मंगलीको हात समातेर आँगनको डिलबाट उकालो लगाउँदै पुनः भनिन्, ‘भाइ र बुवा आइपुग्ने बेला भइसक्यो, लौन न छिटो हिँड्।’
मंगली जबर्जस्ती आमाको अगाडि लागेर हिँड्न थाली।
आमाले कान्छा कुमालको घर पुर्याइन्।
गाउँका अरू छोरीचेली पहिलो पल्ट महिनावारी हुँदा प्रायः त्यहीँ राख्ने गरिन्थ्यो। वर्षाैंदेखि ओछ्याउने गुन्द्री र थाङ्नाहरू त्यहीँ हुन्थे। आमाले भुइँमा एक मुठो पराल छापिन् र त्यसमाथि गुन्द्री बिछ्याउँदै भनिन्, ‘लु यहीँ बस्तै गर, म तेरा फेर्ने लुगा र केही खाजा लिएर आउँछु।’
आमा गएपछि मंगली सुँक्क...सुँक्क...रोई निकै बेर। उसको मनमा थुप्रै कुरा खेल्न थाले- बिहानसम्म घरको सारा कामधन्दा मैले नै गरेँ। मैले गुहुमुत गरेर भाइलाई पाँच वर्षको बनाएँ, आज भाइको मुखै हेर्नु नहुने ! के भएको होला ! सधैं मैले नै खाना पस्किएर नदिए बुवालाई सन्तोक हुँदैनथ्यो। आज बुवाको मुख पनि हेर्न नहुने के रोग लागेको होला मलाई !
बाह्र वर्षकी मंगलीलाई भनिन्, ‘उनीहरूको घरभित्र पनि नपस्नू, यताउता छाईछुई केही नगर्नू, गाईको गोठतिर नजानू, फलफूलका बोटबिरुवा पनि नछुनू।’
लगभग एक घण्टापछि आमा आइन्। बटुकोमा मकै भटमास, केही फेरफारे कपडाको पोकोसँगै अर्को पोको हातमा दिँदै भनिन्, ‘यसमा मेरा पुराना सारीका नरम थाङ्नाहरू छन्। राम्रोसँग पट्याएर भित्र लगाउनू। अब स्कुल पनि नजानू।’
उनले जस्केलोतिर देखाउँदै भनिन्, ‘उनीहरूको घरभित्र पनि नपस्नू, यताउता छाईछुई केही नगर्नू, गाईको गोठतिर नजानू, फलफूलका बोटबिरुवा पनि नछुनू।’
त्यति भनेर पटुका कस्दै आमा घरतिर लागिन्।
उसलाई आमासँग निकै रिस उठ्यो, आफैंै भुतभुताई।
कहिलेकाहीँ हात काटेर अलिकति रगत बग्दा वनमारा दलेर, माकुराको जालो टालेर, बलौटो छर्किएर रगत बग्न नदिने आमा; काटेको औंलो चप्प मुखमा हालेर रगत थामिदिने आमा; हातलाई टाउको माथि राख्न लगाएर रगत थाम्ने अनेक उपाय सिकाउने आमा; आज किन निष्ठुरी भएकी होलिन् !
उसले त्यति सोच्दासोच्दै झमक्क साँझ पर्यो। झ्याउँकीरीले झ्याउँ... झ्याउँ... सन्ध्यागीत गाएर रातकी रानीलाई स्वागत गरे। साँझ निकै छिप्पिएपछि आमा र बहिनी आए। च्याँख्लाको भात र गुन्द्रुकको तरकारी अनि थालको एक छेउमा छिनिकको अचार राखिदिए।
मंगली भोकले व्याकुल भए पनि उसलाई खाना रुच्दै रुचेन।
गहभरि आँसु पारेर आमातिर हेरेर सोधी, ‘दूध–मही केही छैन ? ’
छोरीका गहको आँसु नियालेर आमाले मधुरो आवाजमा भनिन्, ‘मंगली अब तैंले एघार दिनसम्म गाईको दूधबाट बनेको केही खानु हुँदैन।’
आमाको कुरा नसकिँदै मंगलीका दुवै आँखाबाट आँसुका थोपा थालमै खसे।
दिदीका आँखाबाट आँसु खसेको देखेर सावित्री पनि रोई।
मंगली चुठ्न गएपछि आमाले गुन्द्रीमुनि बाक्लो पारेर पराल छापिन्। त्यसमाथि थाङ्ना जोडेर बनाएको डसना र पुरानो तन्ना ओछ्याइदिइन् र नडराई सुत है भन्दै गइन्।
मंगली र सावित्रीले पढेजस्तो गरे तर उनीहरूको ध्यान किताबमा थिएन आज। केही बेरमै उनीहरू सिरकभित्र घुस्रिए।
चिसो स्याँठ चलिरहेको थियो। बाहिरको चिसोलाई जितेर उनीहरू आफैं तातो भए।
सधैंझैं त्यस रात पनि जून उदाए, तारा चम्किए। किर्किटी, तीनआँख्ले र शुक्रतारा उसैगरी समयमै उदाए। भाले बास्यो। बिहान शीतका बुँदहरू उसैगरी फूलफूलमा, पातपातमा, दूबोका मुन्टामुन्टामा, धानका गुभागुभामा खसे। घामका किरणहरू हिमालको शिर, छाती र पाउ छुँदै पहाडका टाकुरा र बस्तीबस्तीसम्म क्रमैले फिँजिए। चराहरूको चिरबिर, पँधेराको गुञ्जन उसैगरी गुञ्जियो। रित्ता गाग्रीहरू भरिए। चुला, चौका र अँगेनाका डिल पोतिए।
बाँकी सपना थाती राखेर निद्रादेवी पनि मंगलीको मंगलमय कामना गर्दै बिदा भइन्।
मंगलीलाई खलखली आफ्नो शरीर पखाल्न मन थियो तर पँधेरोमा जानु हुन्छ कि हुँदैन, अरू दिनझैं धाराको पानी निर्धक्क छुनु हुन्छ कि हुँदैन ? आफ्नै मनसँग द्वन्द्व चल्यो उसको।
केही समयपछि डोको बोकेर आमा आइन्। फिक्का चिया र कोदोको भुंग्रे रोटी मंगलीको छेउमा राखिदिइन्। सधैं दूधचिया खाने बानी परेकाले उसले कर मानीमानी कालो चिया सुक्र्याई। भुंग्रे रोेटीको छेउ चुँडेर थोरै खाई।
माथ्लो गाउँबाट स्याउला, पत्कर र घाँसदाउरा गर्ने मान्छेहरू ‘पान्धारे हिटी, लाउने भा माया लै लै पडाइदेऊ चिठी’ झ्याउरे गीत गाउँदै ओरालो झर्न थाले। तिनीहरूकै पछिपछि ऊ पनि डोको बोकेर जंगलतिर लागी।
लगभग एघार बज्न लागेको थियो होला। ऊ घाँसको भारी बोकेर आफ्नै गोठछेउ पो पुगिछ। मुन्टो उठाएर हेर्दा घरको धुरी देखियो। लौ बित्याँस भो। ऊ हस्याङफस्याङ गर्दै अर्को बाटो लागेर कान्छा कुमालको आँगनमा भारी बिसाई।
घाँसको भारी त बिसाई तर उसको मस्तिष्कमा ठूलो भारी थपियो पापको। हेर्नै नहुने आफ्नै घरको धुरी देखी उसले। अब के हुने हो ! कस्तो पाप लाग्ने हो चिन्ताले सिथिल बनायो उसलाई। आमाले राखिदिएको खाना पनि हेर्ने होस भएन।
मंगली भोकै ओछ्यानमा पल्टिई।
त्यसै दिन आमा पनि पर सरेपछि नौ वर्षकी सावित्रीले भान्सा उतारी। खाना बोकेर दिदीलाई पुर्याउन जाने बेलामा आमाले भनिन्, ‘आज दिदी एक्लै बसोस्, तँ आइज है।’
आमाको अह्रोट स्वीकार्दै सावित्री हिँडी। खाना पुर्याएर सावित्री फर्किएपछि सबैजना सुत्ने तरखरमा लागे।
सोमराज पनि ओछ्यानमा पल्टिए र छोरीलाई सम्झँदै फुस्स निदाए।
आकाश मैलियो। ठुल्ठूला थोप्ला गरेर पानी दर्कियो। पश्चिमतिरबाट कुहिरीमण्डल भएर हुन्डरी चल्यो। धेरैका घरका छाना उडायो। बडेबडे रूखहरू बटारिएर ढले। घरमुनिको ठूलो पीपलको रूख, जुन रूखलाई सदियौंदेखि मानिसहरू आस्थाको धरोहर मानेर पूजा गर्थे, त्यो पनि जरैसँग उखेलियो र मान्छेको सातो जाने गरी पछारियो। साना खोल्साखोल्सी पनि समुद्रजस्ता भएर उर्ले, वरिपरि जे भेटेको सोहोरेर बगाए। बगाउनुपर्ने फोहोर पनि बगाए, बगाउनै नहुने मान्छेका अत्यावश्यक र अनिवार्य वस्तुहरू पनि बगाए। जतासुकै पहिरो चल्न थाल्यो। हेर्दाहेर्दै भीरतिरबाट कान्छा कुमालको घर पनि पहिरोले स्वाट्टै तानेर लग्यो। खोलामा कान्छा कुमालको घर पानीजहाज जसरी ठाडै पो बग्दै थियो। कसोकसो कान्छा कुमाल बाढीमा हामफालेर बाहिर निस्किएर सोमराजको छेउ आए।
भावविह्वल कान्छा कुमाललाई सान्त्वना दिँदै थिए सोमराज। एक्कासि आकाशमा बिजुली चम्कियो, ठूलो आवाजमा चट्याङ पर्यो। घरछेउको उत्तिसको बिरुवा आधा भाँचियो र हाँगाले सोमराजको थाप्लोमै हिर्कायो।
उनी ब्यूँझिए निद्राबाट।
सपना हो भन्ने थाहा पाएर पनि उनलाई कान्छा कुमालको घरतिर हेरौंहेरौं लाग्यो। आँगनको पल्लो कुनासम्म गएर कुमालको घरतिर घाँटी तन्काए।
सिमसिम पानी परिरहेको थियो। हावाको चाप बढेर घरबारीको थांग्रोले बाँसुरी बजाउन थाल्यो। यसरी बाँसको थाङ्ग्रोमा आवाज आयो भने ठूलो हावाहुरी चल्छ वा ठूलो पानी पर्छ अथवा केही न केही उत्पात पक्कै हुन्छ भन्ने परम्परागत मान्यता थियो। त्यसले गर्दा उनलाई झन् बढी चिन्ता भयो।
हावाको झोक्का झन् झन् बढ्दै गयो। बाँसको थांग्रोले बाँसुरी फुकिरह्यो। सपनाले लगातार चिमोटिरह्यो सोमराजलाई।
उनले गाउँघर, इष्टमित्र सम्झिए, शत्रुमित्रुको गणना गरे, इष्ट देवता, घरका कुलथानी र प्रकृति मातालाई नमन गरे तर विकल्प केही देखेनन्। उनलाई लाग्यो- कथंकदाचित् छोरीलाई केही भई गयो भने यी साराका साराले के गर्न सक्छन्।
सोमराज घरबाहिर निस्के र पाइलाको गति बढाउँदै कान्छा कुमालको घर पुगे।
मंगलीले ओढेको सिरक छट्के पानीले आधा भिजिसकेको थियो। जाडो र डरले ऊ डल्लो परिरहेकी थिई। सोमराजले बिस्तारै भने- छोरी उठ, घर जाऊँ। म लिन आएको। सोमराजको आवाज सुनेर मंगली मुखसम्म ढाकिएको ओढ्ने हटाउँदै उठी।
त्यसै बेला पातपतिंगर र धुलो उडाउँदै हावाको ठूलो झोक्का आयो। छानामाथिको के के सामान झार्यो। आवाजले कान्छी कुमाल्नी पनि उठिन् र सोमराजको छेउमा गएर भनिन्, ‘लौ बाजे यो नानीको बिजोक नपार, चाँडै घर लैजाऊ।’ उनले अगाडि थपिन्, ‘यो नाबालक छोरीलाई यहाँ एक्लै छोडेर कसरी निदाउँछौ बाजे ? के चलन हो यस्तो ? हामीले हाम्रा छोरीहरू आफ्नै घरमा चोख्यायौं त। हाम्रा पनि कुलपितृ छन्। हामी पनि भगवान्को पूजा गर्छौं। खै आजसम्म कुनै भगवान् रिसाएर आएका छैनन् त ? ’
पानी झन् दर्कन थाल्यो। सोमराजले कुमाल्नीतिर फर्केर भने, ‘म छोरी लिन आएको भाउजू, के गर्नु हाम्रो रीति, परम्परा नै यस्तै छ। यति नगरे यही समाजले थुक्छ हामीलाई।’
यति भन्दै सोमराज छोरी लिएर घरतिर लागे।
घर पुग्दा मंगलीकी आमा र बहिनी उठेर बसिरहेका थिए।
एक्कासि मंगलीलाई देखेर झस्किए।
सोमराज संकोच मान्दै भित्र छिरे र भने, ‘ज्यादै नराम्रो सपना देखेँ। छोरीलाई एक्लै अर्काकहाँ छोड्नै मन लागेन र लिएर आएँ। आफू राम्रो र सकुशल भए भोलिको दिन त्यसै राम्रो हुन्छ। आफैं नरहे केको समाज, केको संस्कार !’
सोमराजले त्यसो भन्दा मंगलीकी आमाले आँसु थाम्न सकिनन्। बर्काको फेरले आँसु पुछ्दै मलिन् आवाजमा भनिन्, ‘मलाई पनि आफ्नी छोरी अर्काकहाँ राख्ने मन कहाँ थियो र, पुस्तौंदेखि चलिआएको चलन त्याग्ने आँट नभएर मात्रै हो। जे गर्नु भो ठिकै गर्नु भो, जसले गरे पनि एक दिन यो कामको सुरुआत हुनैपथ्र्यो। भोलि हुने काम आजै भयो। त्यसमा पनि राम्रो कामको कदम हामीले नै बढायौं। तत्काल कोही आँखी भए पनि इतिहासले हाम्रो कदमको सराहना पक्कै गर्नेछ।’
उनले मंगलीलाई अँगालो मार्दै गालामा म्वाइँ खाइन्।
चुलाको तातोमा बसेको टिकेबिरालो म्याउँ गरेर पुच्छर डोलाउँदै आयो र मंगलीसँग टाँसियो।
आमाले भनिन्, ‘अब भालिदेखि नै तँ स्कुल जानू, घाँस मै काट्छु।’
आमाको कुराले मंगलीको चेहरा पूर्णिमाको जूनजस्तो चम्किलो भयो। शिशिरका पालुवाजस्ता उसका गुलाबी ओठमा मुस्कानका मुजुरा पलाए। मंगली मुस्काएको देखेर उसका बुवा खुसीले रोए।
मध्यरातको सन्नाटामा पनि सबैको मुहार उज्यालो भयो।
सोमराज, ढोकातिर आएर बाहिर चियाए। पानी पूरै थामिएछ, हावा मन्दमन्द चलिरहेको रहेछ। उनले आकाशतिर हेरे, आकाशभरि झलमल्ल ताराहरू खुसीले चम्किइरहेका थिए। प्रकृतिको पुरुषार्थलाई नमन गर्दै सोमराज एकपटक आफैं मुसुक्क हाँसे र भित्र पसे।
[email protected] का ‘बार्बी डल’, ‘इन्द्रेनीको माला’ र ‘नीलो घोडा’ बालपुस्तक प्रकाशित छन्।